सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अब सबै ऊ हुन्छ :: चिरञ्जीवी पौडेल

Nepal Telecom ad

गाईजात्रे अन्तर्वार्ता

0प्रधानमन्त्रीज्यू, स्वास्थ्य कस्तो छ अहिले ?
-हेल्थ एकदम तोतल्ली… तोतल्ली फित एन्ड फाइन छ (ख्वाङ… ख्वाङ… ख्वाङ…) । यो खोकीले चैँ साह्रै दुख दिइरा’छ । फेरि दुई–चार दिनदेखि जरो आएर ओछ्यानबाट उठ्नै सकेको छैन । पेट पनि ठीक छैन किन हो । तर, हेर्नुस् अमेरिकाबाट फर्केपछि आई एम तोतल्ली हेल्दी । म हन्द्रेद पर्सेन्त फित छु ।

0प्रधानमन्त्रीजस्तो मान्छे, ओछयानबाटै उठ्न नसकेपछि देश कसरी चलाउनुहुन्छ ?
-देश त पशुपतिनाथले चलाउनुहुन्छ । हाम्रो देश थोडी हिन्दुस्तान हो र प्राइममिनिस्तरले चलाउने ?

0तपाईं दुई–दुईपटक क्यान्सरले गाँजेको जीर्ण शरीर छ, तैपनि किन पद ओगटेर बसिरहनुभएको छ ? राजीनामा गर्दा हुँदैन ?
-मैले भनिसकेँ, आई एम तोतल्ली फित । क्यान्सर–स्यान्सर भन्या त भइहाल्छ नि कहिलेकाहीँ मान्छेलाई । राजीनामा दिएर यो बुढेसकालमा कहाँ जाने ? तपाईंले पाल्नुहुन्छ ?

0भनेपछि राजीनामा गर्ने कुनै मुडमा हुनुहुन्न ?
-राजीनामा साजिनामाको कुरा नगर्नुस् । जनताले यत्रो ऊ गरेका छन् । पिस प्रोसेसलाई तुंगोमा पु¥याएर देमोक्रेसी र हुमन राइट्समा कुनै कम्प्रोमाइज नगरीकन अघि बढ्छु । मैले मोदीजीलाई पनि भनिसकेको छु । राष्ट्रिय सहमतिको कुनै–कुनै विकल्प छैन । मलाई आफ्नो हेल्थको भन्दा देशको हेल्थको चिन्ता छ बुझ्नुभो ।

0तर, प्रधानमन्त्री भएर अहिलेसम्म केही गर्न सक्नुभएन भन्ने आरोप छ नि तपाईंमाथि ?
-किन केही गरिनँ ? कस्तो अचम्मको ऊ गर्नुहुन्छ ।

0के–के गर्नुभयो बताइदिनुस् न त ?
-प्राइमिनिस्तर हुनासाथ नयाँ दौरा–सुरुवाल सिलाएँ । यतिका मन्त्रीहरू बनाएँ । डेढ महिना अमेरिका बसेर मेरो क्यान्सरको उपचार गरेँ । यति छोतो समयमा यत्रो काम भएको छ ।

0यो त तपाईंको व्यक्तिगत कुरा भयो । देशका लागि के गर्नुभयो ?
-हेर्नुस्, धेरै काम भाको छ । म प्रधानमन्त्री भएदेखि नै राष्ट्रिय सहमतिमा जोड दिएर पिस प्रोसेसलाई तुंगोमा पु¥याउनका लागि शान्ति सहकार्य र एकताको कुनै विकल्प छैन । मैले मोदीजीलाई पनि भनिसकेको छु । अब सबै ऊ हुन्छ ।

0तर, सरकार एकदम सुस्त भयो, कछुवालाई समेत माथ ख्वाउन लाग्यो भनेर आलोचना भइरहेको छ नि ?
-हेर्नुस्, ढिला गए अवश्य पुगिन्छ । चाँडो गए भन्न सकिन्न । तपाईंले कछुवा र खरायोको ऊ सुन्नुभएको छैन ? मलाई छितो कुदेर रेस हार्नु छैन ।

0सिन्धुपाल्चोकमा पहिरोले त्यत्रो मान्छे मरे, तर केही गर्नुभएन भनेर पनि तपाईंको आलोचना भइरहेको छ ।
-पहिरो गयो त मैले के गर्नु ? थोडी मैले ल्याइदिएको पहिरो हो ? मैले पहाडमा चढेर लात्ताले हानेर ढालेको जस्तो कुरा किन गर्नुहुन्छ ?

0मैले भन्न खोजेको, आफ्ना नागरिक बिपत्तिमा पर्दा त प्रधानमन्त्रीले हेर्नुपर्ने होइन ?
-हेरिरहेको त छु नि । थोडी आँखा चिम्लेर बसेको छु ।

0घटनास्थलमा एकचोटि पनि जानुभएको छैन, कसरी हेर्नुभयो ?
-टेलिभिजनमा, न्युजपेपरमा हेरिरहेको छु ।

0मिडियामा हेर्नु अलग कुरा हो । पहिरो पीडितलाई सहयोग गर्ने तपाईंको दायित्व होइन ?
-म विश्वकै गरिब प्राइममिनिस्तर भन्ने तपाईंलाई थाहा छैन कि क्या हो । सम्पत्तिका नाममा तीनवटा ऊ छन् । एउटा आफैंलाई चाहियो । एउटा बिग्रेको छ । अब एउटा मोबाइल बोकेर म कसलाई सहयोग गर्न जाउँ ? फेरि पहिरोले त पूरै गाउँ नै बगायो भन्ने सुनेको छु । सबै पुरिएपछि कसलाई सहयोग गर्ने ? पुरिएर मरिसकेका मान्छेलाई के सहयोग गर्ने ?
हेर्नुस्, म फेरि पनि भन्छु । यो पहिरो–सहिरो भनेको त आउँछ, जान्छ । मेजर कुरा के हो भने पिस प्रोसेसलाई कसरी तार्किक निष्कर्र्षमा पु¥याउने भन्ने हो । मैले मोदीजीलाई पनि भनिसक्या छु– सहमति, सहकार्य र एकताको कुनै विकल्प छैन ।

0मोदीको भ्रमणलाई सरकारले कसरी मूल्याङ्कन गरेको छ ?
-मैले मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छु । उहाँले समय मिलाएर आउँछु भन्नुभएको छ । देफिनेट्ली यो भ्रमण्ले नेपालको देमोक्रेसी र लोकतन्त्रका लागि ठूलो ऊ गर्नेछ ।

0मोदी अस्ति नै आइसक्नुभो त । तपाईं कहिलेको कुरा गर्दै हुनुहुन्छ ?
-ए आइसक्नु भो ? ल राम्रो भो । साँच्ची अहिले कहाँ हुनुहुन्छ तपाईंलाई थाहा छ ?

0त्यतिवेलै गइहाल्नुभो नि !
-जानुभो ! रियल्ली ? ओ माई गद, साह्रै असल मान्छे हुनुहुन्थ्यो । भगवानले पनि यस्तै मान्छेलाई ऊ गर्छ । यो घटनाप्रति समस्त नेपाली जनताको तर्फबाट…

0हैन, हैन । मैले त नेपाल भ्रमण सकेर भारत जानुभो भनेको ।
-ए भारत पो । म पनि के–के सोच्छु के–के । किन जानुभो त भारत ? मलाई नभेटी जानु भो ?

0भेट्नुभयो त । तपाईंले नै एयरपोर्ट गएर स्वागत गरेको अनि सिंहदरबारमा भेटेको बिसिर्नुभो ?
-एक्चुअल्ली, आई एम किडिङ ! मोदीजीसित मैले एक घन्ता गोप्य वार्ता गरेको हुँ । मलाई एक–एक कुरा याद छन् ।

0मोदीसितको भेट कस्तो भयो त ? तपाईंहरूको गोप्य भेटमा के कुरा भयो ?
-मोदीजी आउनुभो मलाई भेट्न । मैले बसौँ भने । उहाँ बस्नुभयो । चिया खाने कि कफी खाने भनेर सोधेँ । उहाँले केही पनि नखाने भन्नुभो । मैले भने कि कहाँ केही नखाएर हुन्छ । पाहुनालाई खाली मुख पठाउने हाम्रो ऊ छैन भनेपछि ठीक छ केही फलफूल मगाउनुस् न त भन्नुभयो । मैले केरा खानुहुन्छ त भनेर सोधेँ । उहाँले ठीक छ मगाउनुस् भन्नुभो । मैले एउटा खानुहुन्छ कि दुइटा खानुहुन्छ भनेर सोधेँ । उहाँले एउटा मात्रै खान्छु भन्नुभो । मैले ताछेर ल्याऊँ कि नताछी ल्याउँ भनेर सोधेँ । उहाँले बोक्रैसित ल्याउनुस् भन्नुभयो । उहाँले केरा ताछनुभयो र भन्नुभयो कि बोक्रामा धेरै भिटामिन हुन्छ यो तपाईं खानुस् । उहाँले केरा खानुभयो र बोक्रा मैले खाएँ । साह्रै दिलदार मान्छे हुनुहुँदो रहेछ । भिटामिन नभएको केरा आफूले खाएर भिटामिन भएको बोक्रा मलाई खान दिनुभो ।

