साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री ३ चटके

तीन करोड जनतामा तीनै करोड हास्य कलाकार छन् । देश–विदेश सर्वत्र छन्। त्यसैले सामाजिक सञ्जालमा अहिले सेकेन्ड–सेकेन्डमा प्रहसन हेर्न पाइन्छ। झन् यो चुनावको नाउमा चढेको बेला अद्भुत कमेडी देख्न पाइन्छ।

Nepal Telecom ad

राजेन्द्र कार्की :

श्रीमान् अध्यक्षज्यू, सिस्नोपानी नेपाल।

तपाईंको सिस्नोपानी नेपालमा विशेष महाधिवेशन भएको छैन होला, त्यस अर्थमा तपाईं अझै अध्यक्ष हुनुहुन्छ भन्ने विश्वासले अध्यक्ष सम्बोधन गरेको हुँ। अन्यथा भएको भए एआईको जमानामा केही थाहा नपाउने अजीवको जीव पनि अझै यो दुनियाँमा रहेछ भनेर माफी दिनु होला।

अध्यक्षज्यू, मैले सिस्नोपानीमा कसैलाई चिनेको छैन। फेरि चिन्ने रहर पनि छैन। कत्रा–कत्रा मान्छेलाई एउटै हलमा बोलाएर पालैपालो सिस्नोपानी लाउने शक्तिशाली संस्थाका मान्छेलाई चिन्नु आफैंलाई खतरा मोल्नु हो। तर म सिस्नोपानीको फ्यान हुँ।

तपाईंको कार्यक्रममा बरु को चाहिँ छुट्छन् होला ? चेलीबेटीलाई सेलिब्रेटी बनाएर बिक्री गर्ने मानव तस्करदेखि भुरे–टाकुरे मन्त्रीको लस्कर हुँदैन कि ? ठगीमा मुद्दा चलेका ‘स्वच्छ छवि’का नायकदेखि क्रान्तिकारी गीत गाउने गायक हुँदैनन् कि ? गरिबको गीत र कविता लेख्ने कविको छवि बनाएका महलबासी हुँदैनन् कि ? नेताको चाकडी गर्दै दुवैको ‘विन–विन डिल’ गरेपछि उनै नेतालाई गाली गरेर ताली खाने कलाकार हुँदैनन् कि ? को हुँदैनन् ? सबै हुन्छन्। सेना, प्रहरी, प्रशासन, नेता, अभिनेता सबै हुन्छन्। हरेक क्षेत्र, पेशा र व्यवसायका शिष्ट, अशिष्ट, भूतपूर्वदेखि अभूतपूर्व सबै हुन्छन्।

यो लामो सूची सुनाइरहनु पर्छ र ? के यो थाहा छैन भनेर तपाईंलाई झोंक चलिसक्यो होला। जति झोंक चले पनि सिस्नोपानी लाउँदा कसैले ‘ऐया’ र ‘आथा’ भनेको सुनिँदैन। किन ? बरु खित्का छोडेर हाँस्छन्। स्वाद मानी–मानी हाँस्छन्। चोर पनि आफूलाई नम्बर एक सज्जन ठान्दै अर्को चोरलाई हेरेर “खाइस्” भन्दै स्वाद मानेर हाँस्छन्। त्यत्रो सिस्नोपानी लाउँदा पनि पटक्कै नपोल्ने कस्ता मान्छे त्यहाँ आइपुग्छन् ? अचम्म लाग्छ।

मैले एउटा कथा सुनेको थिएँ। एकादेशमा एउटा राजालाई कहिल्यै नखाएको नयाँ तरकारी खान मन लागेछ। “को ल्याउन सक्छ ?” भनेर घोषणा गरेछन्- “जसले ल्याउँछ, उसले ठूलो इनाम पाउनेछ।” त्यसका लागि दुई सिपाहीहरू खोज्न निस्केछन्।

