खगेन्द्र नेउपानेम सर्वज्ञ
मैले नचिनेको केबल मैलाई मात्रै हो, मैले नगरेको केवल आफ्नो काम मात्रै त हो । मैले नजानेको यत्ति हो- बोल्न जानिँन भनेर किन टाढिएका छन् दुनियादार ?

म सर्वज्ञ,
बहस पनि आफैं गर्छु,
फैसला पनि आफैं गर्छु ।
म सर्वज्ञ-
नेताले केके बिगारे पनि जान्दछु,
पत्रकारले केके बङ्गयाए पनि जान्दछु,
न्यायाधीशकै होची-अर्घेली पनि जान्दछु,
शिक्षकले नजानेको पनि मै जान्दछु,
डाक्टर होइन र पनि रोग, उपचार सबै जान्दछु,
इन्जिनियर होइन र पनि डिजाइन, नापनक्सा सबै जान्दछु
म सर्वज्ञ-
राजतन्त्र, गणतन्त्र सबै जान्दछु ।
स्वघोषित इमानदार म,
स्वघोषित सज्जन म,
सर्वकुशल समीक्षक म,
दुनियाको पथ प्रदर्शक म,
म चिन्तक यो समाजको ।
कुनकुन बुहारीले सासू रिझाउन जानेनन् -म जान्दछु,
कुनकुन सासले बुहारी कजाउन जानेनन् -म जान्दछु,
अरूले बाटो विराएको जान्दछु,
अरूले माटो पिराएको जान्दछु ।
म सर्वज्ञ,
पुस्तकभरिमा कहाँकहाँ अशुद्ध छन् पनि जान्दछु
कसलाई के भनेर घोच्ने पनि जान्दछु,
कसलाई के गरेर होच्याउने पनि जान्दछु
मैले नचिनेको केबल मैलाई मात्रै हो,
मैले नगरेको केवल आफ्नो काम मात्रै त हो ।
मैले नजानेको यत्ति हो-
बोल्न जानिँन भनेर
किन टाढिएका छन् दुनियादार ?
अन्न फलाउन नजान्दैमा
किन वर्षौदेखि आधा छ मेरो पेट ?
सिउन नजानेर आफ्नै कमिज
किन लुगलुग कामिरहेको छ मेरो शरीर ।
मैले नजानेको यत्ति हो-
मै बिग्रेको पिरमा
किन रोइरहेकी छिन् मेरी आमा ?
०००
काभ्रे
Subscribe
Login
0 Comments
Oldest





































