
हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ अतिरिक्त पाठ्यक्रममा पढाइयाे
समाराेहमा पुरस्कृत छात्रछात्रालाइ रकम हस्तान्तरणपछि खाइराइड हास्यव्यङ्ग्य कृतिलाइ यस शैक्षिक सत्रकाे अतिरिक्त पाठ्यक्रममा राखेर पठनपाठन गराएकाेमा स्कूल परिवारप्रति लुइँटेलले आभार व्यक्त गर्नु भएकाे थियाे ।

काठगमाडाैं, २०८१ भदाै २६ । पठन संस्कृतिको विकास, भाषा र साहित्यको श्रीवृद्धि तथा सम्वर्धन र साहित्यकारहरूको सम्मानका लागि डियरवाक सिफल स्कुलले नियमित रूपमा वर्षमा १२ वटा नेपाली र १२ वटा अङ्ग्रेजी भाषाका गरी २४ वटा साहित्यिक पुस्तकहरू विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउँदै आएकाे छ ।
साथै हाइ स्कुल (कक्षा ९-१२) का विद्यार्थीहरूलाई पुस्तक अध्ययनपश्चात् पुस्तकानुभूति/ पुस्तक समीक्षा लेखनमा पनि जाेड दिँदै आएकाे छ । यसका अतिरिक्त साहित्यिक कृतिहरूको लेखन र प्रकाशनसमेत गराउँदै आएको छ । समय समयमा साहित्यिक क्षेत्रमा समर्पित साधकहरूलाई आमन्त्रित गरी विद्यार्थीहरूमाझ अन्तरक्रिया समेत गराउँदै आएको छ ।
सोही सन्दर्भमा माध्यमिक तह कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरूले श्रावण महिनामा आदरणीय श्रष्टा श्री राजेन्द्र कार्कीकृत हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह खाइराइड अध्ययन गर्ने अवसर प्राप्त गरे ।
यसै मेसाेमा विद्यार्थीहरूकाे लेखनबाट प्रभावित भएर उत्कृष्ट पुस्तक समीक्षा लेख्ने छात्रछात्रालाइ पुरस्कृत गर्ने याेजना तय भएकाे थियाे । हाइस्कुल तहकाे ९, १०, ११ र १२ कक्षामा अध्ययनरत २ सय जना विद्यार्थीहरूबाट डियरवाक सिफल स्कुल नेपाली भाषा विभागका शिक्षकहरूले छात्रछाद्वारा लेखिएका पुस्तक समीक्षाहरू चयन गरी समकालीन हास्यव्यङ्ग्यका चर्चित श्रष्टा लक्ष्मण गाम्नागे र फित्काैली अनलाइन मिडियाका प्रधान सम्पादन नरनाथ लुइँटेललाई जिम्मा लगाइएकाे थियाे । उहाँहरूकाे मूल्याङ्कनले क्रमशः अमू शाक्य, सम्पदा पाैडेल र सम्पदा सापकाेटाका समीक्षात्मक अनुभूतिहरू क्रमश प्रथम, द्वितीय र तृतीय घाेषित भएका थिए ।
उत्कृष्ट घाेषितलाई क्रमशः जनही रू. ५ हजार, रू. ३ हजार, रू. २ हजार र बाँकी ८ जनालाई रू १ हजारका दरले नगद पुरस्कार वितरण गरिएकाे थियाे ।
कार्यक्रममा फित्काैली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेल प्रमुख अतिथि रहनु भएकाे संक्षिप्त समाराेहमा पुरस्कार वितरण गरिएकाे हाे ।
समाराेहमा पुरस्कृत छात्रछात्रालाइ रकम हस्तान्तरणपछि खाइराइड हास्यव्यङ्ग्य कृतिलाइ यस शैक्षिक सत्रकाे अतिरिक्त पाठ्यक्रममा राखेर पठनपाठन गराएकाेमा स्कूल परिवारप्रति लुइँटेलले आभार व्यक्त गर्नु भएकाे थियाे ।
उहाँले समीक्षात्मक टिप्पणीसहित कृतिबारे आफ्ना सुन्दर अनुभूति अभिव्यक्त गर्ने छात्रछात्रालाइ धन्यवाद दिँदै यी अनुभूतिहरू क्रमश फित्काैली डटकममा प्रविष्ट गर्ने जानकारी पनि दिनु भएकाे थियाे ।
मन्तव्यकाे अन्तमा उहाँले प्रस्तुत गर्नुभएकाे हास्यव्यङ्ग्यात्मक कविता सुनेर छात्रछात्रा आल्हादित भएका थिए । पुरस्कृत छात्रछात्राले पुस्तक र समीक्षाका विषयमा आफ्ना अनुभव पनि सुनाउनुभएकाे थियाे ।
कार्यक्रमकाे समापन डियरवाक सिफल स्कुलका नेपाली भाषा विभाग प्रमुख तेज काफ्लेले पठन संस्कृति विकासका लागि विद्यालयले गरेका गतिविधि एवम् खाइराइड पुस्तक र समीक्षासँग जाेडिएका अनुभूतिहरू सुनाउनुभएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest