फित्काैली डटकमतरहरामा ‘स्रष्टा धमला सम्मान’ कार्यक्रम सम्पन्न
धमला सामाजिक सेवा प्रतिष्ठान केन्द्रीय समिति विराटनगरका अध्यक्ष डा.भेषप्रसाद धमलाकाे प्रमुख आतिथ्यमा शनिवार तरहरास्थित महेन्द्र माध्यमिक विद्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
तरहरा, सुनसरी । सामाजिक र सांस्कृतिक सेवामा समर्पित ‘धमला सामाजिक सेवा प्रतिष्ठान` सुनसरी शाखाले साहित्य सिर्जना र खोजअनुसन्धानमा साधनारत रही कृतिगत योगदान गरेका देश विदेशका धमला बन्धुबान्धवबिच भेटघाट तथा ‘स्रष्टा धमला सम्मान’ कार्यक्रमको आयोजना गरेको थियो।
पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा धमला सामाजिक सेवा प्रतिष्ठान केन्द्रीय समिति विराटनगरका अध्यक्ष डा.भेषप्रसाद धमलाकाे प्रमुख आतिथ्यमा शनिवार तरहरास्थित महेन्द्र माध्यमिक विद्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
प्रमुख अतिथि डा.धमलाद्वारा पूर्व मन्त्री, संविधानसभा सदस्य तथा लेखक कल्पना धमला(धादिङ) ,प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा कवि चेतनाथ धमला (ओखलढुङ्गा), पूर्व प्रधानाध्यापक तथा धमला वंशावली अनुसन्धाता अग्नीधर धमला (ओखलढुङ्गा), पूर्व प्रधानाध्यापक तथा खण्डकाव्यकार रमेशप्रसाद धमला, कवि जीवनाथ धमला (ओखलढुङ्गा), कवि भीम धमला (भारत ,असम),उपन्यासकार सन्ध्या उपाध्याय धमला (सुनसरी )र कवि लोकनाथ शर्मा धमला (असम, भारत) सम्मानित हुनुभएको थियोे ।कवि लोकनाथ शर्मा धमलाको सम्मान प्रतिनिधि गजेन्द्र धमलामार्फत अर्पण गरिएको थियो।
यसैगरी धमला वंशावली अनुसन्धाता कीर्तिशेष तिलप्रसाद धमला (धादिङ), प्रसिद्ध कवि जीवनाथ धमला (ओखलढुङ्गा), प्रा.डा. तथा अनुसन्धाता भूपप्रसाद धमला, योगविद् तथा उपप्राध्यापक डा.टी.पी. धमला,धमला वंशावली अनुसन्धाता तथा पाठयक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमला (ओखलढुङ्गा), कवि तथा पत्रकार कृष्णराज धमला (कालिकोट), संस्मरणकार तथा कवि जानुका धमला (नुवाकोट ),गजलकार तथा मुक्तकार पुष्पा धमला चौलागाईंलाई भने ‘धमला सामाजिक सेवा प्रतिष्ठान` सुनसरी शाखाले काठमाडौँमा यथाशीघ्र कार्यक्रमको आयोजना गरी सम्मान गर्ने बताएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धमलाले धमला वंशजको खोजीसँगै सामाजिक सेवाका विविध पक्षमा काम गर्ने लक्ष्य प्रतिष्ठानको रहेको बताउनुभएको थियोे । उहाँले धमला कुलमा जन्मिएका लेखक र साहित्यकारले आफ्नो वंशज र समाजलाई चम्काउन योगदान गरेकाले नै सम्मान गर्नु परेको बताउनुभएको थियो ।उहाँले बदलिँदो विश्वको पर्यावरणीय असरबाट समाजलाई जोगिन सचेत गराउने तर्फ लेखक र साहित्यकार अग्रसर हुनुपर्ने धारणा राख्नुभएको थियो।
विशिष्ट अतिथि ,सम्मानित व्यक्तित्व पूर्व मन्त्री तथा लेखक कल्पना धमलाले आफूले जे जस्तो लेखे पनि सम्झिएर सम्मान गरेकामा प्रतिष्ठान परिवार प्रति आभार प्रकट गर्दै कवितावाचन गर्नुभएको थियोे।उहाँले अरूले जस्तै ‘स्रष्टा धमला’ले पनि विविध क्षेत्रमा विशेष योगदान दिएको बारे चर्चा गर्दै लेखनमा कला र विचार पक्ष महत्त्वपूर्ण भएको बताउनु भएको थियो ।
