साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य महोत्सव, बहस, नागरिक अभिनन्दन र रचना वाचन

दोस्रो दिन कवि एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायको लामाचौरदेखि ज्ञानसागरसम्मको क्षेत्रफलमा रथारोहण तथा नागरिक अभिनन्दनलगायत कृति लोकार्पण र विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

पोखरा / यही मङ्सिर १९ र २० गतेका दिन हेमजा साहित्य महोत्सवको सन्दर्भ पारेर साहित्य, सङ्गीत र नाटकको बहस र मुक्तक, गीत / गजल, कविता र आख्यान आदि विधागत रचनाहरूको अन्तरकृया तथा वाचन कार्यक्रम सम्पन्न भएको हो ।

दुईदिने कार्यक्रमअन्तर्गत पहिलो दिन साहित्यिक परिसंवाद र गीत/गजल, मुक्तक, लघुकथा र कवितावाचन र दोस्रो दिन कवि एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायको लामाचौरदेखि ज्ञानसागरसम्मको क्षेत्रफलमा रथारोहण तथा नागरिक अभिनन्दनलगायत कृति लोकार्पण र विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रकृयागत कर्महरू (स्वागत मन्तव्य/कार्यक्रमको औचित्यमाथि प्रकाश, मौनधारण र राष्ट्रगान ) दुवै दिन सम्बन्धित व्यक्तिबाट भएकै हुन् । इलामदेखि देशका विभिन्न क्षेत्रबाट आमन्त्रित पाहुनाहरूको अतिथि आशनग्रहण गराएपश्चात् राष्ट्रगान बजाएर देशलाई सम्झने काम भएको थियो ।

हेमजाको माटाले जन्माएका दिवङ्गत स्रष्टात्रय कवि टीकाराम वास्तोला, लक्ष्मीशरण पौडेल र जनार्दनशरण त्रिपाठीलगायत ज्ञातअज्ञात स्रष्टाहरूलाई स्मरण गर्दै करिब एक मिनट मौनधारण गरिएको थियो । “हेमजामा आयोजित कार्यक्रमको सन्दर्भ साँस्कृतिक, साहित्यिक, सिर्जनशील र ऐतिहासिक पहिचान निर्माण गर्ने उद्देश्यसहित स्रष्टासम्मान तथा विचारको विनिमय गर्नुपर्ने आवश्यकता हो ।” महोत्सव मूल समारोह समितिको अध्यक्ष कवि एवम् महाकाव्यकार छन्दमणि त्रिपाठीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बताउनुभयो । सोही अर्थमा दोस्रो दिनको स्वागत मन्तव्य हेमजाका कार्वाहक वडाध्यक्ष सुवास भन्डारीले गरेका हुन् । यसै क्रममा गुप्तेश्वर गुरुकुलका छात्रहरूबाट स्वस्तिकवाचन र दीप प्रज्ज्वलनका साथ गमलामा पानी हाली मञ्चासिन अतिथिवर्गबाट कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

त्यसपछि केही परिसंवादहरू भए जसमा “नेपाली नाटक र रङ्गमञ्च”, “वर्तमान समयमा महाकाव्य लेखन” र “वर्तमान समयमा नेपाली आख्यान” शीर्षकमा क्रमशः परिसंवाद सम्पन्न भएको हो जसमा सहजीकरण र बहसमा सहभागी व्यक्तित्वहरू क्रमशः प्रा.डा. रामचन्द्र पोखरेल, नाटककार कृष्ण उदासी र प्राज्ञ पुरु लम्साल सहजकर्ता रङ्गकर्मी प्राञ्जलका साथ । साहित्य , सञ्चार र सङ्गीतका त्रिवेणी महाकाव्यकार डा.नवराज लम्साल, छन्दनायक महाकाव्यकार माधव वियोगी र कवि, समीक्षक एवम् समालोचक रमेश “शुभेच्छु” सहजकर्ता प्राडा जगन्नाथ रेग्मीका साथ ।

साहित्यकार ज्ञानु अधिकारी, डा. रजनी ढकाल र साहित्यकार तीर्थ गुरुङ सहजकर्ता डा.भूमिराज बस्ताकोटीका साथ रहेका थिए । नाटकका बारेमा नाटकको ईतिहास पुनर्लेखन, आधुनिकीकरण र नाटक लेखन र प्रस्तुतिका हिसाबले पुरानै स्रष्टा तथा कृतिहरू उदाहरणीय रहेको चर्चा भयो भने महाकाव्य लेखनमा सैद्धान्तिक पक्ष, आयाम र आधारहरू पूरा नगरी लेख्न नसकिने समालोचक शुभेच्छुकले बताए ।

त्यसैगरी महाकाव्य लेखन परम्परालाई मात्र पछ्याएर पुरानै समय र पात्रमा सीमित नरही समावेसी, समयसापेक्ष तथा यूगीन चिन्तन भयो भने काव्य काव्य बन्न सक्ने धारणा लम्सालको रहेको थियो र महाकाव्यमा छन्दको भूमिका विस्तृत अनिवार्य र गुणात्मक रहेकाले छन्दकै लागि आफूले साधना गरिरहेको जगजाहेर भएकाले महाकाव्यकाहरूले महाकाव्य लेख्दा मूलतः छन्दमै लेखिदिए छन्दजागरण अभियानमा सघाउ पुग्ने आशय माधव वियोगीको रहेको थियो । त्यसैगरी आख्यानका बारेमा भने सबैको मिल्दोजुल्दो अभिमत आएको थियो ।

