वासुदेव पाण्डेयगुनासो
हामी गोबरका गणेशसरि छौँ फुट्छौँ, लुटिन्छौँ अनि सारा दोष थुपार्न माहिर भयौँ निर्दोष आफू बनी । फेरिन्नन् किन क्रान्तिबाट जडता यी शून्यता, दुर्दिन जोड्ने पत्थर, धातु, काठ र सिसा मान्छे नजुट्ने किन ?

वासुदेव पाण्डेय :
धेरै काम गरेर बन्दछ धनी, सिद्धान्तले भन्दछ
गर्ने काम खटेर झन् गरिब छन् बस्ने धनी बन्दछ ।
बन्छन् पत्थर देवता रगडिए, बिन्ती कहाँ सुन्छ र
घोडाको त फलामकै छ चिउरा के ऊ सुखी हुन्छ र ?
टुक्का,सूक्ति,उखान छन् गहकिला किस्सा कहानीहरू
आशादीप जलाउने सब कुरा थप्छन् चुनौती बरु ।
‘गीता’ भन्दछ कर्मको फल ढिलो मिल्ने छ पक्कै तर
सोधे ‘काम ठुलो कि माम’ यसको हो ‘मौनता’ उत्तर ।।
भारी बोक्छ गधा खटीकन सधैँ सन्तोष के पाउँछ
बाँझो खेत चिरेर गोरु कहिले सम्मान भेट्टाउँछ ?
बाजेका दिनको तिरूँ ऋण भनी जोतिन्छ नाबालिग
जोती खेत कहाँ बने र हलिया त्यो भूमिका मालिक ।।
भन्थे ‘धीर बने, सहे सब कुरा राम्रो हुने’ रे पछि
सोही मन्त्र जपी सबै पिछडिए हुन्थ्यो कहाँ उन्नति ?
धेरै छन् तर एक छैन यिनमा खै ए-कताका कुरा
आफ्नो वर्ग लुटिन्छ हेर्छ सजिलै बाँधी दुई पाखुरा ।।
हामी गोबरका गणेशसरि छौँ फुट्छौँ, लुटिन्छौँ अनि
सारा दोष थुपार्न माहिर भयौँ निर्दोष आफू बनी ।
फेरिन्नन् किन क्रान्तिबाट जडता यी शून्यता, दुर्दिन
जोड्ने पत्थर, धातु, काठ र सिसा मान्छे नजुट्ने किन ?
०००
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