विशिष्ट अतिथि ,सम्मानित व्यक्तित्व धमला सेवा समाज केन्द्रीय समितिका पूर्व अध्यक्ष , सल्लाहकार तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले भाषा,साहित्य ,संस्कृति र सामाजिक लगायतका क्षेत्रमा समर्पित धमलाहरूका मौलिक सिर्जना र जअनुसन्धानको पहिचान गरी प्रतिष्ठानले सम्मानित गरेकामा आयोजक प्रति कृतज्ञता प्रकट गर्दै सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको थियोे।उहाँले ‘धमला’शब्द जोडेर जे जति संस्थाहरू खुल्छन् ,तिनले धमलालाई स्थापित गर्ने भएता पनि इतिहासलाई आत्मसात् गर्दै बिना टिकाटिप्पणी हातेमालो गरेर अघि बढ्न सुझाउनुभएको थियोे। अपवाद छाडेर स्रष्टाहरूको जीवनशैली भ्रष्ट भएको देखिँदैन। त्यसैले साहित्यिक र सांस्कृतिक कार्यक्रम गरेर चेतना अभिवृद्धि गर्न जोड दिनुभएको थियो।
कार्यक्रमका अतिथि ,सम्मानित व्यक्तित्व भीम धमलाले आफू भारतको असममा रहे पनि आफ्नो पितृभूमि प्रतिको अगाध स्नेह र नेपाली भाषा र साहित्य प्रतिको समर्पणले कुत्कुत्याइरहेको बताउनुभएको थियोे।’स्रष्टा धमला’बाट सम्मानित हुन पाउँदा गर्वबोध भएको उल्लेख गर्दै कवितावाचन गर्नुभएको थियो।
‘स्रष्टा धमला’ सम्मान कार्यक्रममा धमला सेवा समाज केन्द्रीय समितिका सदस्य तथा कोसी प्रदेश संयोजक गोपीनाथ धमला,धमला सेवा समाज झापा जिल्ला अध्यक्ष प्रेमप्रसाद धमला,धमला सामाजिक सेवा प्रतिष्ठान सुनसरीका सल्लाहकार ,भारत असमका पर्यावरण अभियन्ता लीलानाथ शर्मा गौतम लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
सभाध्यक्ष ‘धमला सामाजिक सेवा प्रतिष्ठान` सुनसरी शाखाका अध्यक्ष रमेशप्रसाद धमलाले साहित्यिक सिर्जना र खोजअनुसन्धान मार्फत समाजमा परिचित भएका धमलाहरूको योगदानलाई उजिल्याउने उद्देश्यले ‘स्रष्टा धमला’ सम्मानको आयोजना गरिएको हो।
देश विदेशमा रहेका धमला लेखक साहित्यकारबिच प्रगाढ भाइचाराको सम्बन्धकायम गर्दै भाषा,साहित्य र संस्कृतिको उन्नयनमा उल्लेखनीय योगदान पर्याउनु रहेको छ । सर्जकले सामाजिक विकृति र विसङ्गतिलाई हटाउँदै सामाजिक रूपान्तरणमा भूमिका निर्वाह गर्ने भएकाले सम्मान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष धमलाले बताउनुभएको थियो । उहाँले यस्तै रचनात्मक कार्यहरू प्रतिष्ठानले गर्दै जाने लक्ष्य रहेको समेत बताउनुभएको थियो।
कार्यक्रममा स्वागत मनतव्य प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद धमला,कार्यक्रमको ओैचित्यमाथि प्रतिष्ठानकै सदस्य तथा कार्यक्रम संयोजक नीलप्रसाद धमलाले प्रकाश पार्नुभएको थियो ।उद्घोषण प्रतिष्ठान जिल्ला सदस्य सुरेशप्रसाद धमलाले गर्नुभएको थियो।
०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































