साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर खाइराइड लागेपछि…

मैले यो भन्दा बढी बोलेँ भने फेरि भैरव अर्याल फुत्त आइपुग्लान् । र बन्द गर तेरो मपाईं भन्दै गालामा थप्पड बजाउलान् । भो मलाई अब थप्पड खानु छैन ।

Nepal Telecom ad

राजेन्द्र कार्की:

फित्कौलीको खित्कौली सभामा उपस्थित हुनु भएका विभिन्न विधाका विशिष्टज्यूहरु

जीउको वीउ मात्र बाँकी भएको म मान्छेलाई देख्दैमा अलिकति मासु थपि दिउँ जस्तो लागि सकेको होला हजुरहरुलाई । हजुरहरुले “होइन” भने पनि म पत्याउँदिन । मेरो अनुहार कस्तो छ भनेर आफ्नै आँखाले देख्न नसके पनि ज्यान चाहिँ देख्न सक्छु । मेरी सखीले के भन्छिन् थाहा छ ? तँलाई अग्लो टेवलमुनि घाँटी मात्र देखिने गरी राख्नु पर्छ । घाँटीदेखि माथिको भाग मात्रै देखेपछि कसैले पनि “तँ यति साह्रो खिनाउरो होलास् भनेर थाहा पाउदैन ।”

यो त भयो मेरो ज्यानको विजोग । त्यो भन्दा अर्को चर्काे विजोग छ – त्यो होस गुम । अहिले पनि मेरो होस गुम भएको छ । धन्न बेहोस चाहिँ भएको छुइनँ । नत्र यो कार्यक्रम यहीं बन्द गरेर एम्वुलेन्स बोलाउन पर्ने थियो ।
फेरि होस गुम पनि किन नहोस् – हास्ये, बांगे, उभिन्डे, कुभिण्डे विधाका हजुरबादेखि नातिसम्मका मुर्धन्य व्यक्तित्वहरुको यो विशिष्ट भेलामा मेरो दिमाग पजल भएको छ । पजल दिमागले केही सवाल उठाउँदै छ ।
हजुरहरुले कुकुरको भाग्य भनेको सुन्नु भएको छ ? छैन । सुनेको त केवल मान्छेको भाग्य मात्र हो । फेरि भुस्याहाको कुकुरको संसार भएको यो काठमाडाैंमा कुकुर जस्तो आभागी प्राणीकाे के को भाग्य हुनु ? केवल दुर्भाग्य । तर मेरो पहिलो सवाल हजुरहरुले सुन्दै नसुन्नु भएको कुकुर भाग्यको छ ।

जसरी हजुरले कुकुरको भाग्य पहिलो पटक सुन्दै हुनु हुन्छ, त्यसरी नै पहिलो पटक खाइराइड सुन्दै हुनुहुन्छ । पहिलो पटक सुन्दा वा देख्दा जे कुरो पनि अनौठो लाग्छ । मेरो पहिलो विदेश यात्राको अनुभव सुनाउँछु । सन् १९९३ मा बैंककको अन्तर्राष्ट्रिय एअरपोट पुगेँ । पहिलो विदेश यात्रा भएकोले रहर र डर दुबै थियो । हातमा भएको सुटकेश भुइँमा राखेर ढोका खोल्न गएँ, ढोका आफै खुल्यो । फेरि सुटकेश लिन पछाडि फर्किएँ । ढोका बन्द भयो । फेरि ढोका खोल्न जान्छु ढोका आफै खुल्छ । फेरि सुटकेश लिन जान्छु ढोका बन्द हुन्छ । अरु मान्छे हाँस्न थाले । अब जिन्दगीमा कहिल्यै सेन्सरबाट ढोका खुल्छ भन्ने थाहा भएको भए पो । त्यही भएर पहिलो पटक यो खाइराइड शब्द सुन्दा अनौठो लाग्नु अनौठो कुरा हुँदै होइन ।

यो खाइराइड भनेको थाइराइड जस्तै रोग हो । थाइराइड व्यक्तिलाई मात्र लाग्छ र सर्दैन । यी हेर्नुहोस् न, थाइराइडले गर्दा म मासु पैँचो माग्नु पर्ने अवस्थामा आइपुगेको हुँ ।

खाइराइड रोग खतरनाक रोग हो । यसले व्यक्ति, समाज र देश कसैलाई बाँकी राख्दैन। फेरि यो सरुवा रोग हो । फेरि यो रोग लाग्ने मान्छे भाग्मानी पनि हुन्छ है। थाइराइड बिग्रेर क्यान्सर हुँदा बैंक व्यालेन्स सकिएर ऋणको छहरोमा डुब्नुपर्ने हुन्छ । तर खाइराइड लागेपछि बैंक व्यालेन्स यति बढ्छ कि देशको बैंकले नधानेर विदेशी बैंक समेत हारगुहार गर्नु पर्ने हुन्छ । यो रोग लाग्ने भाग्यमानीहरु थोरै हुन्छन् र तिनमा पनि पुरुष र अझ विशेषगरी नेता, ठूला कर्मचारी, ढोंगी ब्रह्मचारी हुन्छन् ।

दोस्रो सवाल भगौडाको छ । म त भागेको भागै छु । भोजपुर दावा तमानाबाट रमाना लिएर मोरङ भागेँ । मोरङको गर्मीले सुकुटी बनाउला कि जस्तो छाँट आएपछि दाजु चण्डिकाको पछि लागेर काठमाडाैं भागेँ । अझै भाग्दै छु । कालको द्वारमा नपुगेसम्म अझै कतकता भाग्ने हुँ थाहा छैन । फेरि तपाईंहरुले भन्नु होला – तँ पो भगौडा । हामी त होइन नि । त्यसो भन्दै गर्दा गाउँबाट नजिकको शहर, त्यो शहरबाट पनि फेरि काठमाडाैंको रहरले भागेको नभुल्नु होला ।

