सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कन्जुस

कन्जुसहरूको जीवनदर्शन उपभोगमा होइन सञ्चितामा निर्भर गर्छ । उनीहरूमा माया, ममता र दयाले पग्लिहाल्ने पिलन्धरे चित्त हुँदैन । त्यसैले पुराणले कन्जुस्याइँमा कथाहरू जति सुनाइरहोस्, नीतिले दानपुण्यको माहात्म्य जतिसुकै भट्टयाइरहोस् कन्जुसहरू आर्जन सञ्चितामा यति विश्वस्त हुन्छन् कि उनीहरूलाई उपभोगको वास्तै हुँदैन ।

Nepal Telecom ad

भैरव अर्याल :

दिने-खाने कुरा पर्नासाथ जसको दाँतबाट खलखली पसिना बग्छ, त्यस्ता मान्छेलाई नेपाली भाषाले थुप्रै विशेषण दिएको देखिन्छ । नपत्याए गनिहेर्नोस्- कन्जुस, मक्खीचुस, कृपणी, किरन्टोकी, खुनी, खोटी, चुइयाँ, चिम्टा इत्यादि । तर नेपाली शब्दकोशले जतिसुकै विशेषण दिए पनि कन्जुसको शब्दकोशमा भने ‘दिनु’ अर्थको कुनै क्रियापद त हुँदै हुँदैन, उपभोगको अर्थको शब्दै पनि पाउन मुस्किल; मानौँ उनीहरूमा एउटा महत्त्वपूर्ण तन्तु जड्न प्रकृतिले नै बिर्सेको हुन्छ । त्यसैले जतिसुकै विद्वान्, बुद्धिमान्, धनवान् र रूपवान् भए पनि ती दानतन्तु नभएकाहरू आमाको काखदेखि आर्यघाटसम्म कन्जुसको कन्जुस नै रहन्छन् ।

हाम्रो एक जना साथी भन्थे- उनको टोलमा एउटा यस्तै कन्जुस लखपति थियो । घरमा स्वास्नी, छोराछोरी जो बिरामी भए पनि ऊ सर्वप्रथम कलमकापी लिएर हिसाब गर्न थाल्थ्यो रे औषधि गर्न थोरै खर्च लाग्छ कि किरिया गर्न । उसलाई त मैले चिनेको छैन तर ढुकुटी खोल्नाको गाह्रोले औषधि किन्न नसकेर कात्रो किन्न दगुर्ने किरन्टोकीहरू चाहिँ मैले पनि दर्जनौं चिनेको छु । यस्तै किरन्टोक्याइँमा खली खाएका एक जना साहूजी मसँग भन्थे- “डाक्टर ‘टर’ मात्रै हो बाबु, ‘टार’ होइन । डाक्यो, गाल मात्र टर्छ, काल टार्न सक्तैन; त्यसैले डाक्टरलाई ख्वाउने पैसाले बरु पोल्ने दाउरा टर्छ ।” उनको तर्कभन्दा हाम्रो स्कुलको सभापतिको तर्क मलाई रमाइलो लाग्छ, आफ्नै स्कुलको एउटा विद्यार्थी मर्दा सद्गति गर्न हामी चन्दा माग्दै उनकहाँ गएका थियौँ- हामीले कुरा कोट्याउनै नपाई उनले भाषण भट्टयाए-

“हेर बाबू हो ! मेरो सिद्धान्त के छ भने सम्पत्ति भन्ने जात शुभजात हो । अशुभ कार्यमा लगायो भने यसले सराप दिन्छ; त्यसैले मुर्दा पोल्ने जस्तो अशुभ कार्यमा मबाट एक पैसा पनि झर्दैन ।” अनि उनले आफ्नो एउटा रोचक संस्मरण सुनाउँदै भने- “त्यसैले पोहोरका वर्ष आफ्नो छोराको सद्गति गर्न पनि मैले आफ्नो सेफबाट एक पैसा नजिकी छोराको लासै मृत्युसंस्कार संस्थालाई बुझाइदिएँ ।” उनको दृढ सिद्धान्त बुझेपछि हामी फरक्क फर्केका थियौं। तर यसपालि सरस्वतीपूजामा सभापतिज्यूलाई निमन्त्रणा दिने र शुभकार्य भएकोले चन्दा पनि माग्ने भनी फेरि हामीले उनकहाँ पुग्नुपर्याे । निमन्त्रणापत्रमा उनले हार्दिक स्वीकृति दिए । तर चन्दाको कुरा कोट्याउँदा चाहिँ झसङ्ग भएझैं गरी भने- “हत्तेरी बाबू हो । पहिले नै भन्नुपर्दैनथ्यो मैले निमन्त्रणा स्वीकार गरिसकेँ, मेरो सिद्धान्त के छ भने आफूले दान गरेको आफैँले नखानु । अब अहिले चन्दा दिएर भोलि म कसरी खान आऊँ ?” हाम्रो एउटा उटुङ्या साथीले प्वाक्क भनिहाल्यो- “सभापतिज्यू, बरु तपाईं नखाए नखानुहोला । चन्दा त दिनै पर्यो बा !” “सरस्वतीको प्रसाद खान्नँ कसरी भन्नु नि ?” भन्दै उनले हामीलाई सम्झाए- “मेरो सिद्धान्त के छ भने बाबू हो । बोलाएको ठाउँमा नगई हुँदैन, गएको ठाउँमा नखाई हुँदैन ।”

