फित्काैली डटकमसाहित्यस्रष्टा सम्मानद्वारा साहित्यकार डीपी शर्मा सम्मानित
डीपी शर्मालाई प्रलेस तेह्रथुमको तर्फ र चार पत्रिकाका अध्यक्षसहितको टोलीबाट प्रमाण-पत्र र दोसल्ला ओढाई पालिका अध्यक्ष दिलकुमार पाहिम र प्रलेस केन्द्रीय अध्यक्ष डा देवी क्षेत्री दुलालद्वारा संयुक्तरूपमा सम्मान गरिएको हो ।

आठराई, २०८२ असार १४ । शनिवारका दिन तेह्रथुम आठराई गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रीगुफामा भएको एक विशेष कार्यक्रमको अवसरमा साहित्यस्रष्टा सम्मानसँगै विविध कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा लामो समयदेखि प्रगतिवादी साहित्य लेखनको चिन्तनधारामा अडिग भई कलम चलाउँदै आउनुभएका र पछिल्लो समय प्रगतिशील लेखक संघ नेपाल राष्ट्रिय परिषद् सदस्य तथा झापा जिल्ला इन्चार्जसमेतको कार्यभार सम्हाली अनवरत साहित्यका विभिन्न विधामा सफल कलम चलाएवापत् साहित्यकार डीपी शर्मालाई प्रलेस तेह्रथुमको तर्फ र चार पत्रिकाका अध्यक्षसहितको टोलीबाट प्रमाण-पत्र र दोसल्ला ओढाई पालिका अध्यक्ष दिलकुमार पाहिम र प्रलेस केन्द्रीय अध्यक्ष डा देवी क्षेत्री दुलालद्वारा संयुक्तरूपमा सम्मान गरिएको हो ।
सम्मानित स्रष्टा शर्मा मूलतः जीवनी साहित्यका अग्रणी, कवि, समालोचक र पूर्व शैक्षिक प्रशासक हुन् । उनी साहित्यमा समाजका अनुकरणीय व्यक्तित्वको आदर्शलाई समाज रुपान्तरण गर्ने धरोहरको रूपमा उतार्न पोख्त छन् भने कवितामा शब्दशक्तिको उचित बिम्बात्मक विन्यास गरी विकृतिविसङ्गतिप्रति व्यङ्ग्य गर्न रुचाउँछन् ।
प्रगतिशील लेखक संघ नेपाल, तेह्रथुमलगायत स्थानीय साहित्य समितिहरू तथा आठराई गाउँपालिकासमेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा तेह्रथुमको आठराई गाउँपालिका वडा नं. २ अन्तर्गत पर्यटकीय स्थल झााँक्रीगुफा परिसरमा नवनिर्मित आठराई पुस्तकालय भवनको गापा अध्यक्ष दिलकुमार पाहिमद्वारा उद्घाटनसँगै आठराई गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन हुँदै आएका चारवटा पत्रिकाहरूको पनि मञ्चासिन अतिथिवर्गबाट विधिवत लोकार्पण भएको हो । यसरी लोकार्पण हुने पत्रिकाहरूमा तेह्रथुम बहुमुखी क्याम्पस प्राध्यापक संघ एकाइ समितिको प्रणयन, साहित्य संगम आठराईको संगम सुधा, आठराई गाउँपालिकास्तरीय साहित्य सुदृढीकरण समितिको आठराई कोसेली र प्रलेस तेह्रथुमको लोकार्पण समेत गरिएको थियो । प्रलेस तेह्रथुमको समीक्षा चलनचन्द्र कन्दङ्वा, आठराई कोस्लीको अमृतबहादुर बुढाथोकी, संगम सुधाको गङ्गा निरौला र प्रणयनको डा.नन्द नेपालीले गरेका थिए । उक्त कार्यक्रममा केही रचनावाचनसमेत भएका थिए ।
