फित्काैली डटकमवेदविज्ञ तिलकप्रसाद लुइँटेलप्रति श्रद्धाञ्जली सभा
चारै वेद लगायत दर्जनौं संस्कृत ग्रन्थका अनुवादक तिलकप्रसाद लुइँटेल कीर्तिशेष हुनु भएकाे बाह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरियाे ।

काठमाडाैं, २०८० पुस २१ । राष्ट्रिय सुसेली मञ्च, नेपालद्वारा मञ्चका सल्लाहकार तथा चारै वेद लगायत दर्जनौं संस्कृत ग्रन्थका अनुवादक तिलकप्रसाद लुइँटेल कीर्तिशेष हुनु भएकाे बाह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरियाे ।
विगत दुई महिनादेखि अस्वस्थ हुनु भएर, नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलको सघन उपचार कक्ष ICU मा र अन्तिम दुई हप्ता टिचिङ अस्पताल महाराजगन्जमा उपचार गराइरहनु भएकोमा गत पुस १० गते उहाँकाे असामयिक निधन भएको थियो ।
बाह्रौं दिनको पुण्य तिथिमा उहाँलाई सम्झिंदै सुसेली मञ्चले अनलाइन श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । कार्यक्रममा विशिष्ट अतिथिहरू लगायत उपस्थित अतिथि कविज्यूहरूले देशले एउटा मूल्यवान अनुवादक गुमाएको र राष्ट्रिय स्तरमा नै उहाँको सम्मानमा कार्यक्रमहरू हुनुपर्छ, नेपालमा नेपाली भाषा बोल्ने पढ्ने जो कोहीले पनि तिलकप्रसाद लुइँटेलका बारेमा थाहा पाउनु र चिन्नु पर्छ भन्ने आवाज उहाँहरूका सुसेली, रचना र श्रद्धाञ्जली मन्तव्यमा प्रष्ट सुनिएको थियो ।
अनुवादक तथा आध्यात्म चिन्तक लुइँटेललाई उहाँका चार वेद लगायत दर्जनौं अनुवादित ग्रन्थहरूले अजर अमर बनाइसकेका भए तापनि यी कृतिहरूको प्रचारप्रसार हुनु पूरै राष्ट्र र विश्वकै लागि अत्यन्तै लाभदायक हुने हुनाले उहाँको स्मृतिमा धेरै कार्यक्रमहरू गरिनुपर्ने कुरामा सबैले जोड दिनुभएकाे थियो ।
साँच्चै नै जन्मनु मर्नु जीवनका दुई पाटा हुन् र यसलाई कसैले पनि टार्न सक्दैन, त्यसैले हामी जीवितहरूले उहाँका अत्यन्तै महत्त्वपूर्ण साकारात्मक सन्देशहरूलाई अनुशरण र अनुकरण गरेर अघि बढ्नुको विकल्प छैन । उहाँलाई सधैंभरिका लागि सम्झिने वातावरणको सिर्जना गरौँ ।
सुसेली मञ्चको यो अठ्चालीसौं कार्यक्रमको सभापतित्व अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन मञ्चकी सल्लाहकार चन्द्रा न्यौपानेले गर्नुभएको थियो ।
वरिष्ठ कवि कलानिधि दाहाल, गंगा लिगल, डा. ठाकुरमोहन श्रेष्ठ र डा. शैलेन्दुप्रकाश नेपालको विशिष्ट आतिथ्यमा भएको यो कार्यक्रममा कविहरू क्रमश: लक्ष्मीप्रसाद मिश्र, सुचिता काफ्ले, रामशरण न्यौपाने, उत्तम विचार भेटुवाल, चन्द्रावती अधिकारी, पवनकुमार बुढाथोकी, अम्बिका अधिकारी, घनश्याम पौडेल, सविता केसी, दुर्गाप्रसाद सिग्देल, सुरेशचन्द्र घिमिरे, विमल अर्याल, वासुदेव ठकुरी, द्वारिका कुइँकेल, सुधा वास्कोटा ढकाल, भगवती दवाडी लगायत २५ जना कविहरूले आ-आफ्ना रचना र मन्तव्य मार्फत विद्वान् गुरु तिलक लुइँटेलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
०००
– दुर्गा अधिकारीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































