साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ट्वाँ परेँ

फेरि शुन्य भए भने धनीका उत्पादनको उपभोक्ता को भइदिने ? चुनावमा नेतालाई भोट दिने भोटर को हुने ? आसनमा बसेर भाषण गर्ने नेताका गालीमा ताली कसले बजाउने ?

Nepal Telecom ad

राजेन्द्र कार्की :

जन्मबाट नाताको खाता खुल्छ। यो सत्य तथ्य तपाईलाई थाहा नहुने कुरै भएन । एक जना जन्मने बित्तिकै दुई जना पदेन बाबु र आमा बन्छन् । पदेन बाबु बन्नेको टुंगो भएन भने पनि पदेन आमाको पदवी कसैले खोसेर खोसिदैन । त्यसैले भनिन्छ – आमा सत्य हो भने बाबु विश्वास । बाउ आमा र छोरा छोरीको नाता जन्मबाटै हुने हो । तर त्यो जन्मको आधार तानातान हो । तपाई जन्मने बेलामा बाले आमा ताने कि आमाले बा तानिन्, त्यो त मलाई थाहा भएन । तर बाउ आमाको तानातान बेगर तपाई जन्मनुभएन । यो सत्य घाम जतिकै छर्लङ्ग छ र जति नै छुपाए पनि छुप्दैन ।

नाता र तानातान शब्दको अन्तरसम्बन्धलाई सूक्ष्म विश्लेषण गर्ने हो भने यी दुईका बिचमा पुर्ख्यौली सम्बन्ध छ भन्नेमा द्विविधा नहोला। नाताको ‘ता’ लाई काटेर नाको अगाडि जोडिदिनु भयो भने ताना बन्छ । एकले अर्कालाई तान्न थालेपछि त्यहाँ तानातान हुन्छ । यसर्थ नाता र ताना मध्ये को पहिले जन्म्यो वा को जेठो कान्छो हो भन्ने चाहिँ भाषाशास्त्रीलाई थाहा होला ।

तानातानबाट नै जन्मको प्रक्रिया शुरु हुन्छ भन्नेमा अब कुनै अध्ययन अनुसन्धान गर्नु पर्ला त ? पर्दैन । तानातान नै गर्भको आधार हो । गर्भ वेगर प्राण भर्ने अर्को कुनै द्वार छैन । त्यो द्वारको आधार पनि बनिसकेको छैन र आधारलाई विज्ञानले आजसम्म निराधार बनाउन सकेको पनि छैन । विभिन्न ग्रह उपग्रहको खोजी गरेर त्यहाँ पुग्ने यात्रा तय गरे पनि जीवमा प्राण भर्न सक्ने विकल्प विज्ञानले दिन सकेको छैन । नत्र त एक पटक गएको प्राणलाई भरेर पुनः जीवित बनाउन सक्थ्यो होला । भोलिको विज्ञानले के गर्ला ? त्यो भोलिलाई नै थाहा होला । बिना आधारमा त्यसै भोलिसँग लोली मिलाएर विज्ञानसम्मत हुन सक्ने भएन ।

जन्मको आधार मात्र तानातान होइन । यो सौर्यमण्डलको अस्तित्व नै त्यही तानातानमा छ । ग्रह उपग्रह एकअर्कालाई तानातान गरेरै टिकेका छन् । एउटाले अर्कालाई नतान्ने हो भने यो सौर्यमण्डलको अस्तित्व नै रहने थिएन । सौर्यमण्डलको अस्तित्वको आधार नै तानातान हो भन्ने तथ्यको सत्य विज्ञानले पुष्टि गरेको छ । नातोको जाँतो घुमाउँदा घुमाउँदै अन्तरिक्षमा पुगिएछ । फेरि नातोको जाँतो घुमाएर त्यसैको आँटो पिस्नु नै पो ठीक होला कि ?

के नाता तानातान गरेर हुने जन्मबाट मात्र हुन्छ त ? भनेर तपाईलाई झोंक चलिसक्यो होला । झोंक नचलाउनु होला । अलि धैर्य गर्नुहोस् । धैर्यले नाफा हुन्छ, तर अधैर्यले घाटा हुन्छ । झन् आजको व्यापारको युगमा घाटा खान को चाहन्छ ? कोही चाहँदैन । व्यापारमा घाटा भएपछि नाफा कसरी हुन्छ ? हुँदैन । हो, तपाईंको तर्क हुन सक्छ– पति पत्नीको नाता जन्मको नाता हो त ? होइन । यो त माया पिरतीको नाता हो । यो जोडिएको नाता हो ।

