फित्काैली डटकमआधुनिक उखान– (१)
उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए । उहिलेदेखि भन्दै सुन्दै आएका हाम्रा उखानले अहिलेको समय सन्दर्भलाई अब समेट्न नसक्ने भइसकेको छ । अब उखान परिवर्तनको आवश्यकता पूरा गर्ने यो राष्ट्रिय अभियानलाई सबै सबैको समर्थन प्राप्त होस् ।
फेरिएका केही उखान
१. ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ ।
अब त्यसो हैन, यसो–
भ्रष्टाचार लागेको हाकिमलाई पिउनले पनि लखेट््छ ।
२. लङ्कामा सुन छ कान मेरो बुच्चै ।
अब त्यसो हैन, यसो–
ट्वाइलेटमा सून छ, ल्याउ भने थुन्छ ।
३. इन्द्रको अगाडि स्वर्गको बयान गर्छे ।
अब त्यसो हैन, यसो–
दिदीको अगाडि, भिनाको पाइन्टला’र फूर्ति लाउँछे ।
४. अच्छिउँ खाएँ बच्छिउँ खाएँ, झुसे बारुलो
अब त्यसो हैन, यसो–
कोशी बेचो, महाकाली बेचो नाथे गण्डकी ।
५. हात्तिको मुखमा जिरा ।
अब त्यसो हैन, यसो–
मन्त्रीको छेउमा जनता ।
६. मामाको घोडामा भान्जाको हिही ।
अब त्यसो हैन, यसो–
मन्त्रीको गाडीमा, उसकी छोरी र ब्वाइफ्रेण्डको हिही ।
७. आकाशमा फल छ, आँखा तरी मर्छ ।
अब त्यसो हैन, यसो–
तराईमा घर छ बाढीको डर छ, ।
८. बाउआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढा माथि ।
अब त्यसो हैन, यसो–
जनताको मन नेतामाथि नेताको मन विदेशी अनुदानमाथि ।
९. खाने मुखलाई जुँगाले छेक्दैन ।
अब त्यसो हैन, यसो–
मन्त्रीलाई अख्तियारले छेक्दैन ।
१०. कुन्ता कि बुहारी भट्मास खा’की ।
अब त्यसो हैन, यसो–
कुन्ताको हाकिम भन्सारमा गा’को ।
११. घाँटी हेरी हाड निल्नु ।
अब त्यसो हैन, यसो–
बजेट हेरी भ्रष्टाचार गर्नु ।
१२. अचानोको पिर खुकुरीलाई के था ?
अब त्यसो हैन, यसो–
ड्राइभरको पिर खलाँसीलाई के था ?
१३. बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि ।
अब त्यसो हैन, यसो–
दुईटी स्वास्नी चारवटी साली, आफ्नो ओछ्यान सधै छ खाली ।
१४. जो चोर छ, उसैकै ठूलो स्वर ।
अब त्यसो हैन, यसो–
जो घुस खान्छ उही माथि जान्छ ।
Subscribe
Login
0 Comments
Oldest






































