फित्काैली डटकमजनगायक रामकृष्ण दुवाललाई ‘मिश्र स्मृति पुरस्कार-२०८०’ अर्पण
गीतकार, सङ्गीतकार, गायक, नेवारी लोक सांस्कृतिक संगीत विज्ञ, नेवारी लोकबाजा विज्ञ एवं अनुसन्धानकर्ताका रूपमा परिचित रामकृष्ण दुवालले विभिन्न भाषाभाषीका गीतमा सङ्गीत एवं स्वर दिनुभएको छ ।

काठमाडाैं, २०८० फागुन ६ । वरिष्ठ जनगायक एवम् संगीतकार रामकृष्ण दुवाल युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० बाट सम्मानित हुनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दुवाललाई प्रतिष्ठानका तर्फबाट रु. ३१ हजारको नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
राणा शासनदेखि पञ्चायती व्यवस्थाको अन्त्यसम्म स्वछन्दतावादी धारा र प्रगतिवादी धारामा कलम चलाएका मिश्रको नाममा स्थापित सो पुरस्कार प्रत्येक वर्ष विशिष्ट साहित्यकार, कलाकार एवं साहित्यिक, सांस्कृतिक संघ संस्थाहरूमध्ये एकलाई प्रदान गरिँदै आएको छ ।
रामकृष्ण दुवाल सो पुरस्कार प्राप्त गर्ने ३०औँ प्रतिभा हुनुहुन्छ । अघिल्लो वर्ष उक्त पुरस्कार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिएको थियो ।
गीतकार, सङ्गीतकार, गायक, नेवारी लोक सांस्कृतिक संगीत विज्ञ, नेवारी लोकबाजा विज्ञ एवं अनुसन्धानकर्ताका रूपमा परिचित रामकृष्ण दुवालले विभिन्न भाषाभाषीका गीतमा सङ्गीत एवं स्वर दिनुभएको छ ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार कान्छाकुमार (केके) कर्मचार्य, कवि एवं गीतकार डा. विजय सुब्बा, कवि बासुदेव अधिकारी, मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फडीन्द्रराज निरौला, वरिष्ठ उपाध्यक्ष प्रा. डा. लेखप्रसाद निरौला र महासचिव नन्दु उप्रेतीले कवि युद्धप्रसाद मिश्र र पुरस्कृत प्रतिभा रामकृष्ण दुवालका व्यक्तित्व र सिर्जनाका विविध आयामका बारेमा चर्चा गर्नुभएको थियो
बालकवि विभूति अधिकारीले कवि मिश्रद्वारा रचित कविता वाचन गर्नुभएको थियो । डा. बालचन्द्र मिश्रले युद्धप्रसाद मिश्र र रामकृष्ण दुवालसम्बन्धी रचना वाचन गर्नुभएको थियो भने पुरस्कृत प्रतिभा दुवाल र उहाँका सुपुत्र आशिष् दुवालले युद्धप्रसाद मिश्रद्वारा रचित गीतलगायतका केही गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest










































