फित्काैली डटकमहस्तबहादुर मगरको हत्यापछि
फलानो मिडिया च्यानलका लागि
टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममा
आज साँझ
तिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र संचारकर्मी,
कसरी तीन सय रुपियाँमा किनेर ल्याएको
एक बोतल पेट्रोल छर्केर
कसले आगो लगायो कसलाई र मार्यो जलाएर
प्रष्ट पारिदियौ सवै घटना
खुलस्त पारिदियौ सवै विवरण ।
तर मेरा मित्र संचारकर्मी,
तिमीले भनेनौ केही भित्री कुराहरू
खोलेनौ केही कटु सत्यहरू
जस्तो कि
कतै हुने गरेझैं जातीय अहंकार पोष्ने गरी
गरेको थिएन यो हत्या कोही कथित उच्च जातिले जनजातिको
कतै हुने गरेझैं लैंगिक हिंसा हुनेगरी
गरेको थिएन यो हत्या कोही पुरुषले नारीको
यो आगो त
कृष्णबहादुर मगरले
हस्तबहादुर मगरको ज्यानमाथि झोसेको थियो
यो घटना त
कुनै असचेत, अशिक्षित, दुर्गम, दूरदराजमा भएको थिएन
हेटौंडा नामको कुनै सुगम, उन्नत नगरको वडा नं. ८ मा
अठारौं शताव्दीमा हैन
एक्काइसौं शताव्दीमा
बहत्तर सालको फागुन महिनामा
आजैका दिन गरिएको थियो यो हत्या ।
साँझ समाचार वाचनको अन्तमा तिमीले
बोक्सोको आरोपमा हत्या गर्ने
हत्यारा कृष्णबहादुर मगरमाथि कडाभन्दा कडा कारवाही हुनुपर्ने माग पनि गर्यौ
निर्दोष हस्तबहादुर मगरको निधनमा दुःख पनि प्रकट गर्यौ
कडा कानून, दृढ कार्यान्वयन
चनाखो पुलिस, सम्वेदनशील अदालत आदि आदि प्रकरणहरूमाथि
सप्रसंग टिप्पणी गर्यौं ।
तर मेरा मित्र संचारकर्मी,
तिमीले त्यो अन्धविश्वासको बिक्रेतामाथि
कुनै कारवाहीको माग गरेनौं
जो ज्योतिष महाराजको नाममा
हेटौंडाछेउमा अखाडा जमाएर बसेको छ
जसले छाला चिलाउने रोग लगाइदिने बोक्सोको आरोपमा
निर्दोषको ज्यान मार्न अपराधीलाई उक्साएको थियो
तिमीले त्यो अन्धविश्वासको प्रचारकमाथि पनि
कुनै कारवाहीको माग गरेनौं
जो तिम्रै टि. भि. च्यानलको रुपमा
घरघर पसेर
यो वा त्यो नाममा अन्धविश्वासको व्यापार गर्नेगर्छ
तिमीले त्यो अन्धविश्वासको माउस्रष्टामाथि पनि
कुनै कारवाहीको माग गरेनौं
जो कथित परंपरा, कर्मकाण्ड वा दर्शनको ठेकेदार भएर
दक्षिणा असुल्ने गर्छ
जसले काल्पनिक पराशक्तिको वकालत र व्याख्या गर्नेगर्छ ।
हो, मेरा मित्र संचारकर्मी,
यसरी आज तिमीले
पातहत्यारा वा हांगाहत्यारालाई कारवाहीको माग गर्यौ
तर डाँठहत्याराको चर्चै गरेनौ
जराहत्याराको नामै लिएनौ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