“खालास् बूढा” भन्दै हामी फर्क्याैं, तर भोलिपल्ट उनले नखाई के छाड्थे ।

कन्जुसहरू नखाने त कहाँ हुन् र ? मुखले नभ्याए नाकले तान्छन् भन्ने कथन छ । तर आफ्नो खर्चमा भने उनीहरू सकेसम्म कम खान्छन् । खानेकुरा गर्दा म आफ्नो टोलका सुब्बालाई झलझली सम्झन्छु । भन्सार- अड्डाका सुब्बा भएकोले उनी रुपियाँ मोरेको तकिया र नोट लगेको डस्नामा सुत्छन् भन्थे; तर प्रत्येक दिन विहान उठ्नासाथ चियामा चिनी धेरै हालौला नि भन्दै एक पटक नसम्झाई छाड्दैनथे । खाने बेलामा उनकहाँ पुग्यो भने पथ्यापथ्यको लामो व्याख्या छाँट्ने उनी भनिहाल्थे- “दालमा पथ्य मुसुराको खोस्टे, तरकारीमा पथ्य रायोको साग ।”

यसरी पथ्यापथ्यको साँढ़े छानबिछान गर्ने हुनाले उनको जहान छोराछोरीलाई सुकेनासबाहेक अरू कुनै रोगले सताउन पाउँदैनथ्यो । कसैलाई केही भइहाले पनि उनी प्राकृतिक चिकित्सामा विश्वास गर्ने हुनाले पहिले पेटै ठीक पार्नुपर्छ भनी उपवास बसाउँथे र केही नलागे मात्र धन्वन्तरिको जप गर्दै बागबजारको बहिरो वैद्यकहाँ पुगेर पुरिया पारेको धूलो लेराउँथे । जे होस्, मलाई भेट्नासाथ खल्तीबाट एउटा ‘आशा’ चुरोट झिकेर टक्याउँदै भन्थे- “ल, सल्काउनोस्, दोइ जना बाँडेर खाऔँ ।”

कन्जुस भएर पनि चुरोट खाने मान्छे देखेको मैले उनलाई मात्र हो, नत्र प्रायः कन्जुसहरू चुरोट, चिया, तमाखु, बियर केही खाँदैनन्, कन्जुस्याईंको यो प्रभाव भने साह्रै प्रशंसनीय छ । तर पोहोर गोसाईयान जाँदा मैले एउटा डी कन्जुस भेटेको थिएँ । ऊ मलाई गाँजा नखाई निद्रा आउदैन भन्थ्यो, तर काठमाडौबाट लगेको दस पैसाको सुर्ती एक सय चिलिम गाँजामा मिलाएर पनि आधा उसले काठमाडौं नै ल्याइपुत्र्यायो । सुतीको सट्टा के कहिले गुन्द्रुक मिसाउथ्यो, कहिले जिम्बु, तर गाँजाचाहिँ घण्टैपिच्छे नतानी छाड्दैनथ्यो । त्यहीदेखि मैले थाहा पाएको हुँ- कन्जुसले कुनै नशाको लत लगाउँदै लगाउदैन, लागिहाल्यो भने पनि त्यो लतलाई आफ्नो कन्जुस्याईले कन्ट्रोल गर्न सजिलैसित सक्छ । त्यसैले चिया चुरोटको आफ्नो लत देख्ता आफू कन्जुस हुन नपाएकोमा मलाई पनि दुःख लाग्छ ।

