डा. विदुर चालिसेसखा नै मदिरा !
सानो छँदा
भोजभतेरमा जाँदा ठूलै जमघट हुन्थ्यो
इष्टमित्र, साथीभाइ उसका अघिपछि गर्दै
भलाकुसारी गर्थे
अनि हँसीमजाक गर्थे
तत्कालीन परिवेशका
कुरा गर्थे
साह्रै रमाइलाका साथ भोजभतेर
अनि जमघट विसर्जन हुन्थे ।
तर आजकल
उसका बालसखाहरू ऊसँग टाढिएका छन्
हरेक भोज भतेरहरूमा उसलाई पनि
निम्ता हुन्छन्
जसरी बाल्यकालमा हुन्थ्यो ।
ऊ हरेक निम्ताको आदर गर्दै
निम्ता स्वीकार गर्छ
र, जान्छ निम्ता मान्न
तर ऊ कहिल्यै खुसीसाथ
निम्ता मानेर फर्केको छैन ।
पहिलेको जस्तो
बालसखाबीच भलाकुसारी
हँसीमजाक
अनि जमघट हुन सकेको छैन ।
ऊ ताजुब मान्छ
वर्तमान संस्कार देखेर
ओठ निचोर्दा दूध निस्कने बेलाकाहरू
सोमरसमा लिप्त छन्— भोजहरूमा
अनि लिप्त छन् तथाकथित मोजमस्तीमा
अर्धनग्न पहिरन
त्यसमा पनि पारदर्शी !
पारदर्शिताको फाइदा उठाउँदै
अझै उत्साहित छन् युवाहरू
गाँजा र चुरोटको सर्को लगाउँदै
झुम्मिएका छन् तिनै युवतीहरूका समीप
यसैले ऊ विक्षिप्त बन्छ
भोजभतेर अनि कथित पार्टीहरूमा !
हिजोका बालसखाहरू मस्त छन् मदिरामा
ऊ मदिरा छुँदैन
यसको मतलब खाँदैन
र त एक्लो छ भोजभतेरमा
उसलाई मनोरञ्जनको त के कुरा
बोझा ठान्छ भोजभतेर अनि पार्टीमा ।
आजकल लाग्न थालेको छ उसलाई
मदिरा रहेछ—
मित्र, सखा भनेको त
मदिरा नै सच्चा मनोरञ्जनको साधन रहेछ
मिल्ने बालसखाहरू मदिरालाई
मित्र बनाउन थालेछन्
र उसलाई घेर्ने र हँसीमजाक गर्नेहरू
आज पनि घेर्दे हँसीमजाक गर्दै
पाखेको संज्ञा दिई धिक्कारी रहेछन्
ऊ भने ती घेराबाट
फुत्किने असफल प्रयास गरिहेछ
या समाजको नियति देखेर
आफूले आफैलाई धिक्कारी रहेछ ।
भासिएको छ
सान र मान नै आज समाजको
रक्सी र जुवामा
त्यसैमा लिप्त हुनेहरू
ठुलाठालु घोषित
ऊ भने समाजमा
सबैभन्दा नीच, दरिद्री भई
गरिरहेछ जीवन दुखजिलो निर्वाह ।
निम्तोपत्र र निम्ताको खोजी गर्ने ऊ
आजकल निम्तादेखि भागिरहेको छ
भोजभतेरहरूमा
जमघट गर्न
उत्कट चाहना राख्ने ऊ
थालेको छ बस्न आजकल एक्लै घोरिएर ।
गोरखा
Subscribe
Login
0 Comments
Oldest






































