साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार रामविनयलाई हृदयचन्द्र स्मृति सम्मान प्रदान

साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११ अैाँ जन्मजयन्तीका अवसरमा २०८२ सालको 'हृदयचन्द्र स्मृति सम्मान' वरिष्ठ साहित्यकार रामविनयलाई प्रदान गरियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ फागुन ४ । साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११ अैाँ जन्मजयन्तीका अवसरमा २०८२ सालको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार रामविनयलाई प्रदान गरियो ।

उहाँलाई साढे छ दशक लामो साहित्य साधना गरी कविता, निबन्ध र कथा सृजना तथा साहित्य सन्ध्या जस्तो संस्थामा लामो समय अध्यक्ष रहेर नेतृत्व गर्दै साहित्यका माध्यमबाट समाज परिवर्तनमा पुर्याउनुभएको योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा भएको उक्त सम्मान समारोहमा साहित्यकार विनयलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान पत्र, विशेष अतिथिहरू प्रा.डा.दयाराम श्रेष्ठले दोसल्ला, वरिष्ठ साहित्यकार कोशराज न्यौपानेले माला र सभाध्यक्ष प्रा.पौडेलले रु.५० हजार राशिको थैली प्रदान गरेर सम्मान गर्नुभयो ।

साथै पूर्व मन्त्री एवं साहित्यकार शान्ता मानवीले सम्मानित व्यक्तित्व विनयकी जीवन साथी सीतादेवी श्रेष्ठलाई माला लगाएर सम्मान गर्नुभयो ।

समारोहमा सदनले प्रकाशन गरेको ‘साहित्य सदन’ नामक प्राज्ञिक प्रकाशनको लोकार्पण पनि गरियो । सदनले प्रकाशन गरेको उक्त प्रकाशनमा सदनले आयोजना गरेका गोष्ठीमा प्रस्तुत भएका गोष्ठीपत्र, कविता महोत्सवमा पुरस्कृत कविका कविता, अन्य प्राज्ञिक वैचारिक सामग्री र सदनका गतिविधि र इतिहासलाई समेटिएको छ ।

कार्यक्रममा प्रमुखअतिथि गङ्गाप्राद उप्रेती, विशिष्ट अतिथिहरू- शान्ता मानवी, प्रा.डा.दयाराम श्रेष्ठ, साहित्यकार कोशराज न्यौपाने, प्रा.जगत् उपाध्याय प्रेक्षित तथा सदनका उपाध्यक्ष कवि मित्रलाल पंज्ञानीले साहित्यकार हृदयचन्द्र र पुरस्कृत व्यक्तित्व रामविनयको योगदानका बारेमा मन्तव्य राख्नुभयो ।

सदनका सचिव प्रह्लाद पोख्रेलले विषय प्रवेश गर्दै स्वागत मन्तव्य राख्नुभएको उक्त समारोहमा सदनका सदस्य विश्वनाथ तामाङले सम्मान पत्र वाचन गर्नुभएको थियो । सम्मानित व्यक्तित्व रामविनयले आफूलाई जनपक्षीय साहित्यकार हृदयचन्द्र सिंहका नाममा स्थापित सम्मान प्रदान गरेकोमा आफू सृजनाका निम्ति अरू उत्साहित भएको बताउँदै सदनलाई सम्मानका लागि सदनलाई धन्यवाद दिनुभयो ।

सदनका सदस्यहरू मणिराज लामिछाने र सुनीता बुढाथोकीले कार्यक्रमको सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अन्त्यमा सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलले सदनले हालसम्म संस्थाको भौतिक पूर्वाधार निर्माणमा बढी समय खर्च गरेको र यसमा अग्रजहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै अबको समय प्राज्ञिक, साहित्यिक गतिविधिमा खर्च गर्ने बताउनुहुँदै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो र आगामी चैत्र ७ गते विश्व कविता दिवस (मार्च २१) का अवसरमा सदनले राष्ट्रव्यापी कविता प्रतियोगिता सहितको कविता महोत्सव आयोजना गरेको जानकारी दिनुहुँदै सभा समापन गर्नुभयो ।

०००
डा. हेमनाथ पौडेलको साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x