खोज्दा खोज्दा बल्ल एउटाले लौका भेटेछ। “राजाले अवश्य खाएको छैन होला” भन्ने लागेर चिल्लो, लामो लौका बोकेर ल्याएछ। तर लौका राजाले खाइसकेका रहेछन्। राजा रिसले चुर भए। रिसको झोंकमा लौका उसको मलद्वारमा कोचिदिए। सिपाही खित्का छोडेर हाँस्न थालेछ । राजालाई अचम्म लागेर सोधेछन्- “किन हाँसेको ?” सिपाहीले भनेछ  – “लौका कोच्दा त मलाई यति गाह्रो भयो भने झन् अर्कोले त सिङ्गै रुखकटर ल्याउँदैछ।” सायद सिस्नोपानीको कार्यक्रममा पनि लौका ल्याउने पात्रले भरिभराउ हुने भएर जति नै सिस्नोपानी लगाए पनि नपोल्ने हो कि ?

यो पत्र मैले लेख्दै गर्दा सिस्नोपानीको कार्यक्रममा मात्र नभएर कहीँ कहिल्यै देखेको, नभेटेको र नचिनेको यो अजीव जीव को रहेछ भन्ने तपाईंलाई लागिसकेको छ। हो, ठूला ठाउँमा पुग्ने हैसियत नभएकै कारण लुकेर, परिचयविहीन रूपमा यो पत्र लेख्दैछु। तर “के कारणले यो पत्र लेख्दैछस् ?” भन्ने तपाईंलाई लागिसकेको होला। त्यसैले अब कुनै लामो फुँदो नबाँधी कुराको चुरोमा पस्छु।

सिस्नोपानीलाई थाहै होला श्री ३ पटकेले देश सिंगापुर बनाए । घर–घरमा रेल ल्याए। मुसाले प्वाल पारेझैं एउटा पहाडबाट अर्को पहाडमा टनेल बनाए। एउटा डाँडाबाट अर्को डाँडामा केबलकार पुर्याए। केबलकारका कारण कार बिक्री घट्यो। प्रशान्त र हिन्द महासागरमा चन्द्र–सूर्य ध्वजा वाहक हजारौं पानीजहाज हिँडिरहेका छन्।

चुलोमा चौबीसै घण्टा ग्यास छ। नरोपी तरकारी र फलफूल फल्छ। भोको मान्छे र झुपडी कस्तो हुन्छ ? हेर्न युरोप र अमेरिका जानुपर्छ। बरु अति–पोषणले मोटोपनको समस्या भएको छ। दिमागी प्रदूषण बाहेक अरू कुनै प्रदूषण छैन। नागरिकता, पासपोर्ट, ड्राइभर लाइसेन्स बन्न पाँच मिनेट लाग्दैन। अपराधको ‘अ’ छैन। जेल शून्य छन्। राणा र शाहकालमा भरिभराउ जेल शून्य देखेर सहन नसकी सर्वोच्च र सिंहदरबारले आफैंलाई आगो लगाएर आत्महत्या गरे– किनकि तिनीहरू राणा–शाह शासनकालीन सामन्ती अवशेष थिए।

अब श्री ३ हुन खाइराइड (भ्रष्टाचार) को डाँडामा चढेर खाँडो जगाएर मात्र पुग्दैन । गालीमा पनि सर्वश्रेष्ठ हुन पर्छ । गाली र तालीमा नेपाली विश्वमै सर्वश्रेष्ठ छन् भन्ने थाहा नहुने को होला र ?

यति जाबो विकासले चटकेलाई पुगेन । त्यही भएर एकै चटकमा देशलाई सिंगापुरबाट हस्तीनापुरको स्वर्ग बनाउने अभियानमा छन् । समाजिक संजालबाटै प्रधानमन्त्री चुन्ने कीर्तिमानी चटकेको अगाडि अब पटकेका दिन गए । अब चटकेको शासन आएपछि संजालको गाली मात्र होइन, घर परिवारमा बाबु आमा छोरा छोरी बसेर पोनोग्राफी हेर्न पाउने नयाँ कानून बन्ने पक्का छ ।

