सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डा. महेश मास्केलाई पारिजात स्मृति सम्मान समर्पण

कार्यक्रममा डा. मास्केलाई प्रदान गरिएको नगद राशिमा उहाँले सोही बराबरको रकम थप गरी साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा सहयोग प्रदान गर्नुभयो ।

Nepal Telecom ad

मकवानपुर २०८१ वैशाख ५ । पारिजात स्मृति सम्मान २०८० बाट डा. महेश मास्केलाई सम्मानित गरिएको छ । ३१औँ पारिजात स्मृति दिसको अवसरमा बुधबार साहित्यकार तथा स्वास्थ्यसेवी मास्के सम्मानित हुनु भएको हो ।

साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्था हेटौँडा १० नम्बर वडा कार्यालयसँगको सहकार्यमा १५ हजार ५ सय ५५ रुपैयाँ राशिको सम्मान प्रदान गरिएको हो । उहाँ पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्षका साथसाथै पारिजातको व्यक्तित्व र कृतित्वको प्रवर्धनमा सक्रिय हुनुहुन्छ ।

हेटौँडा उपमनपा १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङ्ग प्रमुख अतिथि रहनु भएको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष रहनु भएको थियो ।

वडा कार्यालयनजिकै बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरी सुरू भएको कार्यक्रममा डा. मास्केलाई प्रदान गरिएको नगद राशिमा उहाँले सोही बराबरको रकम थप गरी साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा सहयोग प्रदान गर्नुभयो ।

चीनका लागि पूर्व राजदूत मास्के भोकका कैदीहरूसँग कविता सङ्ग्रह २०४१ सालमा प्रकाशन गर्नु भएको छ ।

पारिजातको व्यक्तित्वबारे नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियबन्दनाले पारिजातको जन्म, लेखन, राजनैतिक चेतना, लेखनकला, प्रकाशित पुस्तक आदिबारे बोल्नुभएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सम्मानित व्यक्तित्व मास्केको व्यक्तित्वबारे चर्चा गर्नु भयो ।

सङ्गमका सहसचिव भवानी तिमल्सिना र सदस्य रजनी पौडेलले पारिजातका कविताका साथै जनार्दन खनालले पारिजातप्रति समर्पित कविता वाचन गर्नुभयो ।

मन्तव्यका क्रममा वडाअध्यक्ष तामाङले भन्नुभयो- “राज्यले गर्नुपर्ने काम साहित्यिक सङ्घसंस्थाले गरिरहेको छ । यो सहयोग र समर्थन निकै खुसीको विषय हो ।”

सङ्गम अध्यक्ष बर्तौलाले पारिवारिक व्यक्ति सुकन्यापछिको अर्को व्यक्तित्व मास्के नै पारिजातको सबैभन्दा नजिकको व्यक्तीका रूपमा रहेको बताउनुभयो ।

आदर्श टोल विकास संस्था र १० नं. वडाद्वारा स्थापित रू. १ लाख ५० हजारको अक्षयकोषमार्फत् हरेक २ वर्षमा बैशाख ५ गते पारिजात स्मृति सम्मान प्रदान गर्ने गरिन्छ । पारिजातकी बहिनी सुकन्या, राल्फा आन्दोलनका सहयात्री रामेश सो सम्मानले यसअघि नै सम्मानित भइसक्नुभएको बताउनुभयो ।

पारिजातको ३१औँ स्मृति दिवसको अवसरमा १० नं. वडा कार्यालयको हलमा आयोजित कार्यक्रममा सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत तथा सचिव मनोज पोखरेलले कार्यक्रमलाई सहजीकरण गर्नु भएको हो ।

०००
– नवसाहित्य अनलाइनका लागि संप्रस पाैडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad