बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भुँडी
तर पनि रितो भुँडीमा दाँत किटिएको राम्रै सुनिन्छ ! जे भए पनि, जस्तै भए पनि भुँडी चाहिने कुरो हो- यी भुँडीहरूले यू. एन्. ओ. खोलेकै दिन मात्र सरकार स्थायी रहला ।

लुगा यसो पन्साएर तपाईं आफ्नो सुन्दर भुँडी हेर्नुहोस् । फेरि भाग्यवश पित्तलभुँडे हुनुहुन्छ भने एउटा ऐनामा भुँडी हेर्नुहोस्- अचम्मको देख्नुहुनेछ । यसलाई चाहे एउटा अमेरिकनको आँखाले हेर्नुहोस् या कुनै ब्रिटिशको चश्माले हेर्नुहोस् या कुनै गोर्खालीको आँखाले ठूलो देख्ने ऐनाले यो भुँडीलाई हेर्नुहोस्- यो भुँडी एक समान पाउनुहुनेछ । यसरी यो भुँडी कट्टर साम्यवादी देखिए पनि भित्री तहमा ठूलो भिन्नता राख्छ, यो अन्तर्राष्ट्रिय भुँडी बाहिर एकै देखिए पनि वास्तवमा भित्र फरक हुन्छ ।
कोही भुँडीमा, मानि लिनुहोस् एक जना सेठजीको भुँडीमा घिउ र गुलियो मात्र पाइन्छ त एउटा अंग्रेजको भुँडीमा उसिनेको झारपात पाइनेछ, कुनै बङ्गाली भुँडीमा माछाको यमराज पाउनु आश्चर्यको कुरा नभए तपाई (गोर्खाली हुँ भन्ने कसम खान सक्नुहुन्छ भने) आफ्नो भुँडीमा रातो बगडा पाउनुहुनेछ । टाढाको के कुरा, गोर्खालीहरूमा पनि कुनै भुँडी हेर्नुहोस्- ढाडिएको चिउरा पाउनुहुनेछ, तात्पर्य के भने भुँडी अन्तर्राष्ट्रिय भए पनि यसका भित्र हजारौं भिन्नता पाइन्छन् ।
भोजन सम्बन्धमा यो भुँडी स्त्रीपुरुष दुवै जातिमा एक समान छ, तर प्रकृति-प्रसङ्गमा भने यही साम्यवादी भुँडीले एक जना मान्छेलाई आमा र अर्कोलाई बाबु भन्ने प्रमाणपत्र दिन्छ, भुँडीको यो भिन्नता भानुभक्तको चित्र र मूर्तिमा जस्तो भयानक छ ! छर्लक्क छुट्टिइन्छ !!
राजनीतिक आँखाले भुँडीलाई हेर्नुपर्यो भने यो बढी प्रगतिशील देखिन्छ- पचास वर्ष अधिभन्दा आज पचास गुना बेसी भुँडीहरू रिक्त भए पनि बजारमा घुम्नु भाग्य ठान्छन् । कुनै बालक भुँडीविना जन्मेको कहीं छ के त ? जति बालक जन्मन्छन् उतिको ठेक्का लिए जस्तो छ । अतः राजनीति भुँडीलाई बालक-जनसंख्यामा राखेर अलग्गै बस्नु उचित ठान्छु ।
अब आर्थिक चश्माले भुँडीको व्याख्या गरौं- हप्ताभरि काम गरेर तीन रुपियाँ पाइन्छ, घरमा आठजना नानीहरू छन् । नानीहरू भएको त राम्रो हो, तर आपद के छ भने ती प्रत्येक नानीको छातीमुनि दुई खुट्टाका माझ झुण्डिएको छ एक एकवटा भुँडी । यस्तो रवाफले भुँडी बसेको छ, अहो ?
त आफैले नजानेको अर्थशास्त्र पर सारेर यो भुँडीलाई एउटा थियो सोफिस्टको आँखाले विचार गरौं- जब सात तत्त्वले बनेको यो शरीर एक दुई गर्दै क्रमशः सात स्तर नाघेर तल मसानघाटमा पुग्छ, त्यस बेला छायाशरीरले पनि चेतनशरीर छोडेर अन्तिम ‘जय गोर्खा’ भन्छ । अनि चेतन जड भएर ‘सप्लाई अफिस’ कुद्छ, तब यो भुँडी स्याप्प सुक्दै जान्छ, सुक्ता सुक्ता जब प्रथम स्तर स्वत शरीर तेस्रो मत्र्यलोकमा पुग्छ तब भुँडी बनाउने परमाणुहरू पछि टुक्रा टुक्रा भएर हिरोशिमामा पड्किन्छन् ।
परमाणुका अन्धभक्त थियोसोफिस्टहरूलाई एटम बमको थियोसोफिकल आलोचना गर्नमा छोडेर यो श्रीयुक्त भुँडीलाई सामाजिक दृष्टिले हेरौँः कुनै अछूत शरीरले पकाएको हलुवा बाहुन भँुडीमा पनि हजुवैको रूपमा पुग्न सक्छ, भुँडीले जातभात नमान्ने हुनाले महात्मा पेट भने सुहाउँछ, तर जनै यस्तो छ कि बाजेको राल सुकाएर कानमा झुण्डिन पुग्छ ! अस्तु । संसारलाई एकतामा ल्याउन सक्ने महात्मा भुँडीलाई सामाजिक आँखाले हेर्दा यो बाहुन बाजे एण्ड कम्पनी अनलिमिटेडलाई नचिमोटी भएको छैन ।
अब विभिन्न व्याख्याहरू छोडेर दिनैपिच्छे घट्ने दृश्य हेरौंः चौरस्तामा रिक्सावालहरू भुँडेहरूलाई कलेज पढ्ने साथीहरूले झैं फर्केर पनि हेर्दैनन् गानो दुख्न थालिहाल्छ ! फेरि कत्तिकै पटुकाले कसे पनि पित्तले भुँडी घरमा राखिछाड्न सकिन्न, झन् उकालो हिंड्नुपर्यो भने त चार्ली चैपलिनको नाक पिनास लागेर झर्छ ! साथीहरूमा भुँडे केटा प्यारो हुन्छ, भुँडे केटी फेल हुन्न ! फूलबजारदेखि दार्जीलिङ आउँदा घोडाको छातीले भूइँ छुन्छ भुँडे सराफी चडेको छ भने ।
भुँडीले तपाईंलाई नसुहाउँदो देख्छ भन्ने कुरो होइन, भुँडी व्यक्तित्व पनि हो । बजार, खेलतमासा, नाटक तथा सभामा भुँडे मानिसको भुँडीमा न सबै आँखा पर्छन्, तर ढाडमा पर्दैनन् । गोर्खालीहरूमा व्यक्तित्व बेसी स्त्री जातिको हुन्छ, अर्थात् गोर्खालीहरू कोही त अचाक्ली नै भन्ने लायक हुन्छन् । अतः यो भुँडी तबला, ढोलक वा अभिसाप मात्र नभएर धनी मान्छेहरूको साइनबोर्ड पनि हो ! तर पनि रितो भुँडीमा दाँत किटिएको राम्रै सुनिन्छ ! जे भए पनि, जस्तै भए पनि भुँडी चाहिने कुरो हो- यी भुँडीहरूले यू. एन्. ओ. खोलेकै दिन मात्र सरकार स्थायी रहला ।
०००
‘साझा निबन्ध’ (२०२६)
Subscribe
Login
0 Comments
Oldest






































