साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब घर जानुस् !

'लौ, मेरो लाइसेन्स कहिले आउँछ त ?' 'ठेगान छैन। मोबाइलमा मेसेज आउँछ अनि थाहा हुन्छ।' 'मेसेज कहिले आउला ?' 'लाइसेन्स बनेपछि।' 'अनि लाइसेन्स बन्नलाई धेरै टाइम लाग्छ हो र म्याडम ?'

Nepal Telecom ad

रूपेश श्रेष्ठ :

पहिले कोठा नम्बर ४ मा पठाइयो।
१५-१६ जना घाममा लाइनमा उभिएका थिए। पानी पर्‍यो भने कहाँ उभिँदा होलान् ? घाममा त पसिना काढेरै भए पनि उभिन के भो र ? ढुंगा पचाउने जवानहरूले घाम त पचाइहाल्छन्।

पालो आएपछि रामबहादुरले कागज बुझायो। म्याडमले कागज हेर्नुभयो र पहेँलो चिर्कटोमा सहि गरेर चिप्काउनुभयो।
‘५५ रूपैयाँ दिनुस्।’
रामबहादुरले मोबाइल निकाल्यो र QR माग्यो।
‘QR छैन, क्यास दिनुस्। खुद्रा पनि छैन, ट्याक्कै ५५ दिनुस्।’
‘अनलाइन पेमेन्ट मिल्दैन ?’
‘त्यस्तो यहाँ हुँदैन। फेरि जाबो ५५ रूपैयाँ पनि के अनलाइन तिर्नु ?’
रामबहादुर खिस्स पर्‍यो र एकैछिनमा आउँछु भनेर निस्कियो।

बाहिर कता के गर्‍यो, ५५ रूपैयाँ बोकेर रामबहादुर फर्कियो। म्याडमको हातमा थमाएर कागज लियो।
‘अब कता जाउँ ?’
‘४ नम्बरको ख-मा जानुस्, यता।’ बाटो देखाइदिनुभयो म्याडमले।
रामबहादुर अर्को लाइनमा उभियो। यो अलिकति छोटो रहेछ।
पालो आयो। त्यहाँ बस्नुभएका सरले एउटा आँखा छोप्न भन्नुभयो र औँलाले भित्ताको चित्र देखाउनुभयो। भित्तामा विभिन्न आकार प्रकारका E लेखिएका थिए। रामबहादुरले सप्पै E पढ्यो। सरले चर्को स्वरमा ‘कता फर्केको छ?’ भनेर दायाँ फर्केको नेप्टे E देखाउनुभयो। रामबहादुरले पनि उस्तै चर्को स्वरमा ‘४ नम्बर कोठातिर फर्केको छ सर।’
सर मुसुमुसु हाँस्नुभयो।

‘जानूस्।’
‘कता जाउँ सर ?’
‘उता। रसिद लिने ठाउँ।’
त्यो ठाउँ होइन, झ्याल थियो।
झ्यालबाट कागज बुझायो। त्यहाँ अर्को म्याडम हुप्प परेर बस्नुभएको थियो।
‘कोसँग रिसाउनुभयो ?’ रामबहादुरले हल्का मुस्काउँदै सोध्यो।
‘किन चाहियो ?’ नसोध्नुपर्ने रहेछ।
अर्को एउटा रातो चिकर्टो थपेर उहाँले पनि ‘जानूस्’ भन्नुभयो।
‘कहाँ जाने ?’
‘७ नम्बरमा गएर पैसा तिर्नुस्।’
‘कति पैसा पो तिर्नुपर्ने होला!’
‘हाम्लाई थाहा हुन्न। उतै सोध्नूस्।’

