साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको काव्य उत्सव कार्यक्रममा ६ जना साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

Nepal Telecom ad

घोराहीमा, दाङ २०८१ चैत १६ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिवार घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा भाषागत विविधता प्रस्तुत गर्दै एकै थलोमा सात भाषाका सिर्जना प्रस्तुत गरिएका हुन् ।

बहुभाषिक काव्य उत्सवमा नेपाली, संस्कृत, अवधि, कुसुण्डा, नेवारी, मगर र थारू भाषाका १४ वटा काव्य रचना बाचन गरिएका थिए ।

उत्सवमा साहित्यकार एवम् कविहरू नारायण नेपाल र शारदा शर्माले नेपाली भाषा, उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेवारी भाषा, जगतराम यादव र बसन्तप्रकाश यादवले अवधि भाषा, छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषा र उदय आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषाका विभिन्न विषयवस्तु समेटिएका रचना प्रस्तुत गरिएका थिए ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको काव्य उत्सव कार्यक्रममा साहित्य तथा गीत संगीत क्षेत्रको उन्नयनमा योगदान पुर्‍याउने ६ जना साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मी र कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा पुरस्कार प्रदान गर्दै शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुत गरेर साहित्यमा भएको विविधतालाई एकतृत गर्ने काम गरेको बताए । परिषद्ले भाषा संरक्षणसँगै साहित्य उत्थानका लागि गरेको यो प्रयास अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति जोगाउनका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । बहुभाषिक काव्य उत्सवले विभिन्न भाषाको संरक्षण र स्रष्टालाई मातृभाषामा रचना सिर्जना गर्न उत्प्रेरित गर्ने काम गरेको भन्दै उनले परिषद् दाङ शाखाको प्रशंशा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले एउटै मञ्चमा विभिन्न भाषाका कवितालाई स्थान दिएर नयाँ अभ्यासको थालनी गरिएको भन्दै यस प्रकारको कार्यक्रमले ओझेलमा परेका भाषा, साहित्य र संस्कृतिको विकासमा सहयोग गर्ने बताएका थिए । वक्ताहरूले नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्न कार्यक्रमले सघाएको भन्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । साथै आगामी दिनमा सबै भाषा र भाषालाई समेट्दै कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले भाषा, साहित्य र कला संस्कृतिको विकासका लागि सबै भाषालाई समेट्दै कार्यक्रमहरू गर्न आवश्यक रहेको बताएका थिए ।

राप्ती साहित्य परिषद्का केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समिर’, पुरस्कृत व्यक्तित्व प्राज्ञ सदस्य कृष्णराज सर्वहारी, सम्मानित व्यक्तित्व पदमप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य तथा पत्रकार शरद अधिकारी, साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च एवम् नागरिक समाज दाङका संयोजक निमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व कालाकार प्रकाश रेग्मीले गीत गाएका थिए । परिषद्को वार्षिक साधारणसभा समेत रहेको उक्त कार्यक्रममा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x