प्रोल्लास सिन्धुलीयजन्मजात बाहुनको विज्ञप्ति

नाकै थेप्चिने गरी
कसैले चोरऔँलाले ठेलेदेखिन्
दिमाग रनथन्याएर सोचिरहेछु—{{read_more}}
एउटै बेन्चमा राखेर मास्टरले
मलाई मात्र बाठो बनाउने गरी
कुन पुस्तक पढाए होलान् त्यतिबेला ?
मैले पुख्र्यौली छाला बेचेर
हालेको होइन यो चुच्चो नाक
कसैले जन्मदिनको उपहारस्वरूप
दिएका होइनन् यी बल्ढ्याङ्ग्रे आँखा
टेलिभिजनको
आकर्षक विज्ञापनको स्याम्पु घसेर
उम्रिएका होइनन् यी दारीजुँगा
उसैको थप्रिङमा पलेटी मारेर
उसकै बटुकोको छ्याङ
सिनित्त पिएको छु मैले
दाँत दुखुन्जेल
उसकै भागको सुकुटी चपाएको छु
ऊजस्तै बनेर
उसको बाको काखमा निदाएको छु
उसलाई सोध्दै नसोधी
उसकी आमाको दूध पिएको छु मैले पनि
कुखुराको चल्लाजस्तो प्याट्ट
बोक्रा फुटालेर निस्किएको होइन म पनि
टुक्रुक्क खसेर आकाशबाट
टुकुटुकु हिँडेको पनि होइन
मैले लडिबुडी खेलेको माटो र
उसको बारीको कान्लो
उस्तै छ
एउटै वायुमण्डलले श्वास धानेको छ
उसको पनि र मेरो पनि
नौ महिना
उसकी आमाजस्तै आइमाईको
कोखको गुप्तबास झेलेकै हुँ मैले पनि
किन बाहुन जन्मिएँ ?
किन मेरो नाक थेप्चिएन ?
किन मेरा आँखा चिम्सिएनन् ?
किन अचेल ऊ आफूलाई लाटोसुधो ठान्छ
अनि, मलाई धूर्त–चण्डाल मान्छ ?
केही थाहा छैन मलाई ।
ऊ र म भएरै यो देश भएको हो
उसले र मैले मानिदिउन्जेल
यी ढुङ्गा र माटाका साँध–सिमाना रहन्छन्
यो ‘राज्य’ भन्ने भाँडो रहन्छ
उसले कैय्यन् चोटि
‘काठो’ भनेको छ मलाई
मैले कैय्यन् चोटि
‘भोटे’ भनेको छु उसलाई
ऊ रिसाउने भए उतिबेलै रिसाउँथ्यो
उसकी आमाले तेल घसेका यी हातले
उसका बाको औँला समातेर
उसकै आँगनमा युगौँ हिँडेको छ यो बाहुन
उसले आफ्नै बासँग सोध्नुपथ्र्यो—
तिम्ले ताते गर्न सिकाएको
कान्छा बाहुनको खुट्टा भाँच्नु छ बा !
भाँचौँ कि नभाँचौँ ?
सोध्नुपथ्र्यो आमासँग—
तिम्ले मेथी झानेको तेल घसेर
बलियो बनाएको बाहुनको बच्चोको
करङ खुस्काउनु छ आमा !
खुस्काऊँ कि नखुस्काऊँ ?
उसको बाको युगीन सद्भाव
उस्तै छ मेरो शिरमाथि
उसकी आमाको पुस्तैनी ममता
सराबरी छ मेरो मातृत्वसँग
यो चुच्चो नाक देखापर्यो भने आँगनमा
आफ्नै भाग कटाएर मेरा लागि
भाग हालिदिने चलन
अझै छ उसको घरमा
कहिल्यै
‘कुनै जातको हुन नसकेको’
यो चुच्चो नाकमुन्तिरको एउटा मन
र, यी बल्ढ्याङ्ग्रे आँखापछाडिको
एक थुप्रो ‘अजातीय’ मथिङ्गल बोकेर
पुस्तौँदेखिन्
उभिएको उभियै छु
ओ महाशय !
सक्छौ भने
मजस्तो जन्मजात बाहुनको
‘विचार’लाई
‘बाहुन’ बनाएर देखाऊ !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































