फित्काैली डटकम‘लीलाध्वज थापा श्रष्टा सम्मान तथा पुरस्कार’ प्रा. डा. वीणा पौड्याललाई
नेपाली साहित्य र संस्कृतिको श्रीवृद्धिमा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आउनुभएकाे प्रा. डा. पौड्याललाई उक्त सम्मान तथा नगद रु. १० हजार राशिको पुरस्कार प्रदान गर्न लागिएकाे हाे ।

काठमाडौं, २०८२ असाेज ८ । उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज थापा श्रष्टा सम्मान तथा पुरस्कार’ प्रा. डा. वीणा पौड्याललाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दिएको जानकारीअनुसार नेपाली साहित्य र संस्कृतिको श्रीवृद्धिमा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आउनुभएकाे प्रा. डा. पौड्याललाई यही २०८२ साल आश्विन ११ गते विशेष समारोहका बीच उक्त सम्मान तथा नगद रु. १० हजार राशिको पुरस्कार प्रदान गरिनेछ ।
प्रा. डा. पौड्यालको जन्म ललितपुरको कुपण्डोलमा भएको हो भने हाल उहाँ काठमाडौं महानगरपालिका–३ नागार्जुनमा बसोबास गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट सन् १९७८ (वि.सं. २०३५) मा एम.ए. उत्तीर्ण गर्नुभएको थियो भने भारतको बनारस हिन्दु विश्वविद्यालय (BHU) बाट सन् १९९२ (वि.सं. २०४९) मा पीएचडी प्राप्त गर्नुभएको हो ।
त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा लामो समय अध्यापन र अनुसन्धानमा सक्रिय रहनुभएका पौड्याल विभागीय प्रमुखसमेत रहनुभएको थियो । उहाँले नेपालको संस्कृति र इतिहाससम्बन्धी करिब दुई दर्जन पुस्तक प्रकाशन गर्नुभएको छ ।
शैक्षिक र सांस्कृतिक योगदानका आधारमा प्रा. डा. पौड्यालले ‘क’ श्रेणीको महेन्द्र विद्या भूषणसहित आधा दर्जनभन्दा बढी पुरस्कार प्राप्त गर्नुभएको छ । साथै उहाँलाई अढाई दर्जनभन्दा बढी संस्थाबाट विभिन्न सम्मानसमेत प्रदान गरिएको छ । हाल पनि उहाँ विभिन्न शैक्षिक र सांस्कृतिक संस्थाहरूसँग आबद्ध रहँदै निरन्तर सक्रिय हुनुहुन्छ ।
प्रतिष्ठानले यसअघि पनि साहित्य, भाषा, इतिहास र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा स्थापित गर्दै आएको छ । यस वर्ष प्रा. डा. पौड्याललाई प्रदान गर्न लागिएको यो सम्मानलाई नेपाली साहित्य–संस्कृति क्षेत्रमा उहाँको दीर्घ योगदानप्रति कृतज्ञताको अभिव्यक्ति मानिएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest







































