फित्काैली डटकममासिक कथावाचन कार्यक्रमको २० औँ शृङ्खला सम्पन्न
स्वागत मन्तव्य दिँदै सञ्चालित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने र नवागन्तुक सहभागीको परिचय दिने जिम्मेवारी कथाकार चन्द्रप्रसाद भट्टराईले पूरा गर्नुभयो।

काठमाडाैं, २०८२ जेठ ३० । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत दशक दशकका कथावाचनको मासिक कार्यक्रमको २० औँ शृङ्खला हिजो जेठ ३० गते शुक्रवार सदाझैँ डिल्लीबजारस्थित पुष्कर लोहनीज्यूका निवासमा २ बजेदेखि सुरु भयो।
अभियानका परिकल्पनाकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईलाई ससम्मान मञ्चमा आसनग्रहण गराई कार्यक्रम आरम्भ गरियो।
स्वागत मन्तव्य दिँदै सञ्चालित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने र नवागन्तुक सहभागीको परिचय दिने जिम्मेवारी कथाकार चन्द्रप्रसाद भट्टराईले पूरा गर्नुभयो।
प्रारम्भमा दिवङ्गत कथाकारद्वय गणेश रसिक र विजय चालिसेप्रति एक मिनेट मौनधारण गरेर शोक तथा श्रद्धाञ्जली प्रकट गरियो।
त्यसपछि सर्वप्रथम दिवङ्गत कथाकार केशवराज पिँडालीको परदेशी कथा शुकदेव उपाध्यायबाट वाचन गरियो।
सहभागी कथाकारहरूमध्ये सबैभन्दा पहिले २०३० को दशकबाट वरिष्ठ कथाकार शैलेन्द्र साकारले स्तरचेत कथा वाचन गर्नुभयो। दोस्रोमा २०४० को दशकबाट कथाकार अमरकुमार प्रधानले सूर्यमुखी र म कथा वाचन गर्नुभयो। तेस्रोमा २०५० को दशकबाट कथाकार मधुसूदन घिमिरेले नफक्रँदै झरेको फूल कथा वाचन गर्नुभयो। चौथोमा २०७० को दशकबाट कथाकार सविता श्रेष्ठ बेहोसीले उपहार कथा वाचन गर्नुभयो। पाँचौंँमा २०७० कै दशकबाट कथाकार योगेन्द्र तिमल्सिनाले प्रतिबिम्ब कथा वाचन गर्नुभयो। छैटौंँ तथा अन्तिममा २०७० कै दशकबाट पवित्रा अधिकारीले अन्त्यपछि कथा वाचन गर्नुभयो। सबै कथाकारका वाचित कथाहरू घतलाग्दा र प्रभावशाली थिए।
कार्यक्रमको अन्त्यमा सभाको विधिवत् समापन महामना व्यक्तित्व पुष्कर लोहनीबाट भयो। लोहनीले यो अभियान थाल्नुको उद्देश्य, औचित्य, उपलब्धि र भावी कार्यदिशा व्यक्त गर्दै यसले नेपाली कथाजगत्मा ल्याएको तरङ्गमाथि प्रकाश पार्नुभयो। उहाँले उपस्थित सबैलाई धन्यवाद दिँदै यस अभियानलाई निरन्तरता दिइरहन सहयोगको अपेक्षा राखेको बताउनुभयो।
कार्यक्रममा २० भन्दा बढी साहित्यकारहरूको सहभागिता थियो भने कार्यक्रमको उद्घोषण कथाकार शुकदेव उपाध्यायले गर्नुभएको थियो।
०००
प्रा.डा. भरतकुमार भट्टराईकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































