साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर दिवस माने मन्की डे

वानेश्वरका बाँदरदेखि गुह्येश्वरी, पशुपति, स्वयम्भु, नक्साल, भद्रकाली लगायतका सबै खाले बाँदरसँग सर सल्लाह गरेर उचित साइत जुराएर बाँदर दिवस मनाउने निधो सरकारले गरोस् ।

Nepal Telecom ad

यदि लोकसेवा आयोगले नेपालमा बाँदर दिवस वा मन्की डे कहिले मनाइन्छ भनेर परीक्षार्थीलाई प्रश्नको घोचो तेस्र्यायो भने परीक्षार्थीले के जवाफ लेख्लान् ! यसको जवाफ विद्यार्थीले होइन सरकारले दिनु पर्छ भन्ने तर्क गर्छु म । किनभने बाँदरको गतिविधिबाट बढी परिचित भनेकै सरकार हो । बाँदरले न आफ्नो घर बनाउँछ न अर्काले बनाएको घर रहन दिन्छ । आफू बसिरहेको छँदा खाँदाको न्यानो तातो घर भत्काएर मुटु नै चस्किने चिसो घरमा बस्ने सरकारले नै यो दिन नेपालमा बाँदर दिवस मनाउने भनेर घोषणा गर्नु पर्छ । किनभने गाई दिवस, खसी बोका दिवस, कुकुर दिवस, बाघ दिवस, गैडा दिवस, काग दिवस, भैसी दिवस मनाउन हुँदा बाँदर दिवस झन किन मनाउन नहुने । मनाउने हो भने सबै जीव जन्तु, पंक्षीको दिवस मनाइयोस् होइन भने हात मुख बाँधेर बसियोस् ।

जङ्गलका हिंस्रक जन्तुको दिवस मनाउन हुँदा त्यही जङ्गलमा बसेर जङ्गलकै सुन्दरता बढाउने जन्तुको दिवस मनाउन किन नहुने सरकार ? कि आफैँ बाँदरे प्रवृतिमा लागेकोले लाज हुन्छ भनेर नमनाएको हो ? जनता जान्न मात्र होइन अब त हान्न पनि चाहन्छन् यस विषयमा । बाँदर दिवस मनाउन नसक्नेले बाँदरे प्रवृति देखाउनु किन ? नेपाली माटोमा पाइने नेपाली हनुमानको उपाधि पाएको बाँदरले सरकारको धेरै बिगारेकोले होला सायद सरकारी बाँदरका रूपमा दरिएर आफ्नो दिवस मनाउन नचाहेको । बाँदर दिवस मनाउनु भनेको चानचुने कुरा होइन । नेपालीका लागि गौरवको कुरा हो । नेपालीले बाँदर दिवस मनाउन सिकाउने हो र भोलिबाट नै यो दिवस मनाउन प्रारम्भ गर्ने हो भने विश्वका धेरै मुलुकले यसको अनुसरण गरेर नेपाललाई विश्वकै नमुना देशका रूपमा स्थापित गराउन सहयोग पुग्नेछ । भनौँ नेपाललाई घाटो होइन मुनाफा फाइदा हुनेछ ।

अब यहाँ कुरा के आउँछ भने बाँदर दिवस मनाउँदा कुन ठाउँका बाँदर लक्षित दिवस मनाउने भन्ने कुरामा मत बाँझिएला । किनभने पशुपतिका, गुश्येश्वरीका, स्वयम्भुका, भद्रकालीका, नक्सालका, वनकालीका वा अन्य कतैका काँदर दिवस मनाउने हो कि ? वा बानेश्वरतिरका बाँदर दिवस मनाउने हो कि ? त्यहाँ पनि पशुपति, गुह्येश्वरी लगायतका ठाउँमा रहेका बाँदरभन्दा बढी हल्ला खल्ला गर्ने बाँदरको रासन पानी र सुतासन छ भन्ने सुनिन्छ । यतिमात्र कहाँ हो र अझ सातै प्रदेशका खैराती बाँदरहरू पनि छन् । केन्द्रका बाँदरको दिवस मनाएपछि प्रदेश र गाउँतिरका बाँदरको पनि दिवस मनाउनु पर्ला । नभए भोलि सबै बाँदर मिलेर बाली, सुग्रिव बोलाए भने हनुमानको केही लाग्दैन ।

