साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साधुराम खडकाको व्यङ्ग्य कविताकृति ‘बाँकी के नै छ र ?’ प्रकाशित

फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित खड्काको यस कृतिमा १२४ वटा कविता सङ्गृहीत छन् । फित्कौली डटकममा प्रविष्ट भएका कविताहरूबाटै छनोट गरी यो कृतिको स्वरुप प्रदान गरिएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ जेठ १६ । फित्कौली डटकममा विगत लामो समयदेखि व्यङ्ग्य कविता प्रविष्ट गर्दै आउनु भएका व्यङ्ग्य कवि साधुराम खड्काको व्यङ्ग्य कवितासङ्ग्रह ‘बाँकी के नै छ र ?’ प्रकाशित भएको छ ।

फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित खड्काको यस कृतिमा १२४ वटा कविता सङ्गृहीत छन् । फित्कौली डटकममा प्रविष्ट भएका कविताहरूबाटै छनोट गरी यो कृतिको स्वरुप प्रदान गरिएको हो ।

फित्कौलीले बितिसकेका, पुराना एवम् पाका हास्यव्यङ्ग्यकारहरूलाई पुनरस्मरण एवम् श्रद्धा गर्दै नित्य नवागत स्रष्टाहरूलाई पनि हास्यव्यङ्ग्य लेखन र प्रकाशनतर्फ आकर्षित र उत्प्रेरित गर्दै आएको छ । भैरव अर्याल र वासुदेव लुइँटेलको सक्रियतामा स्थापना भएको कौवा प्रकाशनको स्मरण गर्दै फित्कौलीले आधा दर्जन हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित गरिसकेको छ । फित्कौलीबाटै प्रकाशित नव हास्यव्यङ्ग्य स्रष्टा राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य कृति साहित्य पोष्टको गैरआख्यान पुरस्कारको लागि छनोट सूचीमा समेत परेको छ ।

फित्कौलीकाे हास्यव्यङ्ग्य प्रकाशन शृङ्खलाकाे ७ औँ  नम्बरमा प्रकाशित साधुराम खड्काको ‘बाँकी के नै छ र ?’ कृतिमा वरिष्ठ साहित्यकार चालिसेले शुभकामना व्यक्त गर्दै लेख्नु भएको छ- ‘उनका अधिकांश कविता पढ्दा प्रखर व्यङ्ग्यको झड्का महसुस हुन्छ भने केहीमा हलुका श्यामव्यङ्ग्यको प्रयोग । मानिसको प्रवृत्तिमाथि कठोर व्यङ्ग्य गर्ने ‘मान्छेको मनकान्छे’ होस् वा सूक्तिझैँ लाग्ने ’सङ्गत’ जुन कविता पढ्दा पनि साधुभित्रको कवि प्रतिभाको सङ्केत मिल्छ ।’

सङ्ग्रहका कवितामा समसायिक राजनीति, सामाजिक, आर्थिक एवम् शैक्षिक घटना परिघटनाहरूलाई आधार बनाएर रचना गरिएका कविताहरू सङ्कलित गरिएको छ । लघुआकारको बनोटमा बाँधिएका यी कविता पढ्दा पाठकलाई मजाको मनोरञ्जन प्राप्त हुन्छ भने विसङ्गतिका नायक खलनायकहरू माथि गरिएको मनोरम व्यङ्ग्यले सुधारको अपेक्षा समेत प्रस्तुत गरिएको पाइन्छ ।

प्रकाशक्यौली अन्तर्गत फित्कौली अनलाइनका तर्फबाट नरनाथ लुइँटेलले यस व्यङ्ग्य कृति बारे लेख्नु भएको छ- ‘खड्काका कविता छोटा भैकन खिरिला र चोटिला छन् । हामी र हाम्रो देशले भोग्नु परिरहेको वैपरित्यमाथि मज्जासँग मट्याङ्ग्रा हानिएको छ । प्रहार मनोहर र प्रभावकारी देखिन्छ । केही कवितामा हास्यको पुट भए पनि अधिकांश कविता व्यङ्ग्यात्मक भावभूमिमा केन्द्रित छन् ।’

आकर्षक आवरणसहित १ सय २४ वटा कविताहरू, १४० पृष्ठमा संयोजित खड्काकाे यस कृतिको मूल्य रु.२५०। राखिएको छ ।

कृति प्रकाशनको यस अवसरमा यसका स्रष्टा साधुराम खड्कालाई फित्कौली हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wedmani Ghimire
Wedmani Ghimire
1 year ago

व्यङ्ग्य कवितालाइ प्रश्रय दिने उद्देश्य लिएकाे फित्काैलीले समय समयमा यस्ता कामहरू गर्दै अाएकाे छ । धन्यवाद छ । कविताका लेखककाे सिर्जनक्षमता अझ थप हुँदै जाअाेस भन्ने शुभकामना पनि छ ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x