साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा समसामयिक कविताहरू सङ्कलित छन् । कवितासङ्ग्रह सँगसँगै उनको ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) प्रकाशनको प्रतीक्षामा प्रेसमा छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० असोज १९ । कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा आएको छ ।

लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा समसामयिक कविताहरू सङ्कलित छन् । कवितासङ्ग्रह सँगसँगै उनको ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) प्रकाशनको प्रतीक्षामा प्रेसमा छ । ‘नारीको आवाज’ २०४७ (तिजका गीतसङ्ग्र्रह) प्रकाशित कृति हो ।

‘अर्को कर्नाली’ सङ्ग्रहमा साहित्यकार डा. नेत्र एटमले भूमिका लेखेका छन् । भूमिकाको क्रममा उनले लेखेका छन् “युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।”

डुम्रिबेसी, तनहुँमा २०२९ मा जन्मिएका युवराज भण्डारी अहिले टोरन्टो, क्यानडामा रहेर आजीविका चलाउँदै नेपाली भाषा साहित्य सिर्जनामा सक्रिय छन् ।

उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता २०७८, विद्यालय, कलेज र विश्वविद्यालय स्तरमा कविता, कथा लागि थुप्रै पुरस्कार प्राप्त भण्डारी साहित्यपोस्ट साहित्यिक पत्रिकाको खुला मुक्तक प्रतियोगिताको चौधौँ संस्करणमा सर्वोत्कृष्ट मुक्तककारका रुपमा विजयी भएका हुन् ।

त्यसैगरी भण्डारी फोटो कविता प्रतियोगिताको २२ औं संस्करणमा सर्वोत्कृष्ट कवि (२०७७) र छैटौँ चरणको गजलकारका रुपमा विजयी (२०७८) स्रष्टा हुन् । अनेसास कोरिया सम्मान (२०७७) र कल्पतरु सम्मान (२०८०) द्वारा सम्मानित उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाको सल्लाहकार, नेपाली साहित्य समाज क्यानाडाका उपाध्यक्ष (२०२०-२०२२) एवम् आजीवन सदस्य रहेका छन् ।

कल्पतरु द्वैमासिक साहित्यिकका आजीवन सदस्य, क्यानडा प्रतिनिधि, नेपाली संगठन क्युबेक- ए एन क्यु प्रेसिडेन्ट (अध्यक्ष २०१५-२०१९) र एन.आर.एन.साहित्य/भाषा समितिमा सक्रिय रहँदै आएका भण्डारीका कल्पतरु, कान्तिपुर, गोरखापत्र, शाल्मलि, मधुपर्क, वैजयन्ती, फित्कौली, साहित्य पोस्ट, समकालीन साहित्य लगायत दर्जनौँ पत्रपत्रिकामा सिर्जना प्रकाशित हुँदै आएका छन् ।

भण्डारीको ‘अर्को कर्नाली’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य मूल्यः रु. २९० रहेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x