रामशरण न्याैपानेमान्छेको कुरा गरी साध्य छैन
कहिले स्यालमा रङ चोपेर बाघ बन्छ
कहिले खरानीमा बसेर त्यागी बन्छ
समय अनुसार रङ फेर्छ
त्यसैले
मान्छेको बयान गरी साध्य छैन हजुर ।
हिजो ऊ राम्रो थियो
एकतिस लक्षणले युक्त
आज त पानी परेछ नि कहाँ रहन्छ र हिजोको ऊ
पानीले पखाल्छ उसको पहिचान
हावाले घटाउँछ उसको यथार्थ
त्यसैले मान्छेको कथा बयान गरी साध्य छैन हजुर ।
कैले चरित्रमा सुनको जस्तो निख्खरताको आभास देखाउँछ
कैले रङ फेर्छ क्षणभरमै
खै सबै व्यापारी हुन कि मान्छे
अर्थमा आफूलाई दाँजेर हेर्छ
आज आफैँ मानेको
भोलि नचिनिने हुन सक्छ
ए साथी यो त मौसमी संसार हो
जलवायु परिवर्तनको असर तिम्रो साइनोमा पर्छ
तिम्रो नाता सम्बन्धमा पर्छ
हिउँदमा तिमी कसैको छोरा थियौ
बर्षातमा नहुन सक्छौ
कसैको आमा दिदी वा दाई केही थियौ
आज त्यो नहुन सक्छौ
किनकि तिमी ब्यापारी साइनोमा छौ अचेल
त्यसैले मान्छेको चरित्र चित्रण सम्भव छैन हजुर ।
भनौला तिमी त मान्छे सरल छन् इमानदार
तर इमानदारी नाप्ने एकाई छैन
कुनै मिटर बनेछ भने होला
त्यसको हिसाब किताब पनि
तिम्रो मनले छानेको निस्वार्थी
सबै भन्दा भयङ्कर हुन सक्छ
भन्छौ क्यारे भावनाको नाता पवित्र हुन्छ
तर
आमाको बात्सल्य नै व्यापार भएपछि
बाबुको स्नेह नै नाफामुखी भएपछि
लोग्नेको प्यार नै स्वार्थी भएपछि
पत्नीको प्रेम नै दोषी भएपछि
सन्तानको माया नै खोटो भएपछि
कसको के लाग्छ हजुर ?
त्यसैले मान्छेको कुरा गरी साध्य छैन हजुर ।
मन मान्छेको मन हुन्न
धन मान्छेको मन हुन्छ
खै कसरी यस्तो हुन्छ ?
यहाँ हरेकको मनमा हिसाब हुन्छ
कुन पाइलामा कति नाफा हुन्छ ?
कुन चालमा कति आफू दरिन्छ ?
त्यसैले मान्छे
व्यवसायिक बनेछन्
कुन व्यवहारको लगानी कति ?
कति समय कस्ता शब्दमा कति ‘रिटर्न’ आउँछ ?
सबैको लेखाजोखामा मान्छेका पाइला चल्न थालेपछि त
खै के मान्छेको कुरा गरौँ र हजुर
खै चरित्रको कुरा गरी के साध्य छ र हजुर !
त्यसैले
मान्छेको कुरा गरी के साध्य छ र हजुर !!
आखिभुईँ ८, संखुवासभा
हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