महोत्सवमा नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी कविता, मुक्तक, गीत/गजल र लघुकथा पनि वाचन भएको थियो जसमा कवितातर्फ, कृष्णशरण उपाध्याय- तनहु, नुरज भट्टराई “नदी” -इलाम, रत्न विरही घिमिरे- ललितपुर, कमला भट्टराई- काठमाण्डौ, ऋकेश भन्डारी “ऋगीश”- नुवाकोट, रोशन तिमल्सिना- कास्की, प्रकाश चापागाईँ- चितवन, कल्पना पलक- सल्यान, संयोग बस्याल – पर्वत र लक्ष्मण मानव- कालिकोट रहेका थिए कार्यक्रम सञ्चालक कवि लक्ष्मी थापाका साथमा ।

गीत /गजलतर्फ- लोकराज अधिकारी- दाङ, निकेश गिरी- तनहु, पुछारघरे, रामचन्द्र क्षेत्री, राजन बराल, गीता अधिकारी, त्रुपक कास्कीबाट रहेका थिए, सञ्चालक रुपिन्द्र प्रभावीका साथ ।

मुक्तकतर्फ- जीवनसागर भन्डारी र सरू लामिछाने- कास्की, प्राञ्जल- गुल्मी, रामचन्द्र शर्मा- तनहु, रुशन सुवेदी- पर्वत, डिबी बर्तौला-मकवानपुर, सबु आरोही- पाल्पा, अमृता पोखरेल- स्याङ्जालगायत सञ्चालक डा. ईश्वरमणि अधिकारीका साथ ।

लघुकथातर्फ- गीता तिवारी र शुभ शर्मा- कास्की, लक्ष्मण थापा- पोखरा, मीना शाह- राजविराज, इन्दिरा चापागाईँ- संखुवासभा, कल्याण पन्त- लमजुङलगायत सञ्चालक टुकादेवी आचार्यका साथ ।

यसैगरी हेमजा साहित्य महोत्सव २०८२ को दोस्रो दिन अर्थात् मङ्सिर २० शनिवार मूलतः भाषाविद् कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसँगै नागरिक अभिनन्दन तथा स्रष्टा शिव त्रिपाठीको प्रथम कृति “जिन्दगीका शय टुक्रा” विमोचनलगायत विविध साँस्कृतिक प्रस्तुतिहरू रहेका थिए ।

यो दिन महोत्सवको केन्द्रीय आकर्षण भएकाले मूलतः नेपाली भाषासाहित्य र सिङ्गो वाङ्मयलाई उँचो तुल्याउनुहुने मदन पुरस्कार विजेता भाषाविद् / भाषामहर्षि एवम् कवि मुकुन्दशरण उपाध्यायको रथारोहण र अभिनन्दन रहेकाले यसैलाई सार्थक बनाउन गठित समितिका अध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षता, पोखरा महानगरपालिकाका नगरपिता (मेयर) धनराज आचार्यको प्रमुख आतिथ्य र वरिष्ठ साहित्यस्रष्टाहरू अभिनन्दित स्रष्टाका सपरिवार, सरूभक्त, नवराज लम्साल, हरिदेवी कोइराला, माधव वियोगी, प्रा.डा. कुसुमकुमार नेउपाने, पद्मराज ढकाल र सूर्य खड्का बिखर्ची लगायतकाे आतिथ्य रहेको थियो ।

यसै क्रमको दोस्रो सत्रमा मञ्चासिन अतिथिवर्गबाट जिन्दगीका शय टुक्राको विधिवत् लोपार्पण भएको थियो । बिचमा ज्ञानसागर एकाडेमीका छात्रछात्राहरू तमन्ना सुनार, विञ्जल बराल, शिवानी दाहाल, आकृति गुरुङ, भूमिका विक, अश्मि पुन, पुनम विक र अस्मिता नेपालीद्वारा नृत्य गरी अतिथिवर्गलाई स्वागत तुल्याइएको थियो । साथमा नृत्य प्रशिक्षिका सुशीला थापासमेत धन्यवादकी पात्र बनेकी थिइन् । अन्त्यमा निकेश गिरी, भरतराज अधिकारी, छन्दिका त्रिपाठी, शिव त्रिपाठीलगायतले अभिनन्दन पत्रको कविता वाचनपश्चात् मेयरका साथ मुकुन्दशरण उपाध्यायको अभिनन्दन सम्पन्न भएको थियो ।

वास्तवमा पोखरा आफैँमा विद्वान् र विद्वत्ता भएका व्यक्तिहरूको सङ्गमस्थल हो । पर्यटन र प्रकृतिको मानवीकरण आफैँमा अलौकिक लाग्छ । शिक्षा, समाज, विचार र विनिमयको उपल्ला धुरी हुन् पोखरा । यहाँका मान्छेहरू हिमालझैँ पवित्र, कञ्चन र अग्ला छन् । यति सुन्दर ठाउँमा एउटा ऐतिहासिक कर्मले घुम्टो ओढेकी छिन् यो सिर्जना र सिर्जनशीलहरूका लागि उदाहरण बन्नेछ, यही अनुभूति गरियाे ।

ज्ञानसागर मावि हेमजा, पोखराको पवित्र वक्षस्थलमा सम्पन्न कार्यक्रममा हेमजा साहित्य महोत्सव कास्की पोखराको आयोजना रहेको थियो भने यी दुईदिने कार्यक्रमलाई सुचारु रूपमा सफलिभूत बनाउन अहम् भूमिका खेल्नुहुने कार्यक्रम सञ्चालक स्रष्टा द्वय शिव त्रिपाठी र छन्दिका त्रिपाठीको सहजीकरण अनुकरणीय थियाे ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
तुलसीप्रसाद भट्टराई
तुलसीप्रसाद भट्टराई
1 month ago

भव्य कार्यक्रमको साङ्गोपाङ्गो उतारेर सुन्दर लेख तयार गरेकोमा हार्दिक बधाई कविलाई

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x