साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा तिलकप्रसाद लुइँटेल अब हामी बीच रहनु भएन (अपडेट)

मृगौला सम्बन्धी रोगबाट ग्रसित भएर उपचार गराइरहेकै अवस्थामा शिक्षण अस्पताल, महाराजगञ्जमा आज बिहान ७ बजे तिलकप्रसाद लुइँटेल दिवङ्गत हुनु भएको जानकारी उहाँका सुपुत्र विभव लुइँटेलले दिनु भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८० पुस १० । चार वेद लगायत अनेकौं संस्कृत ग्रन्थहरूका अनुवादक तिलकप्रसाद लुइँटेल अब हामी बीच रहनु भएन ।

मृगौला सम्बन्धी रोगबाट ग्रसित भएर उपचार गराइरहेकै अवस्थामा शिक्षण अस्पताल, महाराजगञ्जमा आज बिहान ७ बजे तिलकप्रसाद लुइँटेल दिवङ्गत हुनु भएको जानकारी उहाँका सुपुत्र विभव लुइँटेलले दिनु भएको छ ।

गत शुक्रबारदेखि श्वासप्रश्वास समेत समस्या आएपछि उहाँलाई मनमोहनको आइसियु कक्षमा राखिएको थियाे । अवस्था सुधारोन्मुख नदेखिएकाले हिजो सोमबार भेन्टीलेटरमा स्थानान्तरण गरिएको थियो । शुक्रबारसम्म पनि आफूसँग लुइँटेलले ‘तपाईंहरूको साथ र सहयोगले म यो लडाइँ जित्छु, मसँग अझै दह्रो आत्मबल छ ।’ भन्नु भएको जानकारी दुर्गा अधिकारीले सञ्जाल मार्फत दिनु भएको थियो ।

यस अघि झन्डै एक महिनाददेखि नेपाल मेडिकल कलेज जोरपाटीको सघन उपचार कक्षमा रहनु भएका लुइँटेललाई शिक्षण अस्पताल महाजगञ्जमा स्थानान्तरण गरिएको थियो । त्यहीँ उहाँको निरन्तर मिगौलाको डायलसिस भैरहेको थियो । उहाँको एउटा मिर्गौला पूर्णतः फेल भएको र अर्को एउटा पनि राम्रोसँग फङ्सन नगरिरहेको चिकित्सकहरूले बताएका थिए ।

मिर्गौलासम्बन्धी उपचार अत्यन्तै खर्चिलो भएको र परिवारमा आर्थिक संकट आएको हुँदा उहाँलाई उपचारका निम्ति आर्थिक सहयोगको आव्हान गर्दै दुर्गा अधिकारी भमरकोटेको अगुवाइमा सञ्जालमा अभियान सञ्चालन गरिएको थियो । धेरै स्रष्टाहरू र केही साहित्यिक संस्थाहरूले उहाँको स्वास्थ्यलाभको कामना गर्दै यथासक्य आर्थिक सहयोग प्रदान गरेका थिए । त्यही सहयोगको बलमा उहाँको उपचार खर्च चलिरहेको थियो ।

उहाँको पार्थिव शरीर अस्पतालले परिवारलाई हस्तान्तरण गरिसकेको छ । दिउसो ११ बजेपछि पशुपति आर्यघाटमा उहाँकाे अन्तिम संस्कार गरिने भएको कुरा लुइँटेलका परिवारजनले बताउनु भएको छ ।

तिलक लुइँटेल गत २ वर्षदेखि फित्काैली डटकममा हँस्यौली स्तम्भ अन्तर्गत नियमित हास्य सिर्जना लेखिरहनु भएको थियो । उहाँको उपचारमा सहयोग पुगोस् भनेर उपचार सहयोग कोषमा फित्कौलीले रु. २ हजार प्रदान गरेको थियो । लुइँटेलको यो असामयिक निधनमा फित्कौली परिवार हार्दिक शब्दश्रद्धा व्यक्त गर्दछ र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

अपडेट
चार वेदका अनुवादक तथा स्रष्टा तिलकप्रसाद लुइँटेलको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा सम्पन्न भयो । अन्तिम संस्कारका निम्ति शव दिउसो १२ बजे पुर्‍याइसके पनि झापाबाट उहाँकी दिदी आउँदै गरेको खबर पाएर संस्कार प्रक्रिया केही ढिलो भएको थियो ।

कीर्तिशेष लुइँटेलका सुपुत्र विभव लुइँटेलले दागबत्ती दिनु भएको थियो । लुइँटेलको पार्थिव शरीर अस्पतालबाट पशुपति आर्यघाट पुर्‍याएपछि अन्तिम दर्शन गरी श्रद्धा व्यक्त गर्न उल्लेख्य सङ्ख्यामा भाषा साहित्यमा सक्रिय संस्थाका प्रतिनिधि एवं स्रष्टा महानुभावहरू पशुपति परिसरमा पुगेका थिए ।

२०१९ साल वैशाख १ गते जन्मनु भएका लुइटेलको ६१ वर्षको उमेरमा निधन भएको हो।   ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्तलगायत संस्कृत भाषाका कृति नेपालीमा अनुवाद गर्नुभएको छ।  उहाँले अनुवाद गर्नुभएका चार वेद नेपाली भाषा र साहित्य क्षेत्रका चर्चित कृति हुन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x