प्रेम ओली ढकलपुरेझ्याप्प छाप लाग्छ
हाकिम साहब त हुनुहुन्न
तर यसो कुरो मिल्छ भने
हाकिम साहबलाई खोजेर भए पनि
तपाईंको कागजातमा आजै
झ्याप्प छाप लाग्छ
नत्र धरोधर्म हाकिम साहब बिजी हुनुहुन्छ
किन झुठो बोल्थँे पाप लाग्छ ।
के गर्ने हजुर
अरुलाई जस्तो हामीलाई
टिएडिए आउँदैन
माथिकाले जस्तो हामीले
कतै केही पाउँदैन
मोटर गाडीमा आउनै पर्यो
श्रीमतीहरूले पनि
क्रिम पाउडर लाउनै पर्यो
यसो केही झर्दैन भने
आज हाकिम साहब आउनु हुन्न
आएको भए पनि
तपाईं भित्र जान पाउनु हुन्न
अलिकति हुन्छ भने झ्याप्प छाप लाग्छ
धरोधर्म किन ढाँट्थेँ नत्र पाप लाग्छ ।
दुई चार सय भए
तपाईंको काम दुई चार घण्टा लाग्छ
दुई चार हजार हो भने
यो सेवक अहिले नै जाग्छ
हाकिम साहब खालमा बसेका भए पनि
मालमा पसेका भए पनि
खोजी खोजी तिम्रो कगजातमा
आजै झ्याप्प छाप लाग्छ
नत्रो धरोधर्म तपाईंको मासु खानु
हाकिम साहब हुनुहुन्न
किन झुठो बोल्थेँ पाप लाग्छ ।
बोर्डिङको फी पनि तिर्नै पर्यो
साँझ यसो भट्टी पनि छिर्नै पर्यो
उधारो खाको त्यो तिर्नै पर्यो
यसो दाम झर्छ भने हाकिम साहब
मधुशालामा फसेका भए पनि
मसाजशालामा पसेका भए पनि
खोजी खोजी तपाईंको कागजातमा
झ्याप्प छाप लाग्छ
नत्र भोलि आउनु होला
धरोधर्म किन दुःख दिन्थेँ
मलाई पाप लाग्छ ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