तर हाम्रो जेठो मुखियालाई सम्झयो कि त्यो दुःख त्यसै भाग्छ । मान्छे भन्थे – ऊ माखाको पित्त झिकेर साहूको चित्त बुझाउँछ । माखाको बोसो औषधि लाग्छ भन्ने ऊ मसँग पनि बराबर कुरा गर्थ्यो । बोसोचाहिँ फिक्थ्यो- दिक्तैनथ्यो, दैव जानोस्, मैले जानेको चाहिँ यत्ति हो ऊ एउटा सच्चा कन्जुस थियो ! मैले देखेसम्म दसैँमा बाहेक उसले सुकिलो लुगा लगाएन । ऊ भन्ने गर्थ्यो- “एक त लुगा धोएपछि साबुनले काटेर पातलिन्छ र चाँडै फाट्छ, दोस्रो, साबुन स्वयम् अपवित्र चीज भएकोले यो दलेको लुगा लगाउँदा जीउ अपवित्र हुन्छ ।” साथै ऊ जुत्ता लगाए पृथ्वीलाई भार पर्छ भनी नाङ्गै खुट्टाले नौ गाउँ चहारी गाईको व्यापार गर्थ्यो । उसको किरन्टोक्याइँले आजित भएर एक दिन उसकी स्वास्नी बेपत्ता भइछ । ऊ गाउँमा रुँदै भन्थ्यो- “स्वास्नी त हिँडी, अनिकालको खर्च जोगियो तर झन्डै पाँच सयको लुगा- गहना लिएर हिँडिदिई पापिनीले ।” सायद यही पीरमा सुक्तै ऊ मर्‍यो । मर्ने बेलामा दस दान गर्न उसको जनैको साँचो बलात्कार झिकेर छोराचाहिले बाकस खोलेको त हरिया-हरिया गैँडा मात्र बीस बजारका रहेछन्, खुद्रा नोट र रुपियाँपैसा गन्दै गनिएन ।

यी सबै प्रत्यक्ष प्रमाणबाट म के निष्कर्षमा पुगेँ भने कन्जुसहरूको जीवनदर्शन उपभोगमा होइन सञ्चितामा निर्भर गर्छ । उनीहरूमा माया, ममता र दयाले पग्लिहाल्ने पिलन्धरे चित्त हुँदैन । त्यसैले पुराणले कन्जुस्याइँमा कथाहरू जति सुनाइरहोस्, नीतिले दानपुण्यको माहात्म्य जतिसुकै भट्टयाइरहोस् कन्जुसहरू आर्जन सञ्चितामा यति विश्वस्त हुन्छन् कि उनीहरूलाई उपभोगको वास्तै हुँदैन । तर वास्तवमा सम्पत्तिलाई चञ्चला लक्ष्मी मानौं वा व्यवहारको माध्यममुद्रा मानौं उसले उपभोगको एउटा न एउटा बाटो खोजिहाल्छ । त्यसैले हामी देख्छौं, कुनै कन्जुसको कमाइ छोराले क्यासिनोमा खर्चिदिन्छ, कुनै कन्जुसको कमाइ छोरीले पिकनिकमा सिद्ध्याइदिन्छे । अपुतो कन्जुस छ भने अपुतालीवालाको तालुमा भोगटे जत्रो आलु फलिहाल्छ । यस कारण कन्जुस्याइँलाई म एउटा रोग ठान्छु तर के गर्नु, कन्जुसहरू मोजीहरूको उडन्त्याइलाई झन् महारोग ठानिदिन्छन् । त्यसैले कन्जुस र उडन्तेका बीचको मित्रता भट्टीको मित्रताजस्तो मात्र हो, त्यो शत्रुतामा परिणत हुन कति पनि बेर मान्दैन, किनभने उडन्तेलाई पैसाको फिटफिटीले कहिले छाड्ने होइन, कन्जुस आफ्नो कन्तुरमा परेको पैसा कहिल्यै निकाल्ने होइन । कथङ्कदाचित् दुई जनामा आदानप्रदान भइहाल्यो भने पहिल्यै किस्तामा आपसमा मित्रता सिकिस्त भइहाल्छ ।

जे होस्, आफ्नो कुनै क्लब र क्यासिनोमा हाजिर नभई नहुने मोजी साथी पनि छैन, परेको बेला आफूसित छ भने पाँच-दस रुपियाँ पैंचो दिन दाँतबाट पसिना तर्काउने कन्जुस साथी पनि छैन, त्यसैले उक्त पीर त मलाई छँदै छैन, एउटै दुःख के छ भने आफूलाई अपुताली पर्ने खालको कुनै कन्जुस पनि आफ्नो नातागोतामा अहिलेसम्म कोही थिएन ।

अर्पण

०००
भैरव अर्यालका हास्यव्यङ्ग्य (२०६०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
आलु

आलु

भैरव अर्याल
गलबन्दी

गलबन्दी

भैरव अर्याल
चन्द्रलोक कसको ?

चन्द्रलोक कसको ?

भैरव अर्याल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे