फित्काैली डटकमचक्रपाणी स्मारक प्रतिष्ठानद्वारा डा. भट्टराई सम्मानित, शिवराज जोशीको कथा प्रथम
राष्ट्रव्यापी कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज जोशी प्रथम हुनुभएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले आयोजित उक्त प्रतियोगितामा जोशीको ‘सन्तानको फोटो’ कथा प्रथम भएको हो । जोशीलाई कार्यक्रममा नगद ३० हजारसहित पुरस्कृत गरियाे ।

भक्तपुर, २०८१ कार्तिक २० । वरिष्ठ साहित्यकार, प्रसिद्ध लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित हुनुभएको छ । भट्टराईलाई चक्रपाणी स्मारक प्रतिष्ठानले चक्रपाणी स्मरण पुरस्कार-२०८१ ले सम्मान गरेको हो । प्रा.डा. भट्टराईलाई नगद २० हजारसहित सम्मान गरिएको थियो ।
प्रतिष्ठानले चक्रपाणी चालिसेको जन्मस्थान सूर्यविनायक नगरपालिका- ५, कटुञ्जेस्थित चक्रपाणीको प्रतिमास्थलमा आयोजित कार्यक्रममा जलस्रोत, सीमा एवम् प्रशासन विद, पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा ढुंगेलले नेपाली साहित्य पनि विश्वस्तरको भएको बताउँदैं साहित्यमा रविन्द्रनाथ टेगोरले नोवेल पुरस्कार जिते जस्तै नेपाली साहित्यकारले पनि जित्ने अपेक्षा राख्नुभयो । उहाँले अहिलेका नयाँ कथाकारहरूले पुराना कथाहरूको अध्ययन गरेर त्यस्तै उत्कृष्ट कथा नेपाली साहित्यलाई दिनुपर्ने सुझाव समेत दिनुभयो ।
सो अवसरमा वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा. डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गर्दै भट्टराईले नेपाली साहित्यलाई विश्वसामू चिनाउन अहम भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व भट्टराईले चक्रपाणी स्मरण सम्मानले आफूले जीवनमा नेपाली साहित्यमा केही योगदान गरेको अनुभूति भएको प्रतिक्रिया दिनुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानले सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित सार्वजनिक र नीजि स्रोतबाट सञ्चालित विद्यालयमा अध्ययन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० मा नेपाली विषयमा सर्वाधिक अंक ल्याउने एक छात्र र एक छात्रालाई नगद ५ हजारसहित वैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार २०८० बाट पुरस्कृत गरिएको थियो ।
वरिष्ठ साहित्यकार बैजनाथ चालिसेले आफू र आफ्ना धर्मपत्नी शुभद्रा चालिसेको नाममा स्थापना गरेको सो पुरस्कार प्राप्त गर्ने छात्र कटुञ्जेस्थित युनिटी इङ्गलिस स्कुलका आशिष थापा हुन भने छात्रामा दधिकोटस्थित मोर्डन स्कुलका समिरा माकजू रहेका छन् ।
कार्यक्रममा १० जना स्रष्टाहरूले आ-आफ्ना कविता वाचन गरेका थिए । साथै प्रतिष्ठानले आयोजित राष्ट्रव्यापी कथा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने कथाकारहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । साथै कथा प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट ३० वटा कथालाई समेटेर तयार गरेको कथासङ्ग्रह ‘साहित्य वार्षिक चक्रपाणि’को लोकर्पण समेत गरिएको थियो ।
राष्ट्रव्यापी कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज जोशी प्रथम हुनुभएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले आयोजित उक्त प्रतियोगितामा जोशीको ‘सन्तानको फोटो’ कथा प्रथम भएको हो । जोशीलाई कार्यक्रममा नगद ३० हजारसहित पुरस्कृत गरियाे ।
जोशीको कथा ‘सन्तानको फोटो’मा संसारभरि बढिरहेको बुढ्यौली, निर्जन बन्दै गएको गाउँबस्ती र बौद्धिक पलायनले जर्जर नेपालको जीवन्त कथा बोकेको प्रतिष्ठानका सदस्य सचिव एवम् कथा प्रतियोगिताका प्रधान सम्पादक रामगोपाल आशुतोषले बताउनुभयो ।
प्रतियोगितामा मनीषकुमार शर्मा ‘समित’ दोस्रो हुनुभयो । उहाँको बालमनोविज्ञानमा आधारित कथा ‘मैले नभित्राएकी बुहारी’ले दोस्रो स्थान प्राप्त गरेको हो । उक्त कथामा ढिलो स्वास्थ्य उपचारका कारण गम्भीर बिरामी भएकी एक बालिकाको परम्परागत उपचार वा धामीझाँक्रीको चक्करमा मृत्यु भएको घटनालाई कथाको रुपमा प्रस्तुत गरेको छ । कथाकार समितले नगद २० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी रुपक अलङ्कार तेस्रो हुनुभयो । उहाँको ‘बङ्गाली बाबा’ कथाले तेस्रो पुरस्कार प्राप्त गरेको हो । बङ्गाली बाबामा साधुसन्यासीको भूत र वर्तमानको रोचक कथावस्तु समेटेको छ । कथाकार अलङ्कारले नगद १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा कथाकार प्रकाश नेपाली र अनिता पन्थीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । प्रकाशको ‘मेलम्ची कहिले सुक्छ सरकार ?’ र अनिताको ‘जुगुम्सा’ले सान्त्वना पुरस्कार जितेको हो । दुवै जनाले प्रोत्साहनस्वरुप जनही ५/५ हजार रुपैंया पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा पुरस्कृत कथाकारहरूलाई जोशीलाई वरिष्ठ साहित्यकार, प्रसिद्ध लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, जलस्रोत, सीमा एवम् प्रशासन विद, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेललगायतले पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा प्रतियोगितामा सहभागी कथामध्ये उत्कृष्ट ३० वटा कथालाई समेटेर तयार गरेको कथासङ्ग्रह ‘साहित्य वार्षिक चक्रपाणि’ लोकार्पण गरिएको थियो ।
०००
समाचार श्राेत : न्युज अफ डटकम
Subscribe
Login
0 Comments
Oldest






































