फित्काैली डटकमभैरव अर्यालको स्मृतिमा लक्ष्मण गाम्नागे, चूडामणि गाैतम र लक्ष्मी गिरी पुरस्कृत
भैरव पुरस्कार गुठीद्वारा हरेक वर्ष दिइने गरेको भैरव पुरस्कार २०८१ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरियो भने भैरव वाङमय पुरस्कार २०८१ भाषाविद तथा काेषकार व्यक्तित्व चूडामणि गौतमलाई प्रदान गरियो ।

काठमाडौं, २०८१ असोज १९ । नेपाली हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व भैरव अर्यालका नाममा स्थापित तीन वटा पुरस्कार भैरवको स्मृति दिवसका अवसरमा आयोजित विशेष समारोहमा पुरस्कृत श्रष्टाहरुलाई समर्पण गरियो ।
भैरव पुरस्कार गुठीद्वारा हरेक वर्ष दिइने गरेको भैरव पुरस्कार २०८१ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरियो भने भैरव वाङमय पुरस्कार २०८१ भाषाविद तथा काेषकार व्यक्तित्व चूडामणि गौतमलाई प्रदान गरियो ।
त्यसै गरी, लामो समयदेखि हास्यव्यङ्ग्य अभिनयकलामा कृयाशील कलाकार लक्ष्मी गिरीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
भैरव पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ भने भैरव वाङ्मय पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ र भैरव प्रतिभा पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
भैरव पुरस्कार गुठीले भैरव स्मृति भवन जोरपाटीमा आयोजना गरेको समारोहको अध्यक्षता गुठीका अध्यक्ष रोचक घिमिरेले गर्नु भएको थियो । गुठी परिसरमा रहेको भैरव अर्यालको प्रतिमामा माल्यार्पण गरी आरम्भ भएको समारोहमा गुठीका सचिव वसन्त रिजालले गुठीका गतिविधीमाथि प्रकाश पार्दै स्वागत मन्तव्य दिनु भएको थियो ।
गुठीका उपाध्यक्ष विजय चालिसेले भैरव अर्यालको साहित्यिक योगदान बारे बोल्दै हास्यव्यङ्ग्यमा उनको समग्र योगदानको चर्चा गर्नु भएको थियो ।
यस वर्षको भैरव पुरस्कारद्वारा पुरस्कृत लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कर्मबारे समालोचक डा. रामप्रसाद ज्ञवालीले प्रवाहपूर्ण मन्तव्य राख्नु भएको थियो । ज्ञवालीले भन्नु भयो- हास्यव्यङ्ग्य लेखनको दुरुह कार्यमा निर्धक्क र निरन्तर कलम चलाइरहने थोरै मध्येका एक गाम्नागे भैरव पुरस्कारका प्रभावशाली हकदार नै हुनुहुन्छ ।’
भैरव वाङ्मय पुरस्कार प्राप्त भाषाविद तथा कोषकार चूडामणि गौतमको योगदान र व्यक्तित्व चर्चा गर्दै समालोचक डा. ज्ञाननिष्ठ ज्ञवालीले बोल्नु भएको थियो । ८२ वर्षको उमेरमा पनि गौतम भाषाकै काममा जुटिरहनु भएकाे देख्दा आफूलाई आश्चर्य लागेको कथन थियो ज्ञवालीको ।
भैरव प्रतिभा पुरस्कारले सम्मानित हास्यकलाकार लक्ष्मी गिरीको कलाकार व्यक्तित्वमाथि प्रकाश पार्दै समीक्षक मेनका पोखरेलले गिरीको लामो अभिनय यात्रालाई संक्षेपमा बताउनु भएको थियो ।
तिनै व्यक्तित्वलाई नगदराशि, पुष्पमाला, सम्मान पत्र र दोसल्ला समर्पण गरेपछि पुरस्कृतहरूको संक्षिप्त मन्तव्य प्रस्तुति रहेको थियो । तिनैजनाको मन्तव्यको सार थियो- भैरव जस्तो अजेय व्यक्तित्वको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा गर्वानुभूति भएको छ । भैरव पुरस्कार गुठी, छनौट समिति र साक्षी बस्न उपस्थित हुनुभएका सबैप्रति हार्दिक धन्यवाद छ ।
गुठीको यस समारोहलाई ओज प्रदान गर्न समुपस्थित सबै हास्यव्यङ्ग्य प्रेमीहरुलाई कृतज्ञता सिहत धन्यवाद ज्ञापन गर्दै रोचक घिमिरेले कार्यक्रम समापन गर्नु भएको थियो ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा फित्कौली डटकममा सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहनु भएको चयन समिति गठन गरेकाे थियो ।
सांसद रामेश्वर फुयालले पुरस्कृत व्यक्तित्वहरुलाई बधाइ व्यक्त गर्नु’भयो भने हास्यव्यङ्ग्य स्रष्टाहरूहरू आरसी रिजाल, अनिल पौडेल कीर्ते, सविता बराल, डिल्लीप्रसाद मूलतिहुन लगायतले हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्नु भएको थियो ।
गुठीका सदस्य तथा पत्रकार निर्मल अर्यालद्वारा सञ्चालित समारोहको घनिभूत सहभागिताका बीच पौने ३ घन्टा यस कार्यक्रमलाई फित्कौली डटकमले आफ्नो युटुव च्यानल, फित्कौलीको वेब पेज र फेसबुक पेजबाट लाइभ प्रशारण गरेको थियो ।
०००
फित्कौली डेस्क
बटुलबाटुल थप केही तस्विरहरू



Subscribe
Login
0 Comments
Oldest






































