वासुदेव पाण्डेयके देश लाग्थ्यो उँभो !!
कोही माथि पुग्यो भने सब मिली तानी लडाएपछि
खोजी भालु बनेर पण्डित ठुलो चण्डी पढाएपछि ।
खोज्दै छन् फलफूल टिप्न पहिले रोपे सबैले दुबो
यस्तै सोच र कर्म नागरिकका के देश लाग्थ्यो उँभो ?
हामी जन्मधरा पवित्र र ठुलो भन्छौँ उठाई शिर
साँच्चै कर्मथलो सबै युवकको खाडी न हो आखिर ।
बस्छन् बालक, वृद्ध, अक्षम, कुनै मान्छे भएमा कुँजो
मान्छे कर्मठ देश बाहिर गए के देश लाग्थ्यो उँभो ?
खोजी काम र माम यो मुलुकमा आक्रान्त हामी पनि
साँच्चै सुन्दछु आज गाउँघरमा छैनन् मलामी पनि ।
बाँझा उर्वर खेत छन् अझ त्यहाँ देखेकक फुलेको गुभो
धर्तीपुत्र किसान बाहिर गए के देश लाग्थ्यो उँभो ?
ऊर्जा स्रोत अथाह, सिँच्न क्षमता घट्दैछ ध्यानै न दी
जान्छन् बाध्य भई विदेशतिर नै नेपालका यी नदी ।
चेली झैँ सरिता उपेक्षित भए कौमार्य निस्सार भो
देवीको अपमान कान्तिक्षयले के देश लाग्थ्यो उँभो ?
सत्ता खातिर धर्म,कानुन मिचे फाटो र बेमेल भो
छाई शोषण, भ्रष्टता शठपना यो देश नै जेल भो ।
ज्ञानी, सज्जन, राष्ट्रभक्त छ भने झर्नेछ पक्कै उँधो
बन्दा भ्रष्ट, छली, पिशाच बलिया के देश लाग्थ्यो उँभो ?
सीमा, गौतम बुद्ध वा सगरमाथामाथि दाबी गर्यो
बोलोस् राज्य बुलन्द भैकन छिटो चाहे नि आशा मर्यो ।
नेपाली मनझैँ दुख्यो दशगजा सत्ता कहाँ पो चुक्यो
मान्छे कायर, मौन, सालिक भए के देश लाग्थ्यो उँभो ?
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































