रमेश खकुरेलहोशियार !!!
अनेकतामा एकता, अद्वितीय उदाहरण
सहिष्णुता र शान्तिको, अतुलनीय उदाहरण
यो वीरभूमि पौरखीको, कर्मभूमि के भयो ?
यो देवभूमि, तपोभूमि, धर्मभूमि के भयो ?
यो पुण्यभूमिलाई बनाउने, युद्धभूमि होशियार !
कालचक्र आईरहेछ, घुमी घुमी, होशियार !!!
सुनेर खोक्रा भाषण, भोक मेटिने भए
नक्साका नदी हेरी, प्यास मेटिने भए
किन भरिन्न तिम्रो पेट, सधैं नै मुख बाउँछौ ?
किन विदेशी ऋणको भार, यो देशलाई बोकाउँछौ ?
बेईमान, लोभी, धनका कालहरू हो होशियार !!
देश बेच्न खोज्ने, नीच, दलालहरू हो होशियार !!
जात, भाषा, धर्मका निहुँमा लुछी देशलाई
वादका विवादमा, व्यर्थ मुछी देशलाई
भाइ भाइको रगतले, पोती आमाको मुहार
त्राहि त्राहि पराईसित, माग्न पारेर गुहार
लजाउने कोख आमाको, कपूतहरू हो होशियार !
बेपारी कात्रो मसाने भूतहरू हो होशियार !!!
नेपाल हाम्रो आन, मान, शान हो भनौं सबै
नेपाल हाम्रो ढुकढुकी र प्राण हो भनौं सबै
नेपाल हाम्रो धर्म र ईमान हो भनौं सबै
नेपालवाद मात्र हाम्रो गान हो भनौ सबै
चन्द्र सूर्य ध्वजले गर्छ, यै पुकार यै पुकार
नेपाल रहे पो नेपाली रहन्छौ हामी होशियार !!
नेपाल रहे पो नेपाली रहन्छौ हामी होशियार !!
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































