फित्काैली डटकमहेटौँडामा प्रगतिशील लेखन सम्बन्धी परिचर्चा
प्रगतिशील लेखक सङ्घ बागमती प्रदेश कमिटीले प्रगतिशील लेखक सङ्घको ७४ औँ स्थापना दिवसको अवसरमा हेटौँडामा ‘राष्ट्र निर्माणमा प्रगतिशील लेखनको भूमिका’ विषयक परिचर्चा कार्यक्रम आयोजना गरेको छ ।

हेटौँडा, २०८२ असाेज ५ । प्रगतिशील लेखक सङ्घ बागमती प्रदेश कमिटीले प्रगतिशील लेखक सङ्घको ७४ औँ स्थापना दिवसको अवसरमा हेटौँडामा ‘राष्ट्र निर्माणमा प्रगतिशील लेखनको भूमिका’ विषयक परिचर्चा कार्यक्रम आयोजना गरेको छ ।
मकवानपुरे अग्रज साहित्यकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको परिचर्चा कार्यक्रममा समीक्षक तथा प्राध्यापक घनश्याम घिमिरे एवं मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले विशेष वक्ताको रूपमा विषयकेन्द्रित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपालीले हाल राजनीतिक तथा सामाजिक रूपमा परिवर्तन हुँदै गरेका र परिवर्तन हुनुपर्ने सामाजिक तथा सांस्कृतिक विषयहरू प्रगतिशील लेखनमा समेटिनुपर्ने धारणा राख्नुभएको थियो। त्यसैगरी अर्का वक्ता घिमिरेले अबको समयमा राष्ट्र निर्माण भौगोलिक सीमाभित्र मात्र सीमित नभई राष्ट्रवासीहरूको सह-अस्तित्व, स्वतन्त्रता र आत्मनिर्भरता समेत यसमा अट्नुपर्ने तथा विश्वको जुनसुकै भूगोलमा रहेका नेपालीहरूको भावनात्मक एकता तथा आफ्नो भूमिप्रतिको सद्भाव र आत्मीयता समेत यसमै समेटिने भनाइ राख्नुभएको थियो ।
परिचर्चा कार्यक्रममा मकवानपुरे साहित्य सर्जकहरूको साथमा शिक्षक, विद्यार्थी, पत्रकार, व्यवसायी, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाल, गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जित श्रेष्ठ, आँचल साहित्य कला पुञ्जका अध्यक्ष भावना सापकोटा, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका महासचिव सुवास खनाल, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय पार्षद् यश लामा लगायतको सहभागिता रहेको थियो।
डिबी बर्तौलाद्वारा सहजीकरण गरिएको कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशका अध्यक्ष शान्ति प्रियबन्दनाले गर्नुभएको थियो।
०००







































हार्दिक धन्यवाद फित्कौली !