नाताको खाता खोल्ने मुख्य आधार भनेको माया पिरती नै हो । माया पिरतीबाटै ब्वाई फ्रेण्ड गर्ल फ्रेण्ड वा पति पत्नी बन्ने प्रक्रिया शुरु हुन्छ । जीवन पनि माया पिरतीबाट जोडिएर एक भएकाको सम्बन्धबाट मात्र चल्छ । दुईको पिरतीलाई एउटा बनाउने काम पनि तानातानकै हो । तर एउटै गर्भबाट जन्मेका दाजु बहिनी बीच जीवन चल्दैन र उनीहरूबाट जन्मको जग पनि खन्न सकिंदैन । विज्ञानले पनि राम्रो मानेको छैन । एउटै नातागोता भन्दा बाहिरका जोडी बीचको सम्बन्ध वैज्ञानिक तथ्यले पनि उत्तम मानेको छ भन्ने पुराण यहाँ भट्याइरहन परेन ।

तानातान गर्ने तत्वहरू थरिथरि छन् । कोही वैंस र रूपको धुपमा लठ्ठिएर गर्छन् । कोही धन, मान र सानको घानमा गर्छन् । अनि अन्त्यमा ब्वाई फ्रेण्ड गर्ल फ्रेण्ड वा पति पत्नी बन्छन् र बाउ आमा बन्ने प्रक्रिया सुरु गर्छन् ।

तरुना तन्नेरीहरू वैंसको धुपमा लठ्ठिएर आकर्षित हुँदै तानातानमा पुग्छन् । रूपको धुपमा केटी भन्दा केटा बढी लठ्ठ हुन्छन् । धन, मान र सानले केटीलाई अलि बढी लठ्याउँछ भन्ने मान्यता छ । त्यो मान्यतालाई मान्यता दिंदै नातिनी उमेरका केटीहरू हजुरबा उमेरको बुढोलाई तान्न पुग्छन् । अबको युगमा धन देखेर हजुरआमाहरूसँग नाति उमेरका केटाहरू पनि तानातान गर्न नजाने होइनन् । त्यही भएर आजको दुनियाँमा सुगर ड्याडी र सुगर ममीको आकर्षण र महत्व बढ्दो छ ।

जन्मबाट जोडिएको नाता तोडेर तोडिँदैन । बरु बोलचाल बन्द होला । आउजाउ नहोला । मुद्दा मामिला झगडा होला, तर जन्मको नाता कायमै रहन्छ र भूतपूर्व हुँदैन । त्यही भएर तपाईंले पूर्व बाउ (एक्स फादर) र पूर्व आमा (एक्स मदर) भन्ने सुन्नु भएको छ ? छैन । सुनेको त पूर्व श्रीमान् र श्रीमती (एक्स हस्बेण्ड वा वाइफ) वा एक्स गर्ल फ्रेण्ड र ब्वाई फ्रेण्ड मात्र हो ।

माया पिरतीले जोडेको नाता तोड्दा तोडिन्छ । तर तोडिए पनि जन्मको जग त्यही जोडेको नाताले हो । जन्म दिन त जोडेकै नाता चाहिन्छ । ब्वाई फ्रेण्ड गर्ल फ्रेण्ड वा लोग्ने स्वास्नी चाहिन्छ । फेरि माया पिरती वेगर कसैलाई जोर जबर्जस्ती गरे पनि जन्म त होला, तर आजन्म जेलको झ्याल चियाएर बस्नु पर्ने हुन सक्छ ।

आमासँगको तानातानमा वीर्यदान गरेर हराएका नादान बाउलाई खोज्न कहाँ जानु ? बाउ खोज्न भन्दा साहु खोज्न छिटो छरितो होला । साहु त ऋण असुल नहुन्जेल आउन छाड्ने होइनन्। नआउ है साहु भन्दा पनि बेला बेला टुप्लुक्क आइपुगी हाल्छन्।
वीर्यदान गरेपछि छोरा छोरी जन्मे नजन्मेको थाहा नहुने कति छन् कति यो दुनियाँमा, त्यसको लेखाजोखा गरेर के साध्य होला र !
लगभग नब्बे वर्षको जोर्डन नाम गरेको एउटा गोरेसँग विगत दश वर्षदेखि वर्षमा एक पटक भेट हुन्छ । हरेक भेटमा जिन्दगीका रमाइला कथा सुनाउँछ । मान्छे दानी रहेछ । जवानीमा उसले बीस भन्दा बढी गर्लफ्रेण्डलाई वीर्यदान गरेछ। त्यो पुण्यदानबाट फलिफाप भएर धेरै वटी गर्लफ्रेण्ड आमा बनेछन्। अझ कतिलाई फलिफाप भयो भएन उसैलाई थाहा रहेनछ। ती फलिफापहरू कता कता छन्, उसलाई अत्तोपत्तो छैन । फलिफापबाट सय भन्दा बढी नाता नातिना भएको अनुमान गर्दै टुंगो बेगरको बुंगो जिन्दगी बिताइरहेको छ। हुन त गोरु र बोकाले पनि त कति सन्तान बनाउँछ, तर ती सन्तान कसरी चिन्दो होला र !

एकदिन मेरो दुकानमा एउटा सेवाग्राही उत्तेजित हुँदै आयो। सोधेँ –  ह्वाट्स अप ?
मेरो टेवल अगाडिको कुर्सीमा बस्दै भन्यो – आइ एम सो हेप्पी। आइ ह्याभ फाउन्ड माइ सन।
अलि आश्चर्य लाग्यो। सोधेँ – ह्वयर ह्याड योर सन गन मिसिङ ?
लगभग तीस वर्षपछि छोराले उसलाई फोन गरेछ। उसको भतिजोले छोरो पत्ता लगाएर बाबुलाई फोन मार्फत सम्पर्क गराएछ । सन् १९६७ मा ७ वर्षको उमेरमा सिरियाबाट क्यानडा आएको उ पढ्दै बढ्दै गयो र क्यानेडियन संस्कारमै हुर्कियो। उसँगको सहवासमा कुनै एक गर्लफ्रेण्ड गर्भवती भइन्। तर गर्लफ्रेण्डले त्यो गर्भ उसको होइन भनेर वेपत्ता भइछन्। अन्तरमनले त्यो गर्भ उसको आफ्नै हो भन्दो रहेछ। गर्भको त्यो बच्चाको उसलाई सधैं याद आइरहँदो रहेछ। लामो प्रयत्नले भतिजो मार्फत उनीहरू बाबुछोरा भएको टुंगो लागेछ।

सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने पुरानो जमानामा पो नाताका पाता लामा हुन्थे । अहिले यी पाता छोटा भइसके । नहुन् पनि किन ? पहिलो त, बच्चा जन्माउनै नचाहने जमाना आयो । जन्माए पनि एउटा वा दुईटा । छोरा वा छोरी जे भए पनि एउटा वा दुईटा भन्दा नपाउने जोडीको संख्या ठूलो छ । फेरि बच्चा जन्माउन जोडी नै चाहिने जमाना पनि रहेन ।

एकल महिला र पुरुषको संख्या बढ्दै गएको बेला बाउका बहिनी फुपू र भाइ काका खोज्न कहाँ जानु ? बरु काका खोज्नु भन्दा डाका खोज्नु सजिलाे होला । कहाँबाट आमाका भाइ मामा र आमाकी बहिनी सानीमा कसरी भेट्नु ? त्यसैले आजको समयमा हजुरबा (बाजे), हजुरआमा (बजै), बा (बुबा), आमा, ठूलाबा, ठूलीआमा, सानाबा, सानीआमा, काका काकी, फुपू, फुपाजु, मामा, माइजू, सासू, ससुरा, दाजु, भाउजू, भाइ, बुहारी, जेठाजु, जेठानी, देवर, देवरानी, नन्द, आमाजू, दिदी, भिनाजु, बहिनी, ज्वाइँ, जेठान, साला, साली, सोल्टा, सोल्टिनी, पति, पत्नी, छोरा, छोरी, भतिजा, भतिजी, भान्जा, भान्जी, नाति, नातिनी जस्ता नाता हुने मान्छे कति होलान् ।

अबको जमानामा यति ठूलो नातापाता कसको हुँदो हो ? हुँदो हो भने पनि थोरैको हुँदो हो । त्यो पत्ता लगाउन गोता नै चाहिएला। जुन गोताले पानीभित्र हराएको वा डुबेको वस्तु सजिलै पत्ता लगाउन सक्ला, तर उत्तर आधुनिक युगको रोगले गाँजेको समाजमा नाताका यति लामा पाता त्यति सजिलै पत्ता लगाउन नसक्ला ।

नाता घट्नु भनेको जनसंख्या घट्नु हो । जनसंख्या घट्नु भनेको अशुभ संकेत भन्ने लागेको होला । देशका लागि अशुभ संकेत भए पनि संसद र सरकारी पदको भागवण्डा कोटाका आधारमा हुने जगतमा शुभ संकेत हो । जति जनसंख्या घट्यो सीमित कोटामा उति नातागोताले भाग पाउँछन् । त्यसैले जनसंख्या घट्नु भनेको कोटाको अंशवण्डा बढ्नु हो ।

फेरि भन्नु होला नातागोताले के नेपालमा मात्र कोटा भरेका छन् त ? छैनन् । संसारमा आफ्नाले आफ्नैलाई हेर्ने हो । त्यही भएर ट्रम्प हजुरबाले अमेरिका फस्ट  भनेका हुन् । अमेरिकामा अमेरिकन बाहेकले अरुले अवसर पाउन हुन्न भन्नु अमेरिकी नातापातालाई रोजगारीको खाता बलियो बनाउनु हो भन्दा मुद्दा खेप्नु नपर्ला र फक्स न्यूजको गाली पनि खानु नपर्ला ! ट्रम्प हजुरबाले अघिल्लो पटक राष्ट्रपति हुँदा पनि आफ्ना छोरी ज्वाईँलाई ह्वाइट हाउसमा सल्लाहकार बनाए । आफ्ना नातागोतालाई नबनाएर कसलाई बनाउनु त ? दोस्रो कार्यकालमा पनि उनले के गर्छन् भन्ने अनुमान गर्न सक्ने हनुमानलाई पदको पगरी दिएका छन् । आफ्नो हात जगन्नाथ ।
अमेरिका र क्यानाडाको राजनीतिमा पनि एकै परिवारका बाबु छोरा, नाति नातिना सांसद, मन्त्री र प्रधानमन्त्री र राष्ट्रपति हुनेको संख्या प्रशस्तै छ । भारत र चीनमा पनि प्रशस्तै छन् । भारतमा गान्धी परिवारको कुरै गर्न परेन ।

चीनमा वर्तमान र भूपू राष्ट्रपतिको नालीबेली खोतल्ने हो भने राजनैतिक घरानाको पारिवारिक विरासत भेटिन्छ । उत्तरी कोरियामा क्रान्तिकारी नेता किम इल सुङका नाति महाराज किम जोङ उनले किम परिवारको धरोहर धानी रहेकै छन् । कोटाको नाममा होस् वा खोटाको नाममा होस् – आफ्नो हात जगन्नाथ नगर्ने को छ ? अपवाद बाहेक शक्ति सम्पन्नका नातागोता वाहेक खान नपाउने गरीवका नातागोता यो संसारमा को पद प्रतिष्ठामा छन् ?

गरीवका त नातागोता पनि गरीवै हुन्छन् । तिनका गरीव नातागोताले कोटा पाउने संभावना पनि न्यून रहन्छ । तर धनीका तुलनामा गरीवका सन्तान अलि धेरै हुने हुनाले तिनका नाताका पाता अझै शुन्य भएका छैनन् । फेरि शुन्य भए भने धनीका उत्पादनको उपभोक्ता को भइदिने ? चुनावमा नेतालाई भोट दिने भोटर को हुने ? आसनमा बसेर भाषण गर्ने नेताका गालीमा ताली कसले बजाउने ? जोतार भएर कसले हलो जोत्ने ? मेसिन झै उद्योग कलकारखानामा को खट्ने ?

गरीवका पनि सन्तानका संख्या घट्दै जानु चाहिँ धनीको लागि दूर्भाग्य हो भन्ने मेरो ठम्याई छ । त्यही भएर एआईको प्रविधिलाई उन्नत र मितव्ययी बनाएर रोवर्टबाट काम लिने दिने कार्यलाई धनीहरुले तीव्रता दिइरहेका छन् भन्नेमा दुई मत नहोला ।

एउटा मात्र सन्तान भएपछि नाताका पाता खोज्न कुन गोता लिएर कुन समुन्द्रको पिंधमा पुग्नु ? नाता गोता नभएपछि कोटामा को भर्नु ? गोत्र र थरको संस्कार भएको समाजका मान्छेलाई एउटै गोत्र र थरकालाई दाजु भाइ र दिदी बहिनीको नाता बनाउने विकल्प रहला । तिनै नाता बीच भेटघाट गरेर दशैं तिहार जस्ता चाड पर्व मनाएर रमाइलो होला ।

गोत्र र थरको संस्कार नभएकाले कसलााई दाजु भाइ र दिदी बहिनीको नाता बनाउनु ? त्यस्ता समाज र देशका मान्छेले क्रिसमस र थ्यांक्स गिभिंग जस्ता चाडपर्व कुन नातागोतासँग बसेर मनाउनु ? थ्यांक्स गिभिंगमा एक पटक मेरो मित्र वारेनलाई सोधेको थिएँ । “यसपाली थ्यांक्स गिभिंग कसरी मनाउदैछौ ?”
“मेरी भू पू श्रीमतिको परिवारसँग लस भेगस जाँदै छु।” – उसले जवाफ दियो ।
म ट्वाँ परेँ ।

०००
भ्यानकुभर, क्यानडा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bhojraj Regmi
Bhojraj Regmi
5 months ago

अज्जब गज्जबको हास्यव्यङ्ग्य आयो । बडो मज्जा आयो ।

Nepal Telecom ad
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
भाग्दाभाग्दै

भाग्दाभाग्दै

राजेन्द्र कार्की
गुरु कि गोरु !

गुरु कि गोरु !

राजेन्द्र कार्की
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मास्टरको चिया

मास्टरको चिया

सुरेशकुमार भट्ट
वाइपास

वाइपास

सुरेशकुमार पाण्डे
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
1
0
Would love your thoughts, please comment.x
()
x