साइबर अपराध सम्बन्धी सचेतना सामग्री

`सत्यम्´को गृह विमोचन र बृहत् सिर्जना वाचन सम्पन्न

प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, प्रमुख वक्ता युवा समालोचक डा. अशोक थापा तथा वक्ताद्वय शान्ता थापा हुनुहुन्थ्याे ।

Nepal Telecom ad

वालिङ, स्याङ्जा २०८२ असार १४ । युवा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको पहिलो साहित्यिक कृतिको रूपमा प्रकाशित कथासङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा गृह विमोचन तथा विमर्श गरिएको छ । मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा एक कार्यक्रमका बीच शनिबार कृतिको गृह विमोचन गरिएको हो ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, प्रमुख वक्ता युवा समालोचक डा. अशोक थापा तथा वक्ताद्वय शान्ता थापा र शम्भु अर्याल एवम् युवा कथाकार लक्ष्मण वियोगीद्वारा संयुक्तरूपमा कृतिको अनावरण गरिएको थियो ।

युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा सहजीकरण गरिएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व ढकालले बताए- ´साहित्य कल्पना र यथार्थताको संयोजन हो, यो पक्ष सत्यममा पाइन्छ,´ उनले भने, `वियोगीका कथामा २०५२ सालदेखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको छ ।´

युवा समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा चाहेर पनि लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए । असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उत्घाटित गर्नु कथाकृति सत्यम्‌को विशेषता रहेको उनको भनाइ थियो । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्‌ले उठाएको उनले बताए । तथ्यपरक विषय गणित पढेका, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैँमा रोचक विषय भएको विवेचना गरेका थिए ।

कृतिको समीक्षा गर्दै समीक्षक तथा सामुदायिक रेडियो आँधीखोलाकी अध्यक्ष शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति रहेको बताइन् । कृति पठनको क्रममा आफू धेरै पटक भावुक भएको पनि उनको भनाइ थियो ।

अर्का समीक्षक तथा युवा निबन्धकार शम्भु अर्यालले नेपाली ग्रामीण समाज र परिवेशका अति सुक्ष्म विषयलाई कृतिले उधिनेर निकालेको बताए । कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको पनि बताए ।

कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिका विषयमा बोलेका थिए । ‘म कथाकार वा लेखक बनुँला/नबनुँला,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई सहयोग गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्‌लाई होइन, सत्यम्‌ले मलाई चिनाइदिए पुग्छ ।’

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमि र यहाँको मौलिकतालाई थप उजागर गरेको बताए ।

साहित्य क्षेत्रमा कथासङ्गै निबन्ध, नियात्रा, कविता तथा गीत लेखनमा समेत कलम चलाउँदै आएका वियोगीको यो पहिलो कथाकृति हो । समालोचकहरूद्वारा भनिए जस्तै प्रस्तुत कथाकृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्य तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली ग्रामीण समाजका अनेक पाटालाई उत्खनन् गरेका छन् ।

यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा तथाकथित जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक- संस्कृतिको सुगन्ध पनि पाइने कार्यक्रममा चर्चा गरिएको थियोे । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । कथामा पर्यावरणीय चेत र वस्तुवादी धारसमेत पाइन्छ ।

`सत्यम्´को गृह विमोचन, विमर्श एवम् बृहत् सिर्जना वाचन समारोह- २०८२ नाम दिइएको कार्यक्रममा संस्कार गैह्रे, खगेन्द्रजंग थापा, स्मारिका अर्याल, झवनाथ बस्याल, अग्निकुमार रेग्मी पल्लव, उपमा पाण्डेय, लोकहरि पाण्डेय क्षितिज, कृष्ण खड्का, चिन्तु गिरी, लेखनाथ काफ्ले, इन्द्रप्रसाद पाठक, तोरणराज बस्याल, विष्णु पङ्गेनी पाण्डे, सरस्वती अर्याल, सम्झना थापा मगर, लक्ष्मी काफ्ले, बोधराज न्यौपाने, खगेन्द्र अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, भविश्वर पङ्गेनी, सीताराम अधिकारी, वसन्त खनाल, टीकाराम वाग्ले, कमला अधिकारी सिग्देल, तोलाकान्त बगाले, मिलन समीर लगायतका स्याङ्जाली सर्जकहरूद्वारा आफ्ना उत्कृष्ट सिर्जना वाचन गरिएको थियोे । वाचन गरिएका सिर्जनाहरुमाथि केन्द्रित रहेर ध्रुवबन्धु पौडेलद्वारा संक्षिप्तरूपमा समीक्षासमेत गरिएको थियोे ।

करिब २ दशकदेखि पत्रकारितामा क्रियाशील वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । हाल उनी नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा छन् । साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् ।

‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता- २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । यो कथा पनि प्रस्तुत सङ्ग्रहमा समावेश गरिएको छ । उनका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक- आधुनिक गीतहरु रेकर्ड भएका छन् ।

पेज टर्नर प्रालिद्वारा प्रकाशित १५  वटा कथाहरु सङ्ग्रहित सत्यमको बजार मूल्य रु.४५५ /- रुपैयाँ रहेको छ ।

०००
मिलन समीरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x