मलाई के लाग्छ भने नेपालमा बाँदर दिवस मनाउन कुनै साइत र आइतबार पर्खनु पर्दैन । किनभने यस अघि नै बाँदरहरूले बानेश्वरको बाँदरसभामा ब्रिफकेश खोसेर, होहल्ला गरेर, एकापसमा चिथोराचिथोर गरेर, कुर्सी भाँचेर आफ्नो परिचय सहित अघोषित बाँदर दिवस मनाइसकेका छन् । विश्वका कतिपय मुलुकले ती दिनलाई नेपालको मन्की डे भनेर घोषणा गरेका कारण पनि ब्रिफकेश खोसेको दिन र कुर्सी भाँचेको दिनको सम्झनामा अन्तर्राष्ट्रिय मन्की डे मनाउँदा सोहै आना फरक पर्दैन । फरक परेमा परेको व्यहोर्ने सरकार छँदैछ । सरकारले मनाउने कुरा जनताले मनाएर हुँदैन नि । सरकारी सेवा सुविधा लिएर बाँदर स्वभाव प्रदर्शन गर्ने अनि दिवस चाहिँ अरुले मनाइदिनु पर्ने कुरा मनासिव हुँदैन झैँ लाग्छ । हुन् त नेपाल बाँदर राज्य हो कि वा नर राज्य हो नेपालीलाई नै थाहा छैन । बाँदर राजनीतिज्ञको जमात भनौँ वा वा नर राजनतिज्ञको जमात के भनौँ कसैले खुट्टयाउनै सकेको छैन । नर हो वा होइन वा हिंस्रक जन्तु पो हो कि वा नर रूपी कुनै जन्तु पो हो कि भन्ने कुरा उसको स्वभावले स्पष्ट पार्छ । स्वभाव हेर्दा साँच्चै भन्ने हो भने बा दर झैँ लाग्छ । उदाहरण माथि नै पेश गरिसकेको छु सोही सदर ।

यो राजधानीको बाँदरको चर्तिकला पनि अचम्मको छ भन्या । कहिले व्यापारीको मकै खोस्छ, कहिले आफूले नलाउने कपडा खोस्छ र नाङ्गै हिड्छ । कुनैबेला फेरी सडकमा फिजाइएका व्यापारिक सामान मिल्काउन खोस्न पुग्छ । कहिले घरटहरा भत्काएर रमिता देखाउँछ । कहिले फोहरको डङ्गुरमा बसेर कराउँछ । यो सबै कुरा बाँदर दिवस मनाउने बाटो बनाएको होला । के निहुँ पाऊ कनिका बुकाऊ भन्ने उखान झैँ निहुँ चाहिएको रहेछ । आफैँ बाँदर दिवस मनाउन कुरा उठाउनु भएन बरु अरुले कुरा उठाइदिए भने योजना तयार पारेर दिवस मनाउँदा उचित हुने ठानेर होला बाटो ढुकिरहेको । घाट कुरेपछि लास कसो नआउँला । बाटोमा कुरेर बसेको अवस्थामा केही न केही त अवश्य फेला पर्छ । चाहे पशुपतिका बाँदर हुन् वा वानेश्वर, सिंहदरबार, भद्रकाली, स्वयम्भु वा नक्सालतिरका हुन् आखिरी केही खोसेर खान पाइन्छ भन्ने ध्येयले नै बाटो ढुकेका हुन्छन् । रामशाह पथतिरका बाँदरको पनि यही अवस्था छ । बाँदरहरू आफूभन्दा ठूलालाई चिन्दैनन् । न सानालाई नै चिन्छन् । भनौँ सानो बाँदरले ठूला बाँदरलाई आक्रमण गर्छन ।

घरिघरी भुइँमा चर्न खेल्न निस्के पनि बाँदर महलमै बस्छ । रुख उसको महल हो । भरसक अग्लो हामीले ठाडो मुन्टो लाएर हेर्दा लाएको टोपी खस्ने रुखमा बस्न पल्केका बाँदर गाउँतिर पस्यो भने घरभित्र पसेर विध्वंस गर्छ । यो बाँदरको विशेषता भनौँ वा चरित्र जे भनौँ चक्चक गर्नु उसको अधिकार हो स्वभाव हो । यदि चक्चक गर्न जान्दैन भने त्यो बाँदरको दर्जामा दरिदैन । त्यसलाई कसैले बाँदर भन्दैनन् पनि । अन्य देशका बाँदरको चरित्र वा स्वभाव कस्तो छ त्यो जान्दिन किनभने मैले नेपाल बाहेक अन्यत्रको बाँदर देखेको छैन । नेपालकै बाँदरको चर्तिकला देखेर वाक्क व्याक्क भएको समयमा कता अर्काको देशको बाँदर हेर्न जानु भन्या । यहाँ आफ्नो देशमा बाँदर दिवस मनाउने तयारी गर्न छाडेर अन्त किन जानु भन्या । आफ्नो देशको सिको अरुलाई गर्न लगाएर विश्वमा नमुना कामको थालनी गर्नुछ । बाँदर दिवस मनाउने विश्वको पहिले देश नै नेपाललाई बनाउनु छ । गिनिज बुकमा आफ्नो देशको नाम कालो अक्षरले लेखिएको देख्न कसलाई रहर हुँदैन र भन्या !

