फित्काैली डटकमनेपाली भाषा मान्यता दिवसमा भाषासम्बन्धी विविध कार्यक्रम
राजबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली भाषाआन्दोलनमा विगतमा साहदत प्राप्त गरेका र भर्खरै दिवङ्गत भएका हस्त नेपालीप्रति करिब दुई मिनटको मौनधारण गरिएको थियो ।

मिरिक / २० अगष्ट २०२४ अर्थात् ४ भदौ २०८१ मङ्गलबारका दिन मिरिक नगरपालिकाको स्थानीय प्रेमचन्द्र ग्रामीण पुस्तकालयको भवनमा ३३ औँ नेपाली भाषा मान्यता दिवसको अवसर पारेर भाषासम्बन्धी विविध कार्यक्रमको आयोजना भएको हो ।
राजबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली भाषाआन्दोलनमा विगतमा साहदत प्राप्त गरेका र भर्खरै दिवङ्गत भएका हस्त नेपालीप्रति करिब दुई मिनटको मौनधारण गरिएको थियो भने भाषाकै लागि वर्तमान अवस्थामा समेत मरिमेट्ने जीवित स्रष्टाहरूको दीर्घजीवनको कामना पनि गरिएको थियो । दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा मूलतः नेपाली भाषा सम्बन्धी सन्दर्भहरूमा केन्द्रित भई रचना वाचन, मन्तव्य, सम्मान जनाउने कार्यक्रम, सम्मानित व्यक्तिहरूको आगामी योजना आदिबारे जानकारी भयो ।
मिरिक रत्नले २०२४ मा सम्मानित अनि इबरा साहित्यिक प्रतिष्ठानले ३३औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा नीरपानीमा आयोजित कार्यक्रममा भाषा सङ्ग्रामीको रूपमा सम्मान जनाएवापत् अध्यक्ष राजबहादुर राई, प्रचारप्रसार सचिव एसबी गजमेर, माधव बुढाथोकीलाई भाषा सङ्ग्रामीको रूपमा सम्मान जनाउदै एमबी सुब्बालाई शुभकामना व्यक्त गरिएको थियो ।
भाषा मान्यता दिवसको अवसरमा सिक्किम राज्यको गेजिङबाट बीबी मुरिङ्ला स्मृति पुरस्कारले सम्मानित कोषाध्यक्ष डा. कमला तामाङ सिद्धार्थ तथागत साहित्य संस्थान उत्तर प्रदेशबाट “अन्तर्राष्ट्रिय तथागत भूषण” सम्मानको निम्ति पनि चयन भएको जानकारी गराउदै उहाँलाई शुभकामना व्यक्त गरियो ।
त्यसैगरी आगामी १० नोभेम्भर २०२४ का दिन अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान २०२४ द्वारा सम्मानित हुनेहरूमा पत्रकार मुस्कान राई, गजलगो मनोहर शर्मा, कथाकार दीप प्रधान, सिने कलाकार एवम् आइरन लेडी सकिला गुरुङ रहेकाले उहाँहरूलाई पनि सम्मान व्यक्त गरिएको थियो ।
कार्यक्रमको शुरुमै अध्यक्ष र उपाध्यक्ष वाईएन ढकालले मन्तव्यको क्रममा क्रमशः सरकारी कार्यालयहरूमा र विभिन्न परीक्षाहरू पनि नेपाली भाषामै लेखिनुपर्ने र नेपाली भाषा दार्जिलिङमा समेत अल्प सङ्ख्यक बनिरहेको सन्दर्भ उठाए । राज्यमा निहित शिक्षा, साहित्य र राजनीतिसँग सम्बन्धित निकायले नेपाली भाषामाथि काम गर्नुपर्नेमा जोड दिए ।
केसाङ लामाले नेपाली भाषा शुद्धीकरण र पठन संस्कृतिको सन्दर्भ र स्थानीय बाटाहरूको नामसमेत नेपाली भाषामा राख्नुपर्ने सन्दर्भ उठाए र यस्तै सन्दर्भको रचना पनि प्रस्तुत गरे भने विनोदसिँह खातीले नेपाली भाषामा नेपाली भाषामा पुस्तकहरू प्रकाशन हुनुमा गर्बबोध साटे र नारीहरू पनि शसक्त बन्नुपर्नेमा जोड दिए । त्यसो त कार्यक्रममा पारषमणि राई, परशु सुब्बा, गोकुल रसाइली, पारषमणि घिमिरे, उत्तममणि बंजन र भूपेन सुब्बाको पनि उपस्थिति रहेको थियो ।
विभिन्न कोणबाट नेपाली भाषाको संरक्षण र सम्बर्द्धन हुनुपर्नेमा जोड दिँदै स्रष्टाहरूले रचना प्रस्तुत गर्नेहरूमा – जीनर घतानी – मातृभाषा , अमर दुङ्माली – घाउहरू , अजम प्रधान – बाउ र दीप प्रधान- नेपाली भाषा प्रयोग गरौँ आदि ।
अन्त्यमा अध्यक्षबाट सबैलाई भाषा मान्यता दिवसको अवसरमा शुभकामना व्यक्त गरेर कार्यक्रमलाई विधिवत रूपमा बिट मारेका थिए ।
संस्थाका सह-सचिव दीप प्रधानको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य र कार्यक्रम सञ्चालनसमेत रहेको कार्यक्रममा साहित्य सुनौँ परिवार मिरिकको आयोजना रहेको सचिवद्वय दीप प्रधान र एसबी गजमेरले जानकारी दिए ।
०००
– मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest






































