साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिष्णा विरहीको उपन्यास कृति ‘गरिमा’ लोकार्पित

प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, समालोचकहरू प्रमोद प्रधान र डा. शान्तिमाया गिरि, उपन्यासकार विरही, सम्पादक विमल भौकाजी लगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८० कात्तिक ४ । साहित्यिक पत्रकार सङ्घ (सापस)को आयोजनामा आज यहाँ आयोजित एक कार्यक्रममा उपन्यासकार बिष्णा विरहीको दोस्रो उपन्यास ‘गरिमा’ को लोकार्पण गरियो ।

प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, समालोचकहरू प्रमोद प्रधान र डा. शान्तिमाया गिरि, उपन्यासकार विरही, सम्पादक विमल भौकाजी लगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी. हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. के.सी.ले नेपाली साहित्यमा अहिलेको समयमा नेपालीहरूले भोगिरहेका समस्याहरू, देशमा विद्यमान विकृति र विसङ्गतिहरू एवम् सामाजिक सद्भावमा देखिएका खतराहरूको प्रस्तुति र चित्रण हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्षको आसनबाट राधेश्याम लेकालीले नेपाली साहित्यको सही इतिहास लेख्ने हो भने नेपालभित्र लेखिएका साहित्यलाई मात्रै अध्ययन गरेर हुँदैन, त्यसका लागि भारत र अन्य देशहरूमा लेखिइरहेका साहित्यको अध्ययन गरेर समेट्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

वरिष्ठ साहित्यकार एवम् समालोचक प्रमोद प्रधानले उपन्यासमा घटनाहरूको संयोजन, विविध पात्रहरूको प्रस्तुति र भाषाशैली महत्त्वपूर्ण भएको बताउँदै उपन्यासको उत्तरार्द्धभन्दा पूर्वार्द्ध सशक्त भएको धारणा राख्नुभयो । उहाँले उपन्यासको उत्तरार्द्धमा अलि फिल्मी प्रभाव देखिएको विचार राख्दै उपन्यासका दुई मूल पात्र भने उदाहरणीय महिला पात्रको रूपमा रहेको भनेर प्रशंसा गर्नुभयो ।

समालोचक डा. शान्तिमाया गिरीले घटनाहरूको तारतम्य मिलाउने कौशल उपन्यासकारमा प्रशस्त रहेको बताउनुभयो ।

पुस्तकका सम्पादक एवम् शारदा मासिकका सम्पादक विमल भौकाजीले यो उपन्यासबाट एउटा राम्रो चलचित्र बनाउन सकिने बताउनुभयो । उपन्यासकार बिष्णा विरहीले आफूले अढाई दशक अगाडि रक्सौलको डंकन अस्पतालमा देखेको एक बालिकालाई बिर्सन नसकेपछि अहिले सोही पात्रलाई लिएर उपन्यास लेखेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव विमला निरौलाले विदेशी भूमिमा बसेर साहित्य सिर्जनाका लागि समय निकाल्न अत्यन्त कठिन भएको अवस्थामा उपन्यासजस्तो कृति तयार गर्नु आफैंमा उदाहरणीय कार्य भएको भन्दै शुभकामना दिनुभयो ।

साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले स्वागत भाषण र गायिका ऋतु कँडेलले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रम कवि राजबाबु श्रेष्ठ सागरले संचालन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि के.सी.ले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियोे भने प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षले उपन्यासकार बिष्णा विरहीलाई टीका, दोसल्ला, माला र मेडल लगाइदिएर सम्मान गर्नुभएको थियो ।

साथै कार्यक्रममा प्रमुख अतिथि, समालोचकहरू र पुस्तकका सम्पादकलाई मायाको चिनो प्रदान गरिएको थियो । मायाको चिनो पाउनु हुनेमा प्रा. डा. सुरेन्द्र के. सी., उपन्यासकार बिष्णा विरही, सम्पादक विमल भौकाजी, समीक्षकहरु प्रमोद प्रधान र डा. शान्तिमाया गिरीलाई रहनु भएको थियो ।

कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपन्यास समाजका अध्यक्ष शंकर भारती, साहित्यकारहरु पवन आलोक, सन्तोष श्रेष्ठ, रत्न श्रेष्ठ, सरस्वती गौतमलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x