साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य कृति लोकार्पणको नयाँ शैली : डोकाबाट झिकेर सार्वजनिक

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न समारोहको सभाध्यक्षता फित्कौलीका सम्पादक नरनाथ लुइँटेल र प्रमुख अतिथ्य डा. गोविन्दराज भट्टराईले गर्नु भएको थियो । अन्य अतिथिहरूमा नरेन्द्रराज पौडेल, मुकुन्द आचार्य, चट्याङ मास्टर, सिस्नुपानी अध्यक्ष लक्ष्मण गाम्नागे लगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडौं, २०८२ वैशाख २३ । फित्कौली डटकम तथा फित्कौलीको खित्कौली युटुव च्यानलको आयोजनामा सम्पन्न फित्कौलीको खित्कौली सभा– ४ समारोह बिच भोजराज रेग्मी मुखालेका दुई हास्यव्यङ्ग्य कृति लोकार्पण गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न समारोहको सभाध्यक्षता फित्कौलीका सम्पादक नरनाथ लुइँटेल र प्रमुख अतिथ्य डा. गोविन्दराज भट्टराईले गर्नु भएको थियो । अन्य अतिथिहरूमा नरेन्द्रराज पौडेल, मुकुन्द आचार्य, चट्याङ मास्टर, सिस्नुपानी अध्यक्ष लक्ष्मण गाम्नागे, कृतिकारकी आमा टेककुमारी, पत्नी लक्ष्मी रेग्मी लगायत हुनुहुन्थ्यो ।

एक मिनेटसम्म झाँक्रीको ढोलढ्याङ्ग्राे  बजेपछि आरम्भ भएको कार्यक्रममा फित्कौली मास्टर लुइँटेलले आगन्तुकहरूलाई हास्यात्मक अभिव्यक्तिका साथ स्वागत गर्नु भयाे । त्यसपिछ प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गर्नु भएको थियो ।

प्रमुखअतिथि र समीक्षकद्वयलाई फित्कौलीको फेरौटो फेराउने भन्दै एकुन्टा गम्छा ओढाएपछि लोकार्पणको मूल काम शुरू भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. गोविन्दराज भट्टराईले हास्यव्यङ्ग्यमा मुखालेको उपस्थिति स्वागतयोग्य रहेको बताउँदै हास्यव्यङ्ग्यको हैसियत उठाउन फित्कौलीले गरिरहेको प्रयत्न प्रभावकारी हुँदैगएकामा आफू हर्षित भएको उल्लेख गर्नुभएको थियो ।

कृतिकार स्वयम्‌ले दर्शकदीर्घाबाट डोकोमा भारी बोकेझै बोकेर मञ्चमा पुर्‍याइएका दुवै कृतिहरू भारी उधिनेर प्रमुख अतिथि र अतिथिहरूद्वारा बाँडचुँड गरी सामुहिक लोकार्पण गरियो । अभिनयात्मक ढङ्गले गरिएको यस किसिमकाे लोकार्पण शैली निकै नौलो र मनोरञ्जक थियो । दुवै कृति फित्कौली अनलाइन मिडियाबाट प्रकाशित भएका हुन् ।

लोकार्पित दुई कृतिमध्ये ‘औडाहा डटकम’ कवितासङ्ग्रहमाथि समीक्षक डा. रमेश शुभेच्छुले टिप्पणी गदै कवितामा मुखालेको मुख मज्जैसँग चलेको बताउनु भयो । उहाँले एकै पटक जुम्ल्याहा कृति दिनु भएकामा मुखालेलाई डबल बधाई छ भन्नुभएको थियो ।

त्यसै गरी आफूलाई फुइँडाक्टर भनेर चिनाउने डा. नवराज खतिवडाले लोकार्पित अर्को कृति ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ आख्यानात्मक सङ्ग्रहमाथि समीक्षा गर्नुभएको थियो । उहाँको समीक्षा ओभरहेड प्रोजेक्टर प्रविधिमा आधारित थियो । स्रोताहरूसँग संवाद र प्रश्न राख्दै गरिएको उहाँको समीक्षा प्रस्तुतिमा स्रोताहरू रमाएका थिए ।

कार्यक्रमको बिचबिचमा हास्यव्यङ्ग्य सिर्जनाहरूको प्रस्तुति गरिएको थियो । चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, डा. बमबहादुर जितालीले कविता सिर्जना सुनाउनु भयो भने थरेन्द्र बरालले प्यारोडी गीत प्रस्तुत गर्नु भएको थियो । अनिल पौडेलले मुखालेको लोकार्पित कृतिबाट व्यङ्ग्य कविता सुनाउनु भयो । वविता ढकाल र जनक घिमिरेलाई प्यारोडी गीत प्रस्तुतिका निम्ति मञ्चमा बोलाए पनि चलत्रिका गीत प्रस्तुत गरेपछि उद्घोषक सरोज घिमिरेले आक्रामक व्यङ्ग्य गर्नु भएको थियो ।

सिस्नुपानीका ख्यातिप्राप्त उद्घोषक सरोज घिमिरेद्वारा सञ्चालित मनोरञ्जक कार्यक्रमको अन्त्यतिर डिल्लीप्रसाद मूलतिहुनले कृतिका लेखक मुखाले र फित्कौलीका सम्पादक लुइँटेललाई एकएकवटा फर्सी पुरस्कार दिँदै फर्सीकै कविता सुनाउँदा प्रेक्षालयभरी हाँसो गुञ्जिएको थियो ।

राजधानीमा रहेका हास्यव्यङ्ग्यङ्ग्यमा रूचि राख्ने स्रष्टा र द्रष्टाहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा भोजराज रेग्मीले अतिथि एवम् सहभागी सबैप्रति कृतज्ञता जाहेर गर्दे आफ्नो कविता सिर्जना प्रस्तुत गर्नु भएको थियो ।

यस अघिका ३ वटा फित्कौली सभामा कार्टुनिस्ट राजेश मानन्धरका कार्टुनहरूको प्रदर्शनी पनि हुने गरेकामा राजेश केही महिनाका निम्ति अस्ट्रेलिया पुगेका कारण यसपटक कार्टुन प्रदर्शनी भने छुटेको थियो ।

फित्काैलीकाे युटुव च्यानल र फित्काैली डटकमबाट पूरै कार्यक्रम प्रत्यक्ष प्रशारण गरिएकाे थियाे ।

०००

फित्कौली डटकमका लागि गरिमा लुइँटेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x