0राजनीतिक कुराकानी चैँ के भए ? नेपालबारे मोदीको धारणा कस्तो पाउनुभो ?
-हिन्दुस्तान नेपाललाई जस्तो सहयोग पनि गर्न तयार छ, भन्नुस् के–के चाहिन्छ भन्नुभयो । मैले एक क्विन्टल केराको बोक्रा पठाइदिनुस् भनेको छु । उहाँले छिटोभन्दा छिटो पठाइदिने कमितमेन्त गर्नुभएको छ । सरकारले अब देशका सबै जनतालाई हिन्दुस्तानले सहुलियत दरमा पठाउने केराको बोक्रा खुवाउने ऊ गरेको छ ।

0मोदीसितको भेटमा पिटिएको कुरा पनि त भयो होला नि ?
-होइन, पितिएको भन्ने कुरा विल्कुल कपोलकल्पित र निराधार हो । यो सबै मिडियाले तुइस्त गरेर लेखेको हो । हामीबीच देफिनेत्ली एकदम सौहार्दपूर्ण वातावरणमा ऊ भएको छ । न मोदीजीले मलाई पित्नुभयो न मैले मोदीजीलाई मैले पितेँ । सामान्य ऊ भएको हो, तर त्यस्तो ऊ भएको होइन ।

0भारतले नेपाललाई एक खर्ब रुपैयाँ लोन दिने भनेको छ नि । त्यो रकम नेपालले केमा लगानी गर्छ ?
-हेर्नुस्, हामी थुप्रै सङ्ख्यामा खुत्रुके किन्दैछौँ । भारतले दिने पैसा त्यसमा जम्मा गर्छौं । विभिन्न दलका नेताहरू बिरामी भएका बेला विदेशमा लगेर उपचार गर्न मात्रै यो पैसा खर्च हुन्छ । नेताहरूको उपचार गर्न हाम्रो राष्ट्रिय ढुकुटीले मात्रै नभ्याउने भयो । त्यसैले यो लोन लिएको हो । अब सबै नेताहरू धुक्क भएर बिरामी पर्दा हुन्छ ।

0तपाईंका भावी योजनाहरू के छन् बताइदिनुस् न नेपाली जनतालाई ?
थुप्रै छन् । सुरुमा त चर्पी जान्छु र ऊ गर्छु । त्यसपछि एक गिलास दूधमा कर्नफ्लेक्स हालेर खान्छु । अनि मेदिसिन लिन्छु । मेदिसिन लिएपछि ५–६ घन्टा यसो आराम गर्छु । त्यतिन्जेलमा निद्रा पनि लाग्छ । खाना खाएर सुत्छु । राति ३–४ चोटि पिसाब फेर्न उठ्नुपर्छ ।

0देश हाँक्ने योजना चाहिँ केही पनि छैनन् ?
-देश के टाटासुमो हो र हाँक्नुपर्ने ? हाँकेर कहाँ लैजाने ? यता हिन्दुस्तान छ यता चाइना । जाने ठाउँ कहाँ छ ?

0अन्त्यमा एउटा फरक प्रसङ्ग । चरीको हत्याको विषय यतिवेला जोडतोडले उठिरहेको छ । यसमा प्रधानमन्त्रीज्यूको भनाइ के छ ?
-यो घतनाले म एकदम स्तब्ध छु । आई एम तोतल्ली सक्ड ! देफिनेट्ली यसको इन्भेस्टिगेसन हुन्छ । चराचुरुङ्गीहरू भनेका रास्तका सम्पदा हुन् । उनीहरूलाई मार्नेलाई त ठूलो पाप लाग्छ । यस्तालाई त नर्कमा पनि स्पेस दिनुहुँदैन ।

‘नयाँपत्रिका’बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad