साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई लघुकथासङ्ग्रहहरूमाथि परिचर्चा कार्यक्रम सम्पन्न

भर्चुअल रुपमा संचालन गरिएको उक्त कार्यक्रममा देशभित्रका साहित्यकारहरूका साथै अमेरिका, क्यानाडा लगायत विदेशमा रहनु भएका साहित्य प्रेमी महानुभावहरू समेत उपस्थित हुनु भएको थियो ।

Nepal Telecom ad

शनिवार २०८२ पौष १९ गते (जनवरी ३, २०२६)को दिन वन तथा वातावरण साहित्यिक समूहको आयोजनामा प्रा. अवधेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली समय अनुसार साँझ ८ बजे शुरु भएको उक्त कार्यक्रम ठिक १० बजे समापन भएको थियो । भर्चुअल रुपमा संचालन गरिएको उक्त कार्यक्रममा देशभित्रका साहित्यकारहरूका साथै अमेरिका, क्यानाडा लगायत विदेशमा रहनु भएका साहित्य प्रेमी महानुभावहरू समेत उपस्थित हुनु भएको थियो ।

सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्दै कमला रुपाखेतीले वन तथा वातावरण साहित्य समूह साहित्यको माध्यमबाट पर्यावरण संरक्षणका लागि सामाजिक चेतना जगाउन सक्रिय समूह हो। तर यस समूहले संचालन गर्दै आएको विगतका कार्यक्रमहरू भन्दा लघुकथाका कृतिहरूमाथि परिचर्चा गर्न लागिएको यो कार्यक्रम भिन्न छ भन्नु भयो ।

अवधेश सिंहको मरजाद सङ्ग्रहमाथि परिचर्चा गर्दै भाषा आयोगका पूर्व सदस्य गोपाल अश्कले सङ्ग्रहभित्र रहेको लघुकथाहरूको चिरफार, लघुकथा र कथा लेखनका विविध पक्षको चर्चा गर्नु भयो । उहाँले सङ्ग्रह भित्र रहेको मरजाद कथा लगायत इन्द्रेणी शिर्षकको लघुकथा सशक्त र प्रभावकारी रहेको उल्लेख गर्नु भयो । सङ्ग्रहभित्र रहेको ‘नफुलेको फूलहरुको विचमा फुलेको फूल राम्रो देखिन्छ’ भन्ने वाक्य सुन्दर र दार्शनिक अर्थ बोकेको पङ्क्ति हो भन्नु भयो ।

त्यसैगरी डा. कुसुमाकर शर्माले डा. हिमलाल श्रेष्ठको चौतारो चिन्तनमाथि परिचर्चा गर्दै यस सङ्ग्रहको कभरले पर्यावरणीय चासो, चिन्ता र चिन्तनको सशक्त रुपमा मुखरित गरेको छ भन्नु भयो । साथै सङ्ग्रहभित्र रहेका लघुकथाहरू हेर्दा लघुकथाकारले विम्व र अलंकारको प्रयोग गरेर यथास्थितिमाथि प्रश्न गर्दै विद्रोहको आवाज उठाएको भान हुन्छ भन्नु भयो । लेखकले लाघुकथाहरूलाई खण्ड खण्डमा छुट्याउने राम्रो अभ्यासको प्रयोग गर्नु भएको कुरा पनि इंगित गर्नु भयो ।

दुवै परिचर्चाकारहरूले दुवै सङ्ग्रहहरू सर्जकको पहिलो लघुकथा कृति भएकोले भविष्यमा यस्तै लघुकथाको सङ्ग्रह प्रकाशित होस् र यसमा देखिएका केहि कमि तथा सिद्दान्तका दृष्टिकोणले अपुग भएका विषयलाई अङ्गीकार होस् भन्ने शुभकामना पनि दिनु भयो ।

डा. ऋषि वस्ताकोटीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको उक्त कार्यक्रममा प्राज्ञ ध्रुब मधिकर्मी, लोकबन्धु, मीना गुरुङ, विष्णु आचार्य, प्रेम खनाल, डा. चन्द्र गिरी, डा. शेखर कुमार श्रेष्ठ लगायतका साहित्यकारहरूको उपस्थिति थियो । कार्यक्रमको फेसबुक लाइभपनि गरिएको थियो। कार्यक्रमको भिडियो वन तथा वातावरणको पेजमा उपलव्ध छ।

हिमाली संरक्षण समूहको प्राविधिक सहयोग रहेको यस कार्यक्रमको प्राविधिक पक्ष डा. भरतमान श्रेष्ठले हेर्नु भएको थियो । यस समूहका संयोजक डा. रोशन शेरचनले कार्यक्रमको सारांश प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण साहित्यकारहरू लगायत सर्जक द्वय र परिचर्चाकार द्वयलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

०००
डा. ऋषि बस्ताकाेटीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x