फेरि भन्नु होला— के अहिले मात्रै गालीको वर्षा भएको हो र ? होइन नि । चटकेलाई गाली र ताली सिकाउने त पटके श्री ३ हरू नै हुन्। त्यसमा पनि क्रान्तिकारी र खान्तिकारी श्री ३ हजुरबा पटकेहरूको योगदान यति ठूलो छ कि वर्णन गर्यो भने दश हजार पृष्ठभन्दा लामो रामायण बन्ला। तर देशलाई स्विट्जरल्यान्ड बनाएका पटकेहरूले गाली पाठशाला खोलेर वर्षौं वर्ष सिकाएकाले नै खुकुरी भन्दा चक्कु झन धारिला भएका हुन् ।

पटके श्री ३ ले गरेको कामले कसैलाई पुगेको छैन। त्यसैले चटके श्री ३ भएपछि कल्पनै नगरिएको चटक हुनेछ।कुवामा भएका भ्यागुता माछा बन्नेछन्। ह्वेल माछा समुद्रमा होइन, पोखरीमा हुनेछन्। रानीपोखरीमा डल्फिनले नाच देखाउनेछन्। करोडौं मानिस डल्फिनको नाच हेर्न आउनेछन्। नदी–नालामा पानी बगेर खेर जाने छैन, त्यो सबै तेलमा परिणत हुनेछ। संसारमै तेल यति सस्तो हुनेछ कि त्यसले चीन र भारतको बजार मात्र होइन, विश्व बजार एकाधिकार बनाउनेछ। ओपेक, अमेरिका र रुसको तेल एकाधिकार हावा खानेछ।

खोलाका ढुङ्गा मात्र होइन, चट्टानका पहाडहरू सुनमा परिणत हुनेछन्। एउटै सुनको ढुङ्गो विलियनमा मात्र होइन, ट्रिलियन डलरमा बिक्री हुनेछ। ४३ विलियन डलरको अर्थतन्त्र भएको देशमा एउटै ढुङ्गो ट्रिलियन डलरमा बिक्री हुनेछ। चीन, रुस र अष्ट्रेलियाजस्ता प्रमुख सुन उत्पादक देशका सुनखानी बन्द हुनेछन्। त्यसपछि नेपाल एक्लैको अर्थतन्त्र विश्वको कुल अर्थतन्त्रभन्दा पनि ठूलो हुनेछ। नेपालीको प्रति व्यक्ति आय दश लाख डलरभन्दा बढी हुनेछ।

त्यति धेरै पैसा के गर्ने ? “आपत पो आइलाग्ने भो” भन्ने अध्यक्षज्यूलाई लागेको होला। त्यसपछि पो चटकेले झन् ठूलो चटक गर्नेछन्, जुन तपाईं कल्पनै गर्न सक्नुहुन्न। चन्द्रमामा बीस घण्टाभित्र बस्ती बसाउनेछन्। मंगल ग्रहमा बीस दिनमै अर्को नयाँ बस्ती हुनेछ। इलोन मस्क हेरेको हेरै हुनेछन् र “ह्वाट द फक” भन्दै रिसाएर भुइँमा टाउको बज्रार्नेछन्। उनले टाउको बजार्दै गर्दा चटके श्री ३ ले मंगलग्रहमा तीन करोड मानिसलाई बसोबासको व्यवस्था गर्नेछन्। अक्सिजन र पानी उमार्ने काम त के ठूलो कुरा भयो र ? श्री ३ चटकेलाई मंगलग्रह सानो हुनेछ। बीस महिनामा वृहस्पतिमै पो बस्ती बसाउँदै हुनेछन् ।

यो सबै चटके कमेडियनले नै गर्दैछन् । कलाकारलाई कमेडियन भनेर हेप्नी भन्नु होला । लौ तपाईंले भने बमोजिम कलाकार नै मान्ने भए । फेरि भन्नु होला- देशमा मात्र कलाकार छन्, विदेशमा छैनन्। झन् विदेशमा विलक्षण कलाकार र गलाकार छन्। कामको घण्टा कति भयो थाहा पाउँदैनन्, तर घण्टा र मिनेट भित्र मात्र होइन, सेकेन्डमै आफ्नो कमेडीमा कति भ्यु, लाइक र कमेन्ट आयो भनेर गन्न भ्याउँछन्। यता जुन ठाउँमा बस्छन्, त्यो ठाउँको नगरपिता (मेयर) को हो, जान्दैनन्।