रामबहादुर यहाँ पनि खिस्स पर्‍यो, ‘यतै थाहा पाउन पाएको भए लाइन बसेर फेरि पैसा लिन कुद्न पर्ने थिएन।’
‘कोठा नम्बर ७ यहि हो ?’
भित्रबाट कसैले भन्यो,’१२ नम्बरमा जानुस्।’
‘७ नम्बरमा पठाउनुभएको थियो।’
‘१२ मा जानूस् भनेको सुन्नुभएन?’
‘सुनेँ हजुर। कता छ १२ नम्बर?’
‘माथि।’
रामबहादुर माथि गयो। १२ नम्बरमा २ जना सर गफ गर्दै हुनुहुन्थ्यो।
अनुहार नहेरी एकजना सरले हातको कागज तान्नुभयो। कम्प्युटरमा ख्यासख्यास गर्नुभयो। रातो पेनले सहि गर्नुभयो। अनि ‘७ नम्बरमा जानुस्’ भन्नुभयो।
‘७ नम्बरबाटै यता पठाउनुभएको’
‘अब त्यहीँ जानुस्।’
‘तल ?’
‘अँ तल।’

रामबहादुर अलमलिँदै ओर्लियो। ७ नम्बरमा गयो।
‘यता होइन, झ्यालबाट आउनुस्।’
‘ढोकाबाट आउन मिल्दैन हजुर ? झ्याल चढ्न सक्दिनँ होला।’
‘झ्यालमा आउनुस् भन्या। चढ्नुस् भन्या होइन।’ म्याडम बम्किनुभयो।
रामबहादुर सरक्क निस्कियो र झ्यालबाट म्याडमलाई हेरेर कागज बुझायो। म्याडमले लामो बिल छाप्नुभयो र एक टुक्रा च्यातेर अर्को टेबुलमा सार्नुभयो।
‘उता पैसा तिर्नुस् !’
‘कति पैसा तिर्नुपर्छ होला ?’
‘२ हजार।’
‘अनि त्यति पैसा किन लागेछ ?’
अब म्याडम मुसुक्क हाँस्नुभयो र बल्ल बुझाउनुभयो। रामबहादुरले अनलाइनमा तिर्न मिल्छ कि मिल्दैन भनेर सोध्यो।
‘मलाई थाहा छैन, उहाँलाई नै सोध्नुस्।’
रामबहादुर अर्को झ्यालमा पुग्यो र त्यही कुरा सोध्यो।
‘मिल्दैन।’
‘अनि अनलाइनमा तिर्न किन नमिल्ने होला? QR छैन र ?’
‘यो बैंकमा तपाईंले पठाउन मिल्दैन।’
‘मेरो एकाउन्टबाट त सबैमा जान्छ। तपाईंको बैंकमा किन नजाने होला ? एकाउन्ट नम्बर भन्नुस् त ! म पठाइहाल्छु नि।’
‘मिल्दैन भनेपछि मिल्दैन। यो पसल हो र QR राख्न ?’
‘एकाउन्ट नम्बर भन्या।’
‘छैन एकाउन्ट नम्बर। क्यास दिनुस्।’
रामबहादुर झसंग भयो। उसँग त खल्तिमा ५५ रुपैयाँ पनि थिएन।
‘सरी म्याडम, एकछिनमा आउँछु है।’

रामबहादुर १ घण्टाजति पछि फेरि आयो। ५ सयका २ वटा र हजारको एउटा नोट बुझायो। म्याडमले फिका रातो रंगको रसिद थमाउनुभयो।
‘अब कता जाउँ हजुर ?’
चस्मा लाएकी मिलेनियल म्याडमले भन्नुभयो
‘अब घर जानूस्।’
‘लौ, मेरो लाइसेन्स कहिले आउँछ त ?’
‘ठेगान छैन। मोबाइलमा मेसेज आउँछ अनि थाहा हुन्छ।’
‘मेसेज कहिले आउला ?’
‘लाइसेन्स बनेपछि।’
‘अनि लाइसेन्स बन्नलाई धेरै टाइम लाग्छ हो र म्याडम ?’
‘तपाईं मेरो टाउको नदुखाउनुस् त। मेसेज जहिले आउँछ, त्यहिले आउनुस्। अहिले घर जानुस्।’

रामबहादुर फिस्स हाँस्यो। अनि ‘म त अफिस जानु छ म्याडम। अहिले घर जान्नँ। फेरि भेटौँला है।’ भन्दै नमस्कार गरेर निस्कियो।

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x