विभिन्न चार पत्रिकाका चार अध्यक्षहरू – दयासागर ढुङ्गेल, राजन तिम्सिना , रविमान लम्जेल, र गणेश विमलीका अध्यक्षता , गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलाल , गाउँपालिकाका उपाध्यक्ष वलीराज इङनाम र तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पेष्टराज लामिछाने आदि विशिष्ट अतिथि रहेका थिए । अतिथि आशनग्रहण र खादार्पणपश्चात् विभिन्न तौरतरिकाबाट कतै तुल अनावरण त कतै तुलमा लेखिएका अक्षर पढेर कार्यक्रमको घुम्टी खोलिएको थियो ।
त्यसो त कार्यक्रममा प्रलेस कोसी प्रदेशका अध्यक्ष बिन्दु दाहाल “मूकदर्शक”, प्रलेस कोसी प्रदेशका सचिव रविन कोर्काली, झापा जिल्ला अध्यक्ष लीलाप्रसाद अधिकारी, सचिव वीरेन्द्र खड्का , विभिन्न क्याम्पसका , प्राध्यापकवर्ग, विद्यालयका प्रधानाध्यापकवर्ग, शिक्षकवर्ग , सामाजिक संस्थाका अगुवा व्यक्तित्ववर्ग, स्थानीय साहित्यकारहरू तथा पाँचथर र तेह्रथुम प्रलेसका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । यसै सन्दर्भमा स्थानीय स्तरबाट आठराई गाउँपालिका स्तरीय साहित्य सुदृढिकरण समितिले ‘आठराई कोसेली सम्मान’ अन्तर्गत स्थानीय साहित्यकार कृष्णप्रसाद थपलियालाई पनि सम्मान गरेको थियो भने आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आतिथ्यमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गरियो ।
उक्त कार्यक्रममा विविध साहित्यिक रचना वाचन र सांस्कृतिक नृत्य प्रस्तुतिहरू समेत समावेश गरिएको थियो, जसले वातावरणलाई उत्सवमय बनाएको थियो ।विभिन्न साहित्यिक संस्थाहरू एउटै छातामुनि गोलबन्द भई सबै संस्थाका अध्यक्ष तथा अतिथिहरूले आठराई पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका थिए । यसै क्रममा विन्दु दाहाल “मुकदर्शक” लिला अधिकारी तथा उपस्थित साहित्यकारहरूले शुभकामना मन्तव्य राख्दै रचना वाचन गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रलेस नेपालका अध्यक्ष डा देवी क्षेत्री दुलालले यही बसेर “नेपालको राष्ट्रिय राजनीतिमा आठराईले पुर्याएको भूमिका” विषयमा रिसर्च गर्ने बताउँनु भयो । मन्तव्यको क्रममा कार्यक्रमका प्रमुख अतिथि दिलकुमार पाहिमले पालिकाको लगानीमा स्थापना भएको आठराई पुस्तकालय २४ घन्टा नै खुल्ने र यस ठाउँमा आउँने पर्यटकहरूले बसेर आनन्दले पुस्तकहरू पढन पाउँने व्यवस्था मिलाउँने बताउँनु भयो । अन्त्यमा , कार्यक्रमको समापनमा बोल्दै आठराई गाउँपालिकास्तरीय साहित्य सुदृढीकरण समितिका अध्यक्ष रविमान लम्जेलले स्थापना भएको पुस्तकालयमा पुस्तकहरू सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
अध्यक्ष मण्डलका प्रतिनिधि अध्यक्ष राजन तिम्सिनाको स्वागत मन्तव्य र कार्यक्रमको अौचित्यमाथि प्रकाश रहेको कार्यक्रममा
प्रलेस तेह्रथुमका कोषाध्यक्ष योगेश काफ्लेको सहजीकरण रहेको आज सम्मानित स्रष्टा डीपी शर्माले जानकारी दिए ।
०००
फित्कौलीका लागि मेची प्रतिनिधि नदी भट्टराई, इलाम
Subscribe
Login
0 Comments
Oldest






































