शालिग्राम अर्यालतिम्रो के पो जान्थ्यो ? :: मह जोडी
ईश्वर तिमीले जगत बनायौ
चन्द्र बनायौ,सूर्य बनायौ
यति सुन्दर पृथ्वी बनायौ
पृथ्वीमै राम्रो नेपाल बनायौ
यही नेपालमा हिमाल खन्यायौ
पहाड खन्यायौ, तराई खन्यायौ
एउटा राम्रो नेता दिनलाई
किन तिमीले टाउको कन्यायौ ?
एउटा राम्रो नेता दिएको भए
नेपाल राम्रो हुन्थ्यो
नेपाल धनी भा भए हाम्रो
नाकै कत्रो हुन्थ्यो
काँक्रो जत्रो हुन्थ्यो
लौका जत्रो हुन्थ्यो
नेपालमै काम पाए
अरबमा को पो जान्थ्यो
आमाबाउको काखमै बसी
हाँसी हाँसी खान्थ्यो
एउटा राम्रो नेता द्या भए
तिम्रो के पो जान्थ्यो ?
ईश्वर तिमीले सुन बनायौ
चाँदी बनायौ, तामा बनायौ
तर नेपालको नेतालाई किन
गुण्डाहरुको मामा बनायौ ?
भात खानलाई चामल बनायौ
रोटी खान गहुँ
एउटा राम्रो नेता खोज्ने
तीन करोड हामी छौँ
ढिँडो खान मकै बनायौ
तेल पेल्नलाई तोरी
देश बिग्रेर रोइरहेका छौँ
तिम्रा छोराछोरी
ईश्वर तिमीले आगो बनायौ
हावा बनायौ, पानी बनायौ
नेपालका ब्युरोक्रेट्सलाई
किन घुस खाने बनायौ ?
उसिनेर खान आलु बनायौ
भुटेर खान भटमास बनायौ
नेपाल हाँक्ने ड्राइभरहरुलाई
किन तिमीले बदमास बनायौ ?
ईश्वर तिमीले रगत बनायौ
मासु बनायौ हड्डी बनायौ
नेपालको राजनीतिलाई
किन तिमीले रद्दी बनायौ ?
ईश्वर तिमीले रुख बनायौ
हाङ्गा बनायौ डाँठ बनायौ
नेपालको टाउकेहरुलाई
किन तिमीले स्वाँठ बनायौ ?
ईश्वर तिमीले नाक बनायौ
निधार बनायौ खप्पर बनायौ
नेपालका टाउकेहरुको
खप्परमा किन गोबर खन्यायौ ?
Subscribe
Login
0 Comments
Oldest





