तेस्रो सवाल छ बिहे किन ? बिहे नभए सृष्टिको बृष्टि रोकिन्छ ?अहँ, रोकिँदैन । रोकिने भएको भए अविवाहित बाबु आमाबाट राजा भरत कसरी जन्मन्थे ? जन्मने थिएनन् । भरतलाई पाउनको लागि राजा दुष्यन्त र शकुन्तलाले बिहे गरेनन् । तिनै भरतको नामबाट बनेको महान भारतले बेलाबखत छिमेकीको ढाड भाँचिने गरी हानेकै छ ।

जिउँदै स्वर्ग जाने ठाउँ भनेको अम्रिका हो । त्यो अम्रिकाका सयमा पचास महिलाले बिहे नगरी पहिलो बच्चा पाउँदा रहेछन् । त्यसो हो भने बिहे किन ?

चौथो सवाल खतरा सवाल छ । किन खतरा छ भने रतीबाट स्वतन्त्र जनताको गैति चलाउने यो मासमा बोल्दा बदमासको आरोप मात्र होइन, ज्यानै धरापमा पर्ला कि भन्ने डर छ । तर स्वतन्त्र हुनको लागि छनौट हुनु पर्छ । आज भोट हाले त्यही भोलि भोट हाले पनि त्यही हो भने त्यो छनौट होइन । अनि भोट हाल्नु मात्र पनि स्वतन्त्रता हो जस्तो मेरो पजल दिमागलाई लाग्दैन । यो त भयो राजनीतिको ठुलो कुरो ।

अब हेर्नुहोस्, जन्मदा नै म स्वतन्त्र थिइनँ । आमाको गर्भमा नौ नौ महिना कैद बसे । छोरा भएर जन्मिने कि छोरी भएर जन्मिने भनेर कसैले सोधेन । सोधेको भए विलगेटकी एउटी मात्र छोरी भएर जन्मन पाउँ भन्ने थिए र आज इलोन मस्की कान्छी मस्किने थिइन होला ।

यो खाइराइडमा निबन्ध सङ्ग्रहमा यी र यस्ता सवाल छन् । जस्तै जनावरलाई गाली किन ? घाँडो बूढो, बिहे किन ? कामी वेकामी, कहांँछ स्वतन्त्रता ? लेखकको कन्दनी, लिङ्ग पुराण, देश डुब्यो, बुहारी सासू, जिन्दगीः खाना र पाइखाना, परधानमन्त्री कि वरदानमन्त्री, हाइ हाइ अमेरिका र मृत्यु विज्ञापन जस्ता ३१ वटा सवाल र ती सवालका जवाफ भेटिन्छन् । यस विषयमा प्राध्यापक डा. गोविन्दराज भट्टराईज्यूले समीक्षात्मक टिप्पणीमा धेरै कुरा बताइ सक्नु भएको सन्दर्भमा मैले यो भन्दा बढी बोलेँ भने फेरि भैरव अर्याल फुत्त आइपुग्लान् । र बन्द गर तेरो मपाईं भन्दै गालामा थप्पड बजाउलान् । भो मलाई अब थप्पड खानु छैन ।

अन्त्यमा यहाँ उपस्थित हुनु भएका सम्पूर्ण मेरा मान्यजहरु, आफन्त जनहरु, मित्रहरु सबैजनामा आभार व्यक्त गर्न चाहन्छु । विशिष्ठ यो सभामा कतै अशिष्ट भाव, भंगी र शब्द पर्न गएमा क्षमा माग्दै सामाजिक सञ्जाल नामको यो कविता सुनाउँदै विदा भएँ ।

नगरौँ चियो चर्चो भन्छु
बिग्रेको बानी न हो
खुसुक्क चिहाउन मन लाग्छ
तिमी स्वयम् त होइनौ
त्यो तिम्रो तस्वीर हो ।
सामाजिक सञ्जालमा
त्यही तस्वीर हेरेरै भए नि
चित्त बुझाउन मन लाग्छ ।
तिमी साँच्चै सुन्दर हौ कि
तिम्रो तस्वीर मात्र सुन्दर हो
नक्कली तस्वीरको दुनियाँमा
तिमीलाई देख्न पाए थाहा होला
महंगी सस्ती जे जस्ती भए नि
मस्तीको जीवन जिउन
तिमी जस्ती खास्सावाली
अरु खै को पो होली ?
“को हो त्यो नखरमाउली ?”
घरकीले गाला पड्काउली
त्यो चाहिँ सारै डर छ
तिम्रो पनि खै के भर छ !
त्यही सामाजिक सञ्जाल
फेरि महाकाल भयो भने !
त्यही भएर तिमीलाई भेट्न
आउने हिम्मतै आएन
नरिसाऊ है खास्सावाली !

०००
२०८० भदाै ९ गते काठमाडाैंमा सम्पन्न फित्काैलीकाे खित्काैली सभा- २ मा कार्कीकाे खाइराइड समेत ५ वटा हास्यव्यङ्ग्य कृति लाेकार्पण गरिएकाे थियाे । त्यही समाराेहमा कार्कीले दिनुभएकाे मन्तव्य हाे याे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x