फित्काैली डटकमतुलसी स्मृतिग्रन्थ लोकार्पण : छ व्यक्तित्व सम्मानित
रेग्मीले समाजमा जिम्मेवार भएर अतुलनीय योगदान गरेकोले समाजले उहाँले गरेका कामहरु कहिल्यै विर्सन नसक्ने बताउनु भयो ।

उदयपुर । उदयपुरको गाईघाटस्थित रेग्मी निवासमा सोमबार तुलसी स्मृति ग्रन्थको लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीले एक कार्यक्रमका विचमा लोकार्पण गर्नु भएको छ ।
अध्यक्ष रेग्मीले तुलसी स्मृति ग्रन्थको लोकार्पण गर्दै बहुआयामिक व्यक्तित्वका धनी स्व.तुलसीप्रसाद रेग्मी साहित्यमा मात्र नभएर समाजसेवा, पत्रकारिता, राजनीतिका साथै अन्य क्षेत्रमा पनि निरन्तर लागि रहने व्यक्तित्व भएको र उहाँले समाजलाई गर्नु भएको योगदानलाई कहिल्यै विर्सन नसकिने बताउनु भयो ।
अध्यक्ष रेग्मीले हामीले आफ्नो जिम्मेवारी जिम्मेवार भएर बहन गर्नु पर्ने र सामाजिक जीवनमा अनुशासनले पनि मानिसलाई जिम्मेवार बनाउने हुँदा व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने बताउँदै तुलसीप्रसाद रेग्मीले समाजमा जिम्मेवार भएर अतुलनीय योगदान गरेकोले समाजले उहाँले गरेका कामहरु कहिल्यै विर्सन नसक्ने बताउनु भयो ।

तुलसी मन प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीको अध्यक्षतामा भएको थियो । सो अवसरमा समाजमा उत्कृष्ट योगदान गर्ने ६ जना सामाजिक व्यक्तित्वहरुलाई सम्मानपत्र दोसल्ला सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा विशिष्ठ अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत, खोटाङ सामाजिक सेवा मञ्च बिराटनगरका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, शेषराज रेग्मी, रेग्मी समाज कोशी प्रदेशका अध्यक्ष माधव रेग्मी, हर्कनारायण श्रेष्ठ, उदयपुर साहित्य कला प्रतिठानका सचिव सरिता पौडेल गुरागाई, महासचिव माधव पोखरेल गोज्याङ्ग्रे, नेपाल सरकारका पूर्व प्रशासक गोविन्द रेग्मीले तुलसी प्रसाद रेग्मीका बारेमा मन्तव्य दिनु भएको थियो ।
तुलसी मन प्रतिष्ठानका सचिव महेश रेग्मीले सम्मानपत्र पढेर सुनाउनु भएको थियो भने रश्मिता रेग्मीले अतिथिहरुलाई मन्तव्यबाट सवागत गरेकी थिइन । अन्यले कार्यक्रम सफलताको शुभकामना दिएका थिए भने उदयपुर साहित्य कला प्रतिठानका तर्फबाट महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले तुलसीप्रसाद रेग्मीलाई उहाँले नेपाली भाषा साहित्य तथा सञ्चारक्षेत्रमा पुर्याउनु भएको विशिष्ट योगदानको कदर गर्दै मरणोपरान्त सम्मान गरिएको सम्मानपत्र तुलसी मन प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो कार्यक्रममा त्रियुगा जनता बहुमुखि क्याम्पसका उप प्राध्यापक टीकाप्रसाद पौडेलले तुलसी स्मृति ग्रन्थमा प्रकाशित भएका विभिन्न लेखकहरुद्वारा लेखिएका लेख रचनाहरुको अत्यन्त सरल र रोचक तरिकाले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
तुलसी स्मृति ग्रन्थ पुस्तक लोकार्पण कार्यक्रम स्व.तुलसीप्रसाद रेग्मीको वार्षिक पुण्यतिथिका अवसर पारेर आयोजना गरिएको जानकारी आयोजक संस्थाका अध्यक्ष नगेन्द्रराज रैग्मीले दिनु भयो ।
कार्यक्रममा सुनसरी, मोरङ, उदयपुर, झापा, खोटाङ, काठमाण्डौ लगायतका ठाउँबाट र स्थानीय साहित्यकारहरु तथा रेग्मी परिवारका आफन्त शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
०००
माधव पोखरेलको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































