साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता यात्रामा राजधानीका सर्जकहरू शैलुङ जाँदै

यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा यात्रामा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त लगायत डेढ दर्जन  साहित्य कलाकर्मीहरू सहभागी हुनेछन् ।

Nepal Telecom ad

काठमाडौं, २०८० पुस ३ । साहित्यिक पत्रकार संघले दोलखाको शैलुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसँग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।

यस कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङ जाँदै हुनुहुन्छ । कविता यात्रामा सहभागी सर्जकहरुमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाश ढुंगेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहनु भएको छ ।

यसैगरी चर्चित गायकहरू नविन पौडेल, नरहरी प्रेमी, रितु कंडेल, गंगा भूर्तेल र बालनृत्यकार रन्जना थपलिया तथा संचारकर्मीहरू पुष्पा थपलिया, हेम थपलियालगायत हुनुहुन्छ । कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरुको सहभागीता रहनेछ ।

शैलुङ गाउँपालिका-८, भैँसे स्थानीय आयोजक रहेको यस कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती विश्वस्त हुनुहुन्छ ।

कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा “स्रष्टा घर“को शिलान्यास र ६ गते भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।

साहित्यिक पत्रकार संघले वि. स. २०४२ सालमा दोलखा जिरीमा कविता यात्राको आयोजना गरेको थियो ।

शैलुङ परिचय :

– शैलुङ ३४,०० मिटर उचाईमा अवस्थित महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च पर्वत हो ।

– शैलुङलाई पहाडहरूको ‘रानी पहाड’ पनि भनिन्छ । शैलुङ क्षेत्रमा १०८ प्रकारका जडिबुटीहरू पाइन्छ ।

– हिउँदमा प्रायः शैलुङको उच्चभाग हिउँले ढाकिएको हुन्छ ।

– शैलुङबाट गौरीशङ्कर हिमाल, गणेश हिमाल, जुगल हिमालका साथै अन्नपूणर्सहित मुलुकका प्राय हिमश्रृङखलाहरू र महाभारत पर्वतका माथिल्लो क्षेत्रका पहाड र पर्वतहरूको चित्ताकर्षक दृश्य देखिन्छ ।

– प्राकृतिक सौन्दर्यसँगै शैलुङ हिन्दु र बोद्ध, बोन धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल पनि हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा जात्रा (मेला) लाग्ने गर्दछ ।

– शैलुङडाँडाको एउटा ओढारमा – शैलुङेश्वर महादेव विराजमान छन् । शैलुङ्गेश्वर महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

– शैलुङ सम्बन्धि स्थानीयहरू माझ विभिन्न किवदन्तीहरू प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई ‘साङ्गेलुङ’ भनिन्थ्यो । पछि अपभ्रंश हुँदै शैलुङ रहन गयो । तामाङ भाषाको शब्द ‘सयलुङ’को नेपाली अर्थ हुन्छ – सय थुम्का । पछि ‘सयलुङ’लाई नै शैलुङ भनिन थालेको स्थानीय बुद्धिजीवीहरूको तर्क छ ।

– सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्यमा परेको स्थान मध्यको एक हो- शैलुङ ।

साहित्यिक पत्रकार संघको परिचय :
नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील रही आएको साहित्यिक पत्रकार संघको स्थापना २०२९ सालमा भएको हो ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका क्षेत्रमा यसले आफ्नो स्थापनाकालदेखि नै रचनात्मक क्रियाकलापहरु सम्पन्न गर्दै आइरहेको छ । यसले राष्ट्रको साहित्यिक तथा सांस्कृतिक गरिमा अभिवृद्धि गर्ने काममा अग्रसर हुँदै आएको छ ।

साहित्यिक पत्रकार संघले वि.सं. २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ । यस्तै कवितायात्रा, साहित्यिक वनभोज, आत्मवाचन कार्यक्रम, सम्मान अभिनन्दनलगायतका कार्यक्रमहरुसहित मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता, सापस साहित्यिक पत्रकारिता पुरस्कार, मुस्याचु पुरस्कार, इतिहास, संस्कृति अन्वेषण भूवन पुरस्कार, हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कारलगायतका पुरस्कार आदि प्रदान गर्दै आएको छ ।

यसले वि.सं. २०४६ देखि २०६४ सालसम्म गाइजात्रे कार्यक्रमको आयोजना, स्रष्टाहरुको सम्मान, अभिनन्दन, रथारोहणजस्ता कार्यक्रम गर्दै आएको छ । यस्तै कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिनलगायत विभिन्न स्रष्टाका कृति पनि प्रकाशन पनि प्रकाशन गर्दै आइरहेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x