साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान

शम्भु–निर्मला कला–साहित्य समाजले यस वर्षदेखि नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र, गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा अति विशिष्ट योगदान दिने एक जना दीर्घसाधकलाई ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८० मङ्सिर २८ । वरिष्ठ कवि, गीतकार, गजलकार तथा गायक शम्भुकुमार मिलन र उहाँकी जीवनसँगिनी निर्मला रेग्मीको नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाजले यस वर्षदेखि नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र, गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा अति विशिष्ट योगदान दिने एक जना दीर्घसाधकलाई ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० बाट पहिलोपटक वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई सम्मानित तथा पुरस्कृत गर्न लागिएको जानकारी समाजबाट प्रकाशित विज्ञप्तिमार्फत प्रदान गरिएको छ ।

वि.सं. १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा जन्मिएर संस्कृतमा आचार्य गरी पत्रकारिता, साहित्य लेखन, समाजसेवा र नेपालको आधिकारिक इतिहासको खोजी कार्यमा सक्रिय रिसालका ‘साधुलाई शूली’ (जेलडायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘सुशीला भैरव’ (सहलेखन), ‘छानिएका रचना’, ‘उहिलेको नेपाल’लगायतका निबन्ध, संस्मरण तथा इतिहाससँग सम्बन्धित विभिन्न कृतिहरू प्रकाशित छन् ।

वरिष्ठ पत्रकारसमेत रहनुभएका रिसालले विभिन्न पत्रपत्रिका, रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम आदिका माध्यमबाट नेपाली समाजलाई सही सूचना दिएर सचेतताको सन्देश दिँदै आउनुभएको छ । यसरी नै विभिन्न लेख तथा अन्तर्वार्तामार्फत नेपालको आधिकारिक सिमाना तथा ऐतिहासिक तथ्यहरूका बारेमा स्पष्ट जानकारी दिँदै आउनुभएका ९६ वर्षीय रिसाल आज पनि नेपाल र नेपालीको भलाइका लागि निरन्तर समर्पित हुनुहुन्छ ।

रिसालले उल्लिखित विविध क्षेत्रमा प्रदान गर्नुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी नगद रु. २१,०००/- र ताम्रपत्रसहितको उक्त सम्मान तथा पुरस्कार प्रदान गरिन लागेकाे र सो सम्मान तथा पुरस्कार कीर्तिशेष मिलनको तेस्रो स्मृति दिवसका अवसरमा २०८० मङ्सिर ३० गते शनिवार, नेपाल प्रज्ञा–प्रतिष्ठान (पारिजात कक्ष), कमलादी, काठमाडौँमा आयोजना हुने स्मृतिविम्बमा शम्भुकुमार मिलन स्मृतिग्रन्थ विमोचन तथा सम्मान अर्पण समारोहमा प्रदान गरिने कुराको जानकारी समाजका अध्यक्ष प्रा.डा. देवी नेपालले विज्ञप्तिमार्फत दिनु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x