फित्काैली डटकमकवि भूवनहरि सिग्देल र तीर्थ श्रेष्ठसमेत ८ जनालाई प्रतिभा पुरस्कार
निजी स्तरमा वि.सं. २०३९ सालमा स्थापना गरिएको यस प्रतिष्ठानले हालसम्म १२० भन्दा बढी स्रष्टाहरूलाई पुरस्कार प्रदान गरिसकेको छ । साथै, विभिन्न लेखकका पाँच दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेको छ ।

विराटनगर, २०८२ असार १८ । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्दै आएको छ वटा पुरस्कार यस वर्ष विभिन्न आठ जना स्रष्टा तथा संस्थालाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका सचिव दिङ्लाली कान्छोका अनुसार, नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएका कारण २०८१ सालको ‘प्रतिभा पुरस्कार’ पोखराका कवि तीर्थ श्रेष्ठलाई प्रदान गरिने भएको छ । यसैगरी, ‘लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’ राधाकृष्ण संस्कृत वेदवेदाङ्ग गुरुकुलम्, चतरा सुनसरीलाई प्रदान गरिनेछ । ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ विराटनगरका साहित्यकारद्वय गायत्रीकुमार चापागाई र डा. विमला श्रेष्ठलाई संयुक्त रूपमा दिने निर्णय गरिएको छ ।
‘दिनबन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार’ काठमाडौँका साहित्यकार भूवनहरि सिग्देललाई प्रदान गरिनेछ । यी सबै पुरस्कारको राशि जनही रु (पचास हजार रुपैयाँ) रहेको छ ।
त्यस्तै, रु (एक्काइस हजार रुपैयाँ) राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’ भोजपुरका अनुसन्धाता सुदीप अधिकारीलाई र सोही राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ कविद्वय मञ्जुश्री गिरी (मोरङ) र अभागी थेगुवा (झापा) लाई संयुक्त रूपमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
निजी स्तरमा वि.सं. २०३९ सालमा स्थापना गरिएको यस प्रतिष्ठानले हालसम्म १२० भन्दा बढी स्रष्टाहरूलाई पुरस्कार प्रदान गरिसकेको छ । साथै, विभिन्न लेखकका पाँच दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेको छ ।
प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार तथा सम्मान आगामी २०८२ साल असार २९ गते आइतवार भानु जयन्तीका अवसरमा विराटनगरमा साहित्यिक समारोहका बीच समर्पण गरिने बताइएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest





































