फित्काैली डटकमनेपाली भाषाशिक्षक समिति मकवानपुरको सम्मान कार्यक्रम
अध्यक्षमा प्रगति माध्यमिक विद्यालयका माध्यमिक तहका नेपाली भाषाशिक्षक ज्योति न्यौपाने चयन हुनुभएको छ ।

मकवानपुर, २०८२ साउन २३ । नेपाली भाषाशिक्षक समिति मकवानपुरले आफ्नो पाँचौँ अधिवेशनका साथै शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सो क्रममा अध्यक्षमा प्रगति माध्यमिक विद्यालयका माध्यमिक तहका नेपाली भाषाशिक्षक ज्योति न्यौपाने चयन हुनुभएको छ । हेटौँडाको सिद्धार्थ माविको हलमा भएको पाँचौँ साधारणसभाबाट उहाँ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । यसै गरी समितिको उपाध्यक्षमा वंशगोपाल माविका माधवप्रसाद गौतम चयन हुनुभएको छ ।
महिला उपाध्यक्षमा सिद्धार्थ माविकी सुशीला चौलागाइँ छानिनुभएको छ । सचिवमा अमर माविका डिबी बर्तौला, सहसचिवमा नवोदय शिशुसदनका उपेन्द्र राना मगर तथा कोषाध्यक्षमा तुल्सिमेहर मेमोरियल माविका कमल नेपाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा केशव न्यौपाने, प्रेमबहादुर बोम्जन, नेत्रकुमारी मैनाली मलिना गौतम, विष्णुमाया नगरकोटी, सुन्दर लुइँटेल तथा अनल आचार्य चयन हुनु भएको छ ।
यसै अवसरमा नेपाली भाषाशिक्षक समिति मकवानपुरले शैक्षिक सत्र २०८१ सालको एसइई परीक्षामा नेपाली विषयमा ४ जिपिए ल्याउने ७३ जना विद्यार्थी र २८ जना शिक्षकलाई सम्मान गरेको छ । यस क्रममा सामुदायिक विद्यालयका ३३ जना विद्यार्थी र १७ शिक्षक तथा संस्थागत विद्यालयबाट ४० जना विद्यार्थी र ११ जना शिक्षकलाई सम्मान गरिएको छ । सो सम्मान नेपाली भाषाशिक्षक समिति मकवानपुरका विशिष्ट आजीवन सदस्य तथा सल्लाहकार ध्रुवकुमार भुजेलले आफ्ना मातापिताको राम–सावित्रीको नाममा स्थापना गर्नुभएको हो ।
नेपाली भाषाशिक्षक समिति मकवानपुरका अध्यक्ष केशवप्रसाद सन्जेलको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकारहरू रमेशमोहन अधिकारी, विष्णुप्रसाद गौतम, माधवप्रसाद खतिवडा तथा सागरप्रसाद खतिवडाको उपस्थिति रहेको थियो । यसै गरी सामाजिक विषयशिक्षक समाजका अध्यक्ष भोगेन्द्र लुईटेल, गणित विषय शिक्षक समूहका अध्यक्ष धनिकलाल साहलगायतको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































