फित्काैली डटकमश्रीओम श्रेष्ठ ‘रोदन’को निबन्धसंग्रह ‘अभिवन्द्य’ को तेस्रो संस्करण सार्वजनिक
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको एक कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान, निबन्धकार 'रोदन'लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे।

काठमाडौं, २०८१ चैत ११ । निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्वारा लिखित व्यक्ति निबन्धसंग्रह ‘अभिवन्द्य’ को तेस्रो प्रकाशन सार्वजनिक भएको छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको एक कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान, निबन्धकार ‘रोदन’लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे।
उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा वरिष्ठ समालोचक गौतमले भने- ‘पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो दुस्साहस श्रीओम श्रेष्ठ रोदनले गरेका छन् । अभिवन्द्य मान्छे पढेर निस्केको निबन्ध कृति हो । भन्न सकिन्छ नयाँ शैलीको लगभग श्रेष्ठले आविस्कार गरेका छन्।’
क्रियाविना वाक्यको प्रयोगले पनि निबन्ध राम्रा छन् भन्दै उनले नेपाली निबन्ध साहित्यमा यो शैलीको विकास अभिवन्द्यले प्रयोग गरेको बताए । रोदनले धेरै स्रष्टाहरुको अनुद्घाटित तथ्यलाई निबन्ध मार्फत बाहिर ल्याएको पनि प्रा.डा. गौतमले बताए ।
शुभकामना मन्तव्य दिंदै समालोचक प्रधानले सरल भाषाशैलीमा मीठो ढंगले आएका निबन्धहरुले सबै पाठकको माया पाउने बताए । उनले आफ्नो बारेमा पनि उक्त कृतिमा एउटा निबन्ध परेको बताउँदै सोही कृति सार्वजनिक गर्न पाउँनु सुखद भएको भन्दै सफलताको निम्ति शुभकामना दिए ।
अभिवन्द्यका स्रष्टा श्रीओम श्रेष्ठ’रोदन’ले कृतिको रचनागर्भको बारेमा जानकारी दिए । उनले भने- ‘भोलि के हुन्छ भनेर भन्न सक्दिन।शालिक र स्मृतिग्रन्थप्रति उति साह्रो विश्वास पनि छैन । त्यसैले जिउँदै सम्मान गर्ने र सम्मानग्रन्थ निकाल्नु पर्दछ।’ आफूले आजसम्म संगत गरेका मान्छे खराव नभएको चर्चा गर्दै उनले जीवनमा आफ्नो कमाई भनेकै साथीभाइ भएको बताए ।
राममणि रिसालको निबन्ध पढेर त्यसको उत्प्रेरणाले निबन्ध लेखनमा लागेको बताउँदै उनले लेखनीमा तेजेश्वर बावु ग्वँगको केही प्रभाव परेको बताए ।
अर्का वक्ता समीक्षक प्रदीप सापकोटाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सामिप्यता, उठबस, भोगाइ, सरसंगत, सहकार्य, यात्रा र उनीहरुका योगदानलाई निजात्मक अनुभूतिको चास्नीमा मज्जैले घोलेर लेखिएका व्यक्ति निबन्धहरु पठनीय भएको बताए।
उनले भने-‘निबन्ध काव्यात्मक जस्तो मीठासपूर्ण छ । सत्कर्म गर्नेहरुपूति कृतिले वन्दना गरेको छ । सरल भाषाले निबन्धको प्राण भरेको छ। ‘अभिवन्द्यले परम्परावादी निबन्धकारिता तोडेको पनि उनले बताए । निबन्धले आफु मज्जैले तानिएको बताउँदै उनले निबन्धसंग्रह जानकारीमूलक पनि रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाको बारेमा जानकारी दिंदै केही गरौं भन्ने भावनाले प्रतिष्ठानको स्थापना गरिएको बताए ।
प्रतिष्ठानका कोषाध्यक्ष तारा केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कवि एवं वरिष्ठ सञ्चारकर्मी ठाकुर बेलवासेले गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई सदस्य पूर्णबहादुर श्रेष्ठ’ह्रदयङकृत’ले धन्यवाद ज्ञापन गरेका थिए ।
०००
– प्रदीप सापकाेटाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































