साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घिमिरेको कृति लोकार्पण, न्यौपाने र विश्वकर्माका रचना पुरस्कृत

साहित्य संगम मकवानपुरको ३ सय ४०औँ सन्ध्याका क्रममा शनिबार घिमिरेको कवितासङ्ग्रह लोकार्पण गरिएको हो ।

Nepal Telecom ad

मकवानपुर, फागुन १२, शनिबार । साहित्यकार तुलसी घिमिरेको कवितासङ्ग्रह `माटोको मोह´ लोकार्पण गरिएको छ । साहित्य संगम मकवानपुरको ३ सय ४०औँ सन्ध्याका क्रममा शनिबार घिमिरेको कवितासङ्ग्रह लोकार्पण गरिएको हो ।

लोकार्पित कृतिमाथि सुवास खनाल र घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गर्नु भयो । सुवास खनालले मान्छेलाई मान्छे बन्नका लागि र बन्नुपर्ने विषयका साथै प्रकृतिलाई माया गर्दै लेखिएका कविताहरू उत्कृष्ट रहेका बताउनु भयो । उहाँले ४२ कविताहरूमध्ये कविताहरूमा ग्रामीण बिम्बहरूको प्रयोगले कविता शक्तिशाली बनेको हुँदाहुँदै कतिपय कविताहरूमा पुनरूक्तिकाे दोष रहेकाले ती कविताले नवीन र वैशिष्ट शैलीको अपेक्षा गरेको बताउनुभयो ।

कविताहरू समाज, गाउँ, राजनीति, देशभक्ति, माटोको आवाज र जीवनशैलीसँग सम्बन्धित रहेका र त्यसले समाज सुधारको अपेक्षा गरेको समीक्षक घिमिरेले बताउनुभयो । उहाँले अहिलेका पुस्ताले बिर्सिसकेका तथा सुन्दै नसुनेका शब्दहरूको प्रयोग गरिएकाले सो कृति नेपाली समाजमा हामीले बिर्सँदै गरेका ती शैली, शब्द, सामाजिक जीवनबारे भाषा साहित्यका विद्यार्थीका लागि पठनयोग्य रहनुका सासाथै कृतिमा सुधारका विषयवस्तु भने निकै रहेको र सर्जकले आउँदा सँस्करणमा यसमा ध्यान दिनका लागि उहाँले आग्रह गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता र सङ्गम अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता आयोजित कार्यक्रममा कृतिकार घिमिरे, वडा अध्यक्ष सिग्देल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हास्यव्यङ्ग्यकार आरसी रिजाल, प्राध्यापक नीरा शर्मा, सङ्‍गम अध्यक्ष बर्तौला, साहित्यकार देवराज खरेलले सो पुस्तक लोकार्पण गर्नु भएको हो । साहित्य सङ‍्गम मकवानपुरका सल्लाहकार घिमिरेको ‘फूलका कुरा जूनका कुरा (गीतसङ्‍ग्रह २०७१)’ प्रकाशित छ ।

साहित्य सङ्‍गम मकवानपुरले प्रदान गर्ने ‘शेषजङ्ग स्मृति कथा पुरस्कार-२०८०’ जिएस निकेतन माविका छात्र समर्पण न्यौपानेलाई प्रदान गरिएको छ । ५ हजार रुपैयाँ राशिको सो पुरस्कार स्व. डेन्टिजङ्ग शाहले आफ्नो छोराको नाममा स्थापना गर्नु भएको थियो ।

‘अणकुमारी स्मृति साहित्य पुरस्कार-२०८०’ बाट सुजिता विश्वकर्मा सम्मानित हुनु भएको छ । ५ हजार रूपैयाँ राशिको सो पुरस्कार अग्रज साहित्यकार तथा व्यङ्यकार आरसी रिजालले आफ्नी आमाको स्मृतिमा स्थापना गर्नु भएको हो । माध्यमिक विद्यालयका छात्राहरूबीच स्थलगत लेखन प्रतियोगितामार्फत् ज्योति माविकी छात्रा पुरस्कृत हुनु भएको हो ।

संगमले समयावधि तोकेर सूचना प्रकाशित गरी माग गरिएको कथाहरूको मूल्याङ्कनबाट समर्पण न्यौपाने र स्थलगत निबन्ध लेखनमा सुजिता विश्वकर्मा उत्कृष्ट हुँदै पुरस्कारद्वारा सम्मानित भएका सङ्‍गम अध्यक्ष बर्तौलाले बताउनुभयो ।

नवसर्जकहरूका साथै कविहरू छवि अनित्य, सबिता तिमल्सिना, मुक्तककार सुवास सजलको रचना वाचन भएको नियमित साहित्य सन्ध्या, कृति लोकार्पण तथा पुरस्कार समर्पण कार्यक्रमलाई सङ्‍गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x