फित्काैली डटकमशहीदकाे सम्झनामा सुसेलीको कार्यक्रम
शहीद दिवस विशेष कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले सच्चा शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै रचना वाचन गर्नु भयाे ।

काठमाडाैं, २०८२ माघ १७ । शनिबार वरिष्ठ कविहरू कलानिधि दाहाल, रामशरण न्यौपाने, राष्ट्रिय सुसेली फाउन्डेसनका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपाने र गङ्गा लिगलको विशिष्ट आतिथ्यतामा रहेको राष्ट्रिय सुसेली फाउन्डेसनको पचहत्तरौं कार्यक्रम सम्पन्न भयाे ।
संस्थाकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गर्दै सञ्चालन गर्नुभएको थियो । शहीद दिवस विशेष कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले सच्चा शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै रचना वाचन गर्नु भयाे ।
दाहालले साहित्यकारहरूले शहीदहरूप्रति समर्पित रहेर आत्मादेखि नै शहीदको सम्झना गरी सुसेली लेख्नु र गाउनु भएकोमा अत्यन्तै खुसी लागेको बताउनु हुँदै आफ्ना १० वटा सुसेली प्रस्तुत गर्नु भयाे ।
यसैगरी अर्की विशिष्ट अतिथि चन्द्रा न्यौपानेले संस्थालाई शुभकामना दिँदै सुसेलीले शहीदको सम्झनामा कार्यक्रम गरेर उदाहरणीय सन्देश दिएको अनुभव भएको कुरा उल्लेख गर्दै वाचित सुसेलीहरूको संक्षिप्त टिप्पणीसहित आफूले रचना गरेका सहिदमा समर्पित सुसेलीहरू वाचन गर्नु भयो ।
अन्य सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा उत्तम विचार, जानुका थापा रायमाझी, प्रतिभादेवी न्यौपाने, भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने, घनश्याम पौडेल, सविता के.सी. बोहरा, चन्द्रावती अधिकारी, कृष्णप्रसाद पौडेल जस्तघरे, संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र र सरला ओझाले शहीद सम्बन्धी सुसेली गाएर शहीदहरूप्रति श्रद्धा अर्पण गर्नुभयो ।
सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्वमा सञ्चालित यस कार्यक्रमको अन्त्यमा उहाँले सुसेलीको यो पचहत्तरौं कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै शहीद दिवस हिजो भए तापनि शहीदहरू हरेक नागरिकले सम्झनै पर्ने महान योद्धा भएका कारण सुसेलीले कहिल्यै नबिर्सने बताउनुभयो ।
उहाँले कार्यक्रममा वाचन/गायन गरिएका सबै सुसेलीहरू अत्यन्तै मार्मिक भएकाले निकै भावुक बनाएको भाव व्यक्त गर्दै शहीदसँग सम्बन्धित एक दर्जन सुसेली अर्पण गरी गायनका साथ कार्यक्रमको समापन गर्नुभएकाे थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest





