मलाई चाहिँ यस्तो महत्वपूणर् दिवस अरु देशलेभन्दा नेपाल ले नै पहिले मनाएको रमाइलो लाग्छ र इतिहास पनि रचिन्छ दिवस मनाउने कुरामा । यो बाँदर दिवस मनाउने कुरामा धेरै गन्थन मन्थन गर्दा छेपारोले आफ्नो स्वरूप नै परिवर्तन गरिसकेको हुन्छ । कुन दिनलाई बाँदर दिवस (मन्की डे) मनाउने भनेर सरकारले निणर्य गर्न सक्दैन भने म निणर्य गर्छु ठमेलमा सुरक्षा गार्डले मन्त्रीलाई अनुशासनको पाठ पढाएको दिनलाई बाँदर दिवस मनाउँदा सबैले स्वीकार्ने कुरामा म ढुक्क छु ।
बाँदर दिवस मनाउने नै यही दिन हो सही सत्य कुरा गर्ने हो भने । आफू कुशासनको नाइके बनेर अरुलाई अनुशासनको पाठ पढाउने काम त बाँदरले नै गरेको यत्रतत्र देखिन्छ । गाउँ, महागाउँ, नगर, उप महानगर, महानगर सबैतिर यतिबेला बाँदरले क्रान्ति गरिरहेका छन् ।

एउटा अर्को कुरा त मैले लेख्नै भुलेछु । त्यो के हो भने वा नर दिवस पनि मनाउने कि बाँदर दिवस मात्र मनाउने भन्ने कुरा हो । यो कुरा पनि सरकार कै मर्जिमा जाओस् । सरकारी कुरामा हामी गैरसरकारी मान्छेले किन अगाडि सर्नु ? हामी सधैँ सरकारको पछाडि परेकै हाँ र सरकारले पनि पछाडि पारेकै हो । सरकार हाम्रो नजिक पनि छैन र हामी सरकार नजिक भए पनि सरकारले हामीलाई चिन्दैन । भनौँ सरकारी कानून नै सरकार बाहेक अरुलाई चिन्दैन । त्यसैले पनि नेपालमा बाँदर दिवस सरकारले नै आयोजना गर्नु पर्दछ भन्ने पक्षमा म रहेको छु ।

अर्कोतिर सुन्धाराको बागदरबारतिर पनि छ रे बाँदर । जुन बाँदरले अहिले काठमाण्डौतिर उधुम मच्याएर खपिसक्नु भा छैन रे । गाडी चढेर हिड्ने बाँदरले देखाएको तमासा सबैकालागि चमत्कार नै भएको छ । मदारीको इशारामा नाँच्ने बाँदरभन्दा पनि बाँदरले मदारीलाई आफ्नो इशारामा नचाइ रहेको रमाइलो दृश्य देख्न सुन्न पाइन्छ हिजोआज राजधानीमा । यही बाँदरको दिवस मनाउने पो हो कि सरकारले ? फेरी यो बाँदरले मेरो अनादर गर्‍यो भनेर कतै सडालतमा आफैँ सडने गरी मुद्दा पो हाल्छ कि भन्ने पिरलो पनि छ ।

कतिपय ठाउँमा बाँदरले बालीनाली खाएर हैरान पारेको छ । कतिपय ठाउँमा घरभित्र पसेर नै सामान छरेर खानेकुरा खाएर मिल्काएर हैरान पारेको छ । यस्तो उपद्रो गर्ने बाँदर कहाँका हुन सरकारले खोजी गरेर कार्वाही गर्नु पर्छ । फेरी अर्कोतिर बाँदरहरूलाई सरुवा गराएर लैजाँदा स्थानीय बाँदर र सरुवा भएर गएका बाँदर बिच घम्साघम्सी पनि भएको खबरले कान तताएको थियो । यो विषयमा पनि सरकारले केही बोल्नु पर्ने हो तर केही बोलेन । सायद सरकारको कान चिसो भएर होला बाँदरको हल्लामा सल्लाह नमिलेको र चुपचाप बसेको । हुन् त एउटा बाँदरले अर्को बाँदरलाई देख्यो भने कुकुर बिरालो झैँ ङार्रङुर्र गर्दै लखेटा लखेट गर्न थाल्छन् । बाँदरहरू नै एकापसमा मिल्न नसक्दा बाँदर दिवस मनाउन पनि बाँदरहरूलाई समस्या होला !

यो बाँदर दिवसका बारेमा अब बढी कुरा के गरौँ नेपालमा वन्य जन्तु पाल्न सरकारले वन मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्रालयले राष्ट्रिय वन्य जन्तु तथा संरक्षण विभागलाई दिएको छ । अब वन्य जन्तु हेर्ने विभागले यसको तारतम्य मिलाएर योजनावद्ध तरिकाले ब्रिफकेश खोस्ने वानेश्वरका बाँदरदेखि गुह्येश्वरी, पशुपति, स्वयम्भु, नक्साल, भद्रकाली लगायतका सबै खाले बाँदरसँग सर सल्लाह गरेर उचित साइत जुराएर बाँदर दिवस मनाउने निधो सरकारले गरोस् ।

यसमा म गोज्याङ्ग्रे पनि बाँदरलाई पुर्खा सम्झेर सरकारले बाँदर दिवस मनाए पनि म चाहिँ पुर्खा दिवस मनाउने तयारी गर्नेछु । जय बाँदर दिवस, जय व्यङ्ग्य, जय साहित्य ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x