फित्काैली डटकमकवितामा अधिकार, समानता र सशक्तीकरणको अर्थ खोजियो
कविताहरूमा अधिकार, समानता र सशक्तीकरणको अर्थ खोजियो । स्थापित साहित्यकारहरूसँगै अधिकारकर्मीहरूले समाज, जीवन र समसामयिक सन्दर्भहरूमाथि रचना सुनाए ।

विराटनगर, २०८१ फागुन २४ । विराटनगरमा शनिबार कविताहरूमा अधिकार, समानता र सशक्तीकरणको अर्थ खोजियो । स्थापित साहित्यकारहरूसँगै अधिकारकर्मीहरूले समाज, जीवन र समसामयिक सन्दर्भहरूमाथि रचना सुनाए ।
सन्दर्भ थियो, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको । इन्सेक र ओरेक कोशी प्रदेशले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर छोपेर अधिकारकर्मीसँगै स्रष्टाहरूलाई एउटै मञ्चमा उभ्याएका थिए ।
साहित्यका माध्यमले दृष्टिकोणलाई फरक मोडमा पुरयाउन र साहित्यकारको योगदानबाट अभियानलाई सशक्त बनाउन कविता वाचन कार्यक्रम राखिएको आयोजक इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले बताउनु भयो ।
“सबै महिला तथा बालबालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” नाराका साथ मनाइएको कार्यक्रममा खेम नेपाली, रोहिणी रसिक, भवानीप्रसाद पोखरेल, हरी कट्टेल, प्रयाग न्यौपाने, शुभलक्ष्मी लम्साल, शोभा बजगाई, पुष्पा सायरा, मञ्जु घिमिरे दाहाल, शारदा कार्की, सुजाता राई, ऋषि तिवारी, भुपाल अधिकारी, निर्मला नेपाल, नानुमैया दाहाल, गीता पोखरेल, ब्युटी श्रेष्ठ, रिता खडकालगायतले कविता वाचन गर्नुभयो ।
महिलालाई प्रकृति विम्ब बनाएर लेखिएका गद्य र पद्य शैलीका कविताहरूले धेरै श्रोताहरूको मन छोयो । सबैले महिला हिंसा, वेथिती, विभेद र असमानताविरुद्ध कविता लेखेका थिए । कविताहरूमा नारी अस्तित्वको पहिचान गर्न, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा दिन आग्रह थियो । पुरुषवादी सोचका कारण महिला जानी–नजानी हिंसामा पर्नुपरेको चित्रण गर्दै कविहरूले आमा, दिदी, बहिनी असुरक्षित भइरहेकोमा चिन्ता प्रकट गरेका थिए ।
कतिपय कवितामा महिलालाई गर्ने प्रेम र सद्भावको अनुभूति पनि छरिएको थियो भने केही कवितामा विरताको प्रतिक महिला तथा महिलाको पीडामा पुरुष पनि संवेदनशील छन् भन्ने भाव थियो ।
वाचित कविताहरू महिला हिंसा न्यूनीकरण गर्ने किसिमको रहेको र कविताहरू पुरुषविरोधी नभई पुरुषवादविरोधी भएकोमा दर्शकहरूले प्रशंसा गरे । साहित्यकार मधु पोखरेलले साहित्यले समाजमा रचनात्मक ढंगले विचार प्रवाह गर्न सघाउने भन्दै सडकमा आयोजित कविता वाचन प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले सञ्चालन र कार्यक्रमको उद्देश्य बताउनु भएको थियो भने ओरेकका कोशी संयोजक शोभा बजगाईले स्वागत गर्नुभएको थियो ।
०००
– नन्दलाल आचार्यद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