कारको किस्ता र घरको मोर्गेज, पानी, विजुली, राशनपानीको खर्च धान्न युट्युबमा यता कमेडी कार्यक्रम बनाउँदै गर्दा उता कुन पुलिसले कुन दमकलबाट कुन गञ्जी लगाएको जेन्जीलाई गाेली हान्यो ? संसद भवनभित्र कति जना बन्धक भए ? कति मारिए ? त्यो घटना सेकेन्डमै थाहा पाउँछन्। त्यो थाहा पाएपछि डिजिटल दासहरू “यो त अति भो” भन्दै बुर्लुक बुर्लक उफ्रन्छन्। यताका त उफ्रन्छन् नै, झन् त्यताका त आकाशै प्वाल पार्ने गरी उफ्रन्छन्। यस्ता विलक्षण विश्वलाई नै कान्छी औँलाले नचाउन सक्ने शक्तिशाली देशका शक्तिशाली हजुरबा पनि छैनन् होला। नोबेल पुरस्कार ती बूढालाई होइन, यस्ता प्रतिभावानलाई दिनुपर्ने हो।

तीन करोड जनतामा तीनै करोड हास्य कलाकार छन् । देश–विदेश सर्वत्र छन्। त्यसैले सामाजिक सञ्जालमा अहिले सेकेन्ड–सेकेन्डमा प्रहसन हेर्न पाइन्छ। झन् यो चुनावको नाउमा चढेको बेला अद्भुत कमेडी देख्न पाइन्छ।

सेकेण्ड सेकेण्डमा कला देखाउने जनता भएको देशमा सिस्नोपानी जस्ता संस्थाले महिनौ लगाएर स्क्रिप्ट लेख्दा हुन् । रिहर्सल गर्दा हुन् । त्यति गरेपछि बल्ल कार्यक्रम तयार हुँदो हो। त्यसका लागि टिम चाहियो होला, स्रोत चाहियो होला। कति विज्ञापनबाट उठ्छ, कति टिकट बिक्रीबाट आउँछ- त्यसको अग्रिम खाका चाहियो होला। त्यसैअनुसार योजना बनाउनु पर्यो होला। त्यसपछि बल्ल कार्यक्रम तयार हुँदो हो। अनि बल्ल युट्युब र सामाजिक सञ्जालमा भ्युको बीउ रोपिँदो हो।

सिस्नोपानीमा हास्यव्यङ्ग्यको रथ तान्ने सारथी मात्र नभएर थुप्रै रथी महारथी छन् क्यार ! यस्ता रथीले वर्षमा एक–दुई कार्यक्रम गर्नु भनेको श्री ३ पटके र चटकेको अपमान हो, बेइजेती हो ।

चटकेले के मात्र गर्दै छैनन् भन्ने पुराण सुनिसक्नु भयो होला । यो ब्रम्हाण्डमै नभएको काम चटकेबाट हुने भएपछि वर्ष दिन लगाएर एउटा कार्यक्रम बनाउने लेठो किन गर्नुहुन्छ ? त्यो समयको नास मात्र नभएर विनाश हो । अब मंगलग्रहमा जान तयार भएका संसारभरीका नेपालीलाई त्यसो गर्न पटक्कै समय छैन ।

त्यसैले सिस्नोपानीको कार्यक्रम बन्द गरेर बरु मंगलग्रह जाने यानको तयारीमा झिटी–गुन्टा तयार पारेर बस्नु होला। आगामी चुनाव आउन धेरै बाँकी छैन। फेरि मंगलग्रह जाने यान छुट्ला। त्यसैको लागि यो पत्र लेखेको हुँ । पत्र यही टुंग्याए । बरु मंगलग्रहमा छिट्टै भेटौँला ।

सपनामा निद्रालोकबाट पत्र लेख्ने
तपाईंको उही
अजीव